• १३ साउन २०८१, आइतबार

सहयोगको पर्खाइमा विक

blog

आर्थिक अभावमा उपचार गर्न नपाउँदा थला परेका दत्या विक । तस्बिर : रामबहादुर विक

मार्तडी समाचारदाता

मार्तडी, चैत ८ गते । दत्या विक उमेरले ३७ वसन्त पार गर्नुभयो । यस्तो युवा अवस्थामा दत्या कोही कसैको सहाराबिना कतै जान नसक्ने अवस्थामा हुनुहुन्छ । बिरामीले मान्छेलाई न युवा भन्छ, न त वृद्ध, न त बालक नै भन्दो रहे छ, दत्याका छिमेकी भन्छन्, “कोही सहारा नभएपछि दत्या ओछ्यानमै पल्टिन बाध्य छन् ।” 

बडीमालिका नगरपालिका–७ का दत्या केही वर्षअगाडि सक्षम हुनुहुन्थ्यो तर अहिले बिरामी भएर थला पर्नुभएको छ । आर्थिक अवस्था कमजोर भएकाले उहाँको उपचार हुन सकेको छैन । 

तीन वर्ष पहिला उपचारका लागि काठमाडौँस्थित वीर अस्पतालसम्म पुग्नुभएका दत्याको बायाँ खुट्टाको औँला काट्नु परेको थियो । बिचमा केही समयसम्म ठिक भए पनि फेरि समस्या बल्झिएको उहाँले बताउनुभयो । 

खुट्टाको समस्याका कारण हिँड्न नसक्ने अवस्थामा पुगेपछि एक साता जिल्ला अस्पताल बाजुरा भर्ना भई उहाँ घर फर्किनुभएको आफन्त जङ्ग विकले बताउनुभयो ।

यसअघि नै श्रीमती गुमाइसक्नुभएका दत्यासँगै चार छोराछोरी र वृद्ध बुवा बिचल्लीमा पर्नुभएको छ । परिवारलाई खुसी राख्ने बेला आफैँ बिरामी भएर थला परेपछि छोराछोरीलाई पालनपोषण तथा पढाइलेखाइमा समस्या भएको उहाँ बताउनुहुन्छ । आर्थिक अभावले गर्दा उपचार नहुँदा उहाँ घरभित्र ओछ्यानमा पल्टेर दिन बिताउन बाध्य हुनुहुन्छ ।