• १३ साउन २०८१, आइतबार

लागुऔषध सेवन प्रमाणित गर्न गाह्रो

blog

जिल्ला प्रशासन कार्यालयमा लागुऔषध नियन्त्रणसम्बन्धी जानकारी दिँदै प्रहरी नायब उपरीक्षक दीपककुमार कार्की । तस्बिर : पुष्कर भण्डारी

अमरगढी समाचारदाता

डडेलधुरा, चैत ८ गते । डडेलधुरा जिल्लामा गत वर्षभन्दा यस वर्ष लागुऔषध दुव्र्यसनीका मुद्दा बढेका छन् । यस वर्षको आठ महिनाको तथ्याङ्क हेर्दा गत वर्षभन्दा बढी मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयको एक तथ्याङ्क अनुसार, यस आर्थिक वर्षको चार महिना अझै बाँकी हुँदा लागुऔषध दुव्र्यसनीका मुद्दा बढेको पाइएको छ । 

प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले लागुऔषधसम्बन्धी गत वर्ष जम्मा सात वटा मुद्दा दर्ता भएको जानकारी दिनुभयो । यस आर्थिक वर्षको आठ महिनाको अवधिमा नौ वटा मुद्दा दर्ता भएका छन् । 

अघिल्लो वर्ष जम्मा पक्राउ परेकाहरूको सङ्ख्या १३ जना रहेको थियो भने यो वर्ष १२ जना पक्राउ परेका छन् । अघिल्लो वर्ष खैरो हेरोइन १.८ ग्राम बरामद गरिएको छ । यस वर्ष ६.२१ ग्राम पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । 

त्यस्तै यस वर्ष चार केजी चरेस पक्राउ गरिएको छ भने गत वर्ष छ केजीको हाराहारीमा चरेस पक्राउ गरिएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । लागुऔषध सेवन गरेको अभियोगमा पक्राउ परेका २२० जनालाई  सम्झाइबुझाई अभिभावकको जिम्मा लगाई छोडिएको छ । 

गत वर्ष २१४ जनालाई सम्झाइबुझाई छोडिएको उहाँले बताउनुभयो । लागुऔषध प्रयोगकर्तालाई मुद्दा चलाउनुभन्दा सुध्रिने मौका दिँदा राम्रो हुने भएकाले अभिभावकको जिम्मा लगाउने गरेको भनाइ प्रहरीको छ । 

गत वर्ष जिल्लाभर १२ हजार गाँजाका बिरुवा फँडानी गरिएको थिए भने यस वर्ष १० हजार ५०० बिरुवा नष्ट गरिएको छ । प्रहरीले विद्यालय र समुदायस्तरमा लागुऔषधविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस वर्ष लागुऔषधसम्बन्धी २६८ वटा सचेतना कार्यक्रम सञ्चालन गरिएको जानकारी उहाँले दिनुभयो । यसमध्ये विद्यालयमा केन्द्रित ९१ र समुदायमा केन्द्रित १७६ वटा कार्यक्रम रहेका छन् । 

यसैबिच लागुऔषध प्रयोग गरे/नगरेको थाहा पाउन प्रयोग गरिने किटको अभाव देखिएको छ । मदिरा सेवन गरी सवारी चलाउनेविरुद्धको कारबाही मापसे जाँच गर्न ब्रेथलाइजरको अभाव देखिएको छ । ट्राफिक प्रहरी पोस्ट स्याउलेसँग एक थान मात्रै ब्रेथलाइजर रहेको छ । उक्त ब्रेथलाइजर पनि चार्ज गर्दा ह्याङ हुने गरेको प्रहरी अधिकारी बताउँछन् ।