• ३१ असार २०८२, मङ्गलबार

लापर्बाहीले सर्पको डसाइ

blog

डडेल्धुराको परशुराम नगरपालिका–७ सादनीका तथा शिवशङ्कर माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत १३ वर्षीय किशोर प्रकाश भट्टराईको असार ५ गते बिहान शौचालय गएका बेला सर्पले डसेर उपचारको क्रममा अस्पतालमा मृत्यु भयो । अहिले के महेन्द्रनगर, धनगढी, भेरी कोशी, मेची अस्पताल सबै तराईका सघन उपचार कक्ष भएका अस्पतालका शय्या सर्पदंशका बिरामीले भरिएका छन् । वार्षिक दुई हजार बढी सर्पले डसेको आशङ्कामा लुम्बिनी र भरतपुर अस्पतालको आकस्मिक कक्षमा आउँछन् ।

स्वास्थ्य सेवा विभागको तथ्याङ्क अनुसार गत वर्ष देशभर आठ हजार बढी सर्पदंशले घाइते भएका र २३ को मृत्यु भएको थियो । जसमा विषालु सर्पको डसाई पुगनपुग एक हजार पाँच सय थियो । सर्पदंशको मृत्युदर नेपालमा १० प्रतिशत छ । अस्पतालको तथ्याङ्क अनुसार साँझ ६ बजेसम्म  १६ प्रतिशत राति १२ बजेदेखि बिहान ६ बजेसम्म ५७ प्रतिशत र बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म १२ प्रतिशत सर्पले टोकेको पाइन्छ । 

विश्वमा प्रत्येक वर्ष पुगनपुग ५० लाख सर्पदंशबाट पीडित हुने गरेको र करिब एक लाख व्यक्तिको मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । करिब तीन लाखभन्दा बढी व्यक्तिको हातखुट्टालगायतका अङ्ग सर्पको टोकाइले काट्न परेको तथ्याङ्क छ । आँकडामा संलग्न नभएका थुप्रै हुन सक्ने पनि बताएको छ । गर्मी र वर्षायाम सुरु भएसँगै सर्पदंशका बिरामी बढ्छन् नै किनभने सर्प बाहिर निस्कन्छन् । प्राकृतिक प्रकोपपश्चात् सर्पको बासस्थान नष्ट भएपछि मानिसको बासस्थानतिर छिर्छन् । गर्मीयाममा डर त्रास र मृत्युको जोखिममा अत्यधिक पर्ने समस्या भनेको सर्पको टोकाइ हो । 

तराईका विषालु सर्प पहाड सर्दै 

पहिले तराईमा मात्र हुने औलो, कालाज्वर अहिले क्रमशः पहाड र हिमाल चढेका छन् भने जस्तै तराईमा मात्र देखिने विषालु गोमन, करेत जस्ता सर्प काठमाडौँलगायतका पहाड र हिमालका जिल्लामा तथा विभिन्न स्थानमा पाइन थालेका छन् । स्मरण रहोस् सन् २०१८ जुलाईमा गौरीशङ्कर संरक्षण क्षेत्रमा तराईमा पाइने किङ कोब्रा देखिएको थियो । जलवायु परिवर्तनले सर्प चिसो ठाउँमा बस्न सक्ने भएको वा हिमाली क्षेत्रमा तापक्रम बढी तराई जस्तै भएको अनुमान गर्न सकिन्छ ।

टेकु अस्पतालमा दैनिक १० देखि १२ जना सर्पदंशका बिरामी धादिङ, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, भक्तपुर र ललितपुरका ग्रामीण भेगबाट आउने गरेका छन् । उपत्यकामा २२ थरीका सर्प पाइने र अत्यधिक गर्मीसंगै विषालु सर्प सलबलाइरहेका सर्पविज्ञ बताउँछन् ।

 लक्षण

  टोकेको ठाउँमा दुई दाँतको गहिरो निसान देखिन्छ । केही क्षणमै उक्त ठाउँमा फोका उठ्न थाल्छ । दुख्छ, सुनिन्छ । रगत अलिक लामो समयसम्म आइरहन्छ । वाक्वाकी लाग्छ । मुखबाट ¥याल निक्लन्छ । डर त्रासले उत्तेजित हुन्छ । ओठ र मुख सुक्छ । तिर्खा लाग्छ । मुटुको धड्कन बढ्छ । आँखी भौ र परेला तल झर्छ । खान निल्न समस्या हुन्छ । बोल्दा जिब्रो लर्बराउँछ । हिँड्दा खुट्टा लड्खडाउँछ । समय बित्दै जाँदा आँखाले एउटा वस्तुको दुई छाया देख्ने, आँखा खोल्न गाह्रो हुने गर्छ । श्वास लिन समस्या हुन्छ । पक्षघात देखिन्छ । ३–६ घण्टापछि पिसाब रातो भएर आउँछ । 

विषालु सर्पले टोकेपछि मानिसको श्वासप्रश्वासमा अवरोध भई, मांसपेशीमा पक्षघात भई, रक्तचाप ज्यादै न्यून भई अचेत हुन जान्छ र मृत्यु हुन्छ । भाइपरको टोकाइमा छालाको रङ निलो हुने, आँखाको नानी ठुलो हुने र विभिन्न रक्तश्राप हुन्छ । अति विषालु सर्पका रूपमा परिचित करेत, गोमन र भाइपर सर्पले टोकेको मान्छेलाई तुरुन्त औषधी उपचार गर्न नसकेमा मृत्यु हुने सम्भावना अधिक हुन्छ । विषालु सर्पले डसेमा आँखा धमिलो हुने, आँखाको ढकनी तल लत्रिने, थुक निल्न गाह्रो हुने, श्वास लिन गाह्रो, पेट दुख्ने, उल्टी आउने र रक्तश्राव हुने गर्छ । व्यवहारमा ६० प्रतिशत जति सर्पदंशमा यात विषालु हँुदैन या विष नपर्ने तथा परे पनि कम भएको पाइन्छ । विश्व स्वास्थ्य सङ्गठनको अध्ययन अनुसार विषालु सर्पले टोकेमा पनि ३० प्रतिशतले मात्र विष छोड्छन् र ७० प्रतिशतको विष लाग्दैन । यस्ता ७० प्रतिशत मानिसलाई औषधी र झारफुक नगरे पनि केही हुँदैन । 

आत्तिन हुँदैन

तराईमा भए विषालु सर्पले टोकेको सम्भावना बढी हुन्छ तथापि सबै विषालु सर्पले विष छोडेका हुँदैनन्, जसलाई ड्राइबाइट भन्ने गरिन्छ । मानिस जति आतिन्छ, त्यति रक्तसञ्चार बढी विष छिटो फैलिन्छ । त्रसित अवस्थामा मुटुको चाप बढी धड्कन बढ्छ र विष झन् बढी र छिटो फैलन्छ । विषविहीन सर्पले टोक्दा पनि मानिस आत्तिने गर्दा हृदघात, छिटो छिटो श्वास फेर्ने, टोकेको ठाउँमा घोचे जस्तो हुने, टोकेको ठाउँ वरपर सुन्निने, रक्तश्राव, निलो, फोका उठ्ने, सङ्क्रमण तथा नेक्रोसिस, कुहिने, हातखुट्टा  बाउँडिने वा नचल्ने, बेहोस हुने जस्ता लक्षण देखिन्छ । 

प्राथमिक उपचार

टोकेको ठाउँमा चिह्न लगाई साबुनपानी वा पोटास पानीले  तत्काल पखाल्ने र कपडाले छोप्नु पर्छ । बिरामीलाई आश्वस्त पार्ने, विषसँग लड्ने क्षमता बढाउन साहस ढाडस दिनु पर्छ । होसमा भए प्रशस्त चिसो झोल पदार्थ, चिया, कफी, पानी, खान दिने तथा घाउ वरिपरि बरफ चिसो पानी राख्ने गर्न पर्छ । टोकेको ठाउँदेखि शरीरमा विष फैलन नदिन सर्पले टोकेको खुट्टा वा हात चल्न नदिने गर्नु पर्छ  । स्वास्थ्य संस्था टाढा भए टोकेको ठाउँदेखि दुई–तीन  इन्च माथि मुटुतिर अलग अलग तीन ठाउँमा चौडा पट्टी (ब्यान्डेज), डोरी, रुमाल बाध्ने र एउटा औँला पट्टीभित्र मुस्किलले छिर्न सक्ने गरी बाध्ने तर प्रत्येक १५ मिनेटमा आधा मिनेट डोरी खोली रक्तसञ्चार हुन दिनु पर्छ । अस्पताल धेरै टाढा भएमा वा त्यहाँसम्म पुग्न तीन घण्टाभन्दा बढी समय लाग्ने अवस्था भएमा तत्कालका लागि प्राथमिक उपचार गरेर मात्र व्यक्तिलाई अस्पतालतिर लानु पर्छ ।

रोकथाम

घर वरिपरि अनावश्यक ठुला घाँस खर झाडी नराख्ने दुलो बन्द गरिदिने, घरभित्र सिध्रा माछा खुला रूपमा राख्नु हुँदैन । रातिमा अधिकांश सर्पदंश हुने भएकाले सुत्ने बेलामा गेट, ढोका, बन्द गर्ने घरवरिपरि फिनेल वा मटितेल छर्कने, झ्याल ढोकामा जाली लगाउने, राति हिँड्डुल गर्दा हातमा लौरो उज्यालोको प्रबन्ध गरी जुत्ता लगाएर हिँड्ने गर्न पर्छ । घरबाहिर तथा भित्र सामान जथाभाबी नराख्ने, मिलाउने, सर्प बस्न सक्ने सम्भाव्य स्थानमा जाँदा होसियारी अपनाउने, सर्प देख्नेबित्तिकै चिनी विषालु भएमा मार्ने गर्दा हुन्छ ।   

 रेडियो, पत्रपत्रिकामार्फत स्वास्थ्य शिक्षा दिने, जनचेतनाका कार्यक्रम गरी जानकारी दिने गर्दा पनि सर्पदंशबाट जोगाउन सकिन्छ । झारफुक गर्नेले ग्यारेन्टी दिई अल्झाउने गर्नुभन्दा अस्पतालमा रिफर गर्ने । विषालु सर्पले टोकेमा एक मात्र बच्ने उपाय तुरुन्तै अस्पताल लैजानु हो ।