• २० वैशाख २०८१, बिहिबार

सडकको अवस्था धेरै राम्रो हुँदै गइरहेको छ

blog

महेन्द्रबहादुर कुँवर अध्यक्ष, मदाने गाउँपालिका

गुल्मी जिल्लाको मदाने गाउँपालिका ऐतिहासिक तथा धार्मिक स्थलका लागि परिचित छ । कङ्केदेउराली, पुर्कोटकोट, खड्ग भगवती, अस्कुना, मदाने लेक, टोप्रे लेक, रोल्मा मनकामना, सिर्सेनी कोट जस्ता मन्दिर यहाँका प्रसिद्ध ऐतिहासिक स्थल हुन् । जैविक विविधताका हिसाबले समेत मदाने प्रख्यात मानिन्छ । मदाने क्षेत्रमा चार प्रजातिका विश्वकै दुर्लभ चराको बासस्थान छ । चिल, सेतो गिद्ध, सुन गिद्ध, गोमायु महाचिलको यहाँ बासस्थान छ । गाउँपालिकाको अध्यक्ष महेन्द्रबहादुर कुँवर हुनुहुन्छ । नेपाली कांग्रेसका तर्फबाट अध्यक्षमा निर्वाचित कुँवरसँग स्वास्थ्य क्षेत्रमा ३१ वर्ष सेवा गरेको अनुभवसमेत छ । प्रस्तुत छ अध्यक्ष कुँवरसँग गोरखापत्रका गुल्मी समाचारदाता रमेश विश्वकर्माले गर्नुभएको कुराकानी :

  गाउँपालिका अध्यक्ष भएपछि के कस्ता काम गर्नुभयो ?

मदाने गाउँपालिकाका नागरिकको सुखदुःखमा साथ रही चुनावताका जनतासमक्ष गरेका अधिकांश प्रतिबद्धता पूरा गरेको छु । मेरो कार्यकालमा निर्वाचनका बेला गरिएका प्रतिबद्धता पूरा गर्ने छु । गाउँपालिकाको विकास सन्दर्भमा गाउँपालिकाको नीति तथा कार्यक्रमलगायत समग्र विकासका काम अन्य जनप्रतिनिधि, स्थानीय राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी र पालिकाका कर्मचारीको संयुक्त छलफलबाट गर्दै आएको छु । गाउँपालिकाको विकासमा सम्पूर्ण महानुभावको साथ समर्थन रहेको छ । 


 विकासका दृष्टिले पालिकाले कुन कुन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ ?

मदाने गाउँपालिका कृषिका रूपमा परिचित छ । यहाँका सुन्तला, कोदो गाउँपालिकाभन्दा अन्यत्रसमेत निर्यात हुने गरेको छ । गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकास र पर्यटनलाई विशेष प्राथमिकतामा राखेको छ । 

‘समुन्नत मदाने, सम्मानित मदानेवासी’ नारासाथ अघि बढिरहेको यस गाउँपालिकालाई समुन्नत बनाउन कृषि उत्पादनलाई वृद्धि गरी कृषकलाई आत्मनिर्भर बनाउन कृषि पूर्वाधार तयार गरिरहेका छौँ । त्यसै गरी शिक्षालाई गुणस्तरीय बनाउँदै प्रतिस्पर्धी नागरिक तयार गर्न शिक्षामा जोड दिएका छौँ । गाउँपालिकाका सडक स्तरोन्नति गर्ने क्रममा रहेका छन् । स्वास्थ्यमा सबैको पहुँच सुनिश्चित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ । त्यसै गरी पर्यटकीय स्थललाई आकर्षक बनाई पर्यटकको सङ्ख्या वृद्धि गर्न पर्यटन पूर्वाधार निर्माण गरिरहेका छौँ । सबै नागरिकको स्वास्थ्यमा पहुँच पु¥याउन पालिकामा आठ वटा बर्थिङ सेन्टरसहितका स्वास्थ्य चौकी रहेका छन् । तीन वटा सामुदायिक स्वास्थ्य एकाइ र एउटा ल्याब रहेको छ । गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल करिब ६० प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको छ । विभिन्न समयमा स्वास्थ्य शिविर, ज्येष्ठ नागरिकको घरघरै गएर स्वास्थ्य परीक्षण जस्ता कार्य गरिएको छ । उत्पादनमा आधारित अनुदानको व्यवस्था गरिएको छ । कृषि उपकरण र बिउमा अनुदान, प्राविधिक सेवा, पशु औषधीको व्यवस्थालगायतका कार्य कृषि क्षेत्रको विकासका लागि गरिरहेका छौँ ।


 सडक तथा खानेपानीको अवस्था कस्तो छ ?

पहाडी जिल्ला र भौगोलिक अवस्था कठिन भएकाले सडक र खानेपानीको समस्या रहेको छ । गाउँपालिका सीमित स्रोत साधनबाट चल्नुपर्ने अवस्था छ । गाउँपालिकाको आन्तरिक राजस्व अत्यन्तै न्यून भएकाले विकासका लागि सङ्घीय सरकार र प्रदेश सरकारको अनुदानमा भर पर्नुपर्ने अवस्था छ । पालिकाका मुख्य सडकहरू जसोतसो १२ महिना चल्छन् तर ती सडक सबै कच्ची छन् । यस पालिकाका केही भाग छिचोलेर जाने सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक, मदन भण्डारी राजमार्ग, गाउँपालिका पहुँचमार्ग कालोपत्रेको चरणमा रहेका छन् । गाउँपालिकाका वडामा जाने सडक स्तरोन्नति भई कतिपय ग्राभेलसमेत भइसकेका छन् । कतिपय स्तरोन्नतिको चरणमा रहेका छन् । त्यसैले यस गाउँपालिका क्षेत्रमा रहेको सडकको अवस्था धेरै राम्रो हँुदै गएको छ । 


 प्रदेश र सङ्घ सरकारसँगको समन्वय र सहयोग कस्तो छ ?

गाउँपालिकाको आन्तरिक राजस्व अत्यन्तै न्यून रहेको हुँदा सङ्घ सरकार र प्रदेश सरकारबाट प्राप्त विभिन्न अनुदानबाट विकास निर्माणका कार्य अघि बढिरहेका छन् । गाउँपालिकाको विकास निर्माणमा दुवै सरकारको सहयोग र समन्वय रहेको छ तर सङ्घ र प्रदेश सरकारका निकायबाट सञ्चालन हुने आयोजनामा गाउँपालिकासँग समन्वय गरेको पाइँदैन । 

गाउँपालिकाको विकासमा मुख्य चुनौतीका रूपमा आर्थिक स्रोत नै रहेको छ । आव २०७९/८० मा सङ्घीय सरकारबाट प्राप्त भएको बजेट अनुसार निकासा प्राप्त हुन सकेन । जसले गर्दा गाउँपालिकाको दायित्व बढ्यो र चालु आव २०८०/८१ मा समेत त्यसले असर पा¥यो । त्यसै गरी निर्माण व्यवसायीले समयमा काम नगर्दिनु विकासमा अर्को चुनौतीका रूपमा रहेको छ । त्यसै गरी नागरिकका अपेक्षा धेरै र गाउँपालिकाको स्रोत कम हुँदा स्रोत छरिने हुनाले देखिने गरी विकास हुन चुनौती रहेको छ । त्यसै गरी पहाडमा रहेको भौगोलिक रूपमा कठिन गाउँपालिका हुनाले कर्मचारीको अभाव हुँदा कार्य गर्न चुनौती रहेको छ । 


 अझै नयाँपन दिन कस्ता काम गर्ने सोच बनाउनुभएको छ ?

मेरो कार्यकालमा गाउँपालिकामा जनताले महसुस गर्ने गरी सडक स्तरोन्नति गर्ने, कृषि क्षेत्रमा उत्पादकत्व अभिवृद्धि गर्ने, शिक्षामा सुधार गर्ने, स्वास्थ्यमा सबैको पहुँच सुनिश्चित गर्ने र पर्यटकीय स्थललाई आकर्षक बनाई पर्यटक आगमनमा वृद्धि गर्ने सोच बनाएको छु । यसका  लागि गाउँपालिकाका अन्य जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा कर्मचारीको साथ र सहयोगको अपेक्षा गरेको छु ।