• १८ वैशाख २०८१, मङ्गलबार

नेपालमा धेरै अन्तर्राष्ट्रिय क्रिकेट आयोजनाको वातावरण बनाइदिन आग्रह

blog

राखेप सदस्य सचिव र आइसिसी अध्यक्ष ग्रेग बार्कले छलफल गर्दै । तस्बिर : सौजन्य राखेप

काठमाडौँ, चैत ६ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) अध्यक्ष ग्रेग  बार्कलेबिच मङ्गलबार भेटवार्ता भएको छ । भेटका अवसरमा दुई पक्षबीच नेपाली क्रिकेटको अवस्था, सम्भावना र आइसिसीले नेपाली क्रिकेटलाई गर्न सकिने सहयोगलगायतका विषयमा छलफल भएको थियो ।

सो अवसरमा सदस्य सचिव घिसिङले एसोसिएट राष्ट्रमा टी–२० क्रिकेटमा नेपालले विगतमा कायम गरेको शीर्षस्थानलाई आगामी दिनमा पनि कायम राखी राख्न प्रयासरत रहेको बताउँदै पूर्वाधार विकासमा राज्यले चासो दिएर लगानी गरिरहेको बताउनुभयो। 

सदस्य सचिव घिसिङले नेपाल सरकारले मूलपानी क्रिकेट रङ्गशाला, चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला र मोरङको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको स्मरण पनि गराउनुभयो । 

घिसिङले नेपाल र बङ्गलादेशले सन् २०२७ मा संयुक्त रुपमा आयोजना गर्ने यु–१९ महिला टी–२० विश्वकपका लागि आइसिसीबाट पनि सहयोगका लागि आग्रह गर्दै विश्वकप आयोजनाका लागि स्वीकृति दिएकोमा आईसीसीलाई धन्यवाद दिनुभयो । 

‘‘अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्ने विश्वकप पुरुष टी–२० प्रतियोगिताका लागि आइसिसीले राम्रो सहयोग गरेको मैले जानकारी पाएको छु । हामीले पनि आइसिसीबाट यु–१९ विश्वकपका लागि त्यस्तै सहयोगको अपेक्षा गरेका छौँ । हाम्रो तर्फबाट पनि तयारीमा कुनै कसर बाँकी राख्दैनौँ । सदस्य सचिव घिसिङले भन्नुभयो–‘ ‘विश्वकप आयोजनाका लागि स्वीकृति दिएकोमा आइसिसीलाई धन्यवाद ।’’

सदस्य सचिव घिसिङले नेपालमा क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा दर्शकको उपस्थिति उत्साहजनक रहेको स्मरण गराउँदै धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना गर्ने वातावरण बनाइदिन आग्रह गर्नुभयो । उहाँले नेपाललाई प्राविधिक पक्ष, खेल सामाग्री, हाइ पर्फमेन्स तालिम केन्द्र स्थापनालगायत विषयमा सहयोगका लागि पनि आग्रह गर्नुभएको थियो । 

आइसिसी अध्यक्ष बार्कलेले एसोसिएट राष्ट्रमा नेपाल फेरि नम्बर एक बन्ने सम्भावना रहेको बताउँदै सीमित स्राेत र साधनका बावजुद नेपाली क्रिकेटले गरेको प्रगति प्रशंसनीय रहेको बताउनुभयो ।अध्यक्ष बार्कलेले पूर्वाधारका विषयमा चासो व्यक्त गर्दै नेपाली क्रिकेटको विकास र विस्तारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आइसिसी अध्यक्ष नेपाल आएको यो पहिलो पटक हो । भेटका अवसरमा राखेपका सदस्य प्रकाशकुमार कुसारी, नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्कालगायतलको उपस्थिति थियो ।