• १३ साउन २०८१, आइतबार

निर्यात बढाउने योजना बनाउँदै एफएओ

blog

काठमाडौँ, चैत १० गते । संयुक्त राष्ट्रसङ्घको खाद्य र कृषि सङ्गठन (एफएओ) नेपालले निर्यातमुखी कृषि उत्पादनलाई वृद्धि गर्दै त्यसलाई व्यवसायीकरण गर्नका लागि लगानीकर्ता तथा व्यवसायीको खोजीमा लागेको छ । 

त्यसका लागि एफएओले ह्यान्ड इन ह्यान्ड इनिटिएटिभ (हातमा हातका लागि पहल) कार्यक्रम सुरु गरेको छ । कृषि क्षेत्रमा लगानी वृद्धि गरी त्यसको रूपान्तरणमा सहयोग पु¥याउन एफएओले सो कार्यक्रम सञ्चालन गरेको हो ।

सो कार्यक्रमले नेपालमा निर्यातमुखी उपजलाई प्राथमिकतामा राखेको कार्यक्रमविज्ञ अरुण जिसीले बताउनुभयो । अलैँची, टिमुर, अदुवा, पाङ्गासियस प्रजातिको माछा, आलु, याक चिज, हिमाली मह तथा अन्य उपजलाई प्राथमिकतामा राखिएको बताउँदै उहाँले यसको प्रवर्धनमा टेवा पु¥याउने गरी कार्यक्रम अगाडि बढाइएको बताउनुभयो । यस्ता वस्तुको उत्पादन तथा प्रवर्धनको निम्ति एफएओले लगानीका लागि आह्वान गरेको छ । एफएओले लगानी योजना तयार गरिरहेको छ । त्यसका लागि कृषि क्षेत्रमा लागेका ठुला, साना तथा मझौला कृषि व्यवसायीलाई सम्पर्कका लागि आग्रह गरिएको विज्ञ जिसीले बताउनुभयो । निर्यातमुखी कृषि उत्पादनमा कति व्यवसायी लागेका छन्, त्यसको यकिन तथ्याङ्क सङ्कलन गरी लगानीको योजना तयार गरेर लगानीकर्ता खोज्ने उहाँले बताउनुभयो । 

ह्यान्ड इन ह्यान्डले गरिबी उन्मूलन, भोकमरी र कुपोषणको अन्त्य र असमानतालाई न्यूनीकरण गर्दै कृषि खाद्य प्रणाली परिवर्तनमा गति दिने काम गर्दै आएको छ । यसले आय बढाउन, पोषण स्थिति, गरिबलाई निर्वाहमुखी बनाउने काम गर्ने गरेको एफएओले जनाएको छ । यो कार्यक्रम नेपालमा २०१९ सालदेखि सञ्चालनमा रहे पनि यस पटकदेखि मात्र कार्यक्रमलाई अगाडि बढाएको छ ।