नेपाल राष्ट्र बैङ्कमा ३० वर्षे सेवा पूरा गरी कार्यकारी निर्देशकबाट निवृत्त भएका पर्वतकुमार कार्की दुई महिनादेखि कोषको कार्यकारी निर्देशकको जिम्मेवारीमा आउनुभएको छ । कोषमा आउनुअघि उहाँ किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो । ‘नेपालको समृद्धिको सहयात्री’ मान्न सकिने नागरिक लगानी कोष आइतबार स्थापनाको ३४ औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैङ्क तथ वित्तीय क्षेत्रमा लामो अनुभव सम्हाल्दै त्रिभुवन विश्वविद्यालय र अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट स्नाकोत्तर गर्नुभएका कार्कीसँग गोरखापत्रका लागि पत्रकार भेषराज बेल्बासेले कोषको समसामयिक अवस्थाका विषयमा गर्नुभएको कुराकानी :
नियामक निकायदेखि विभिन्न वित्तीय संस्था हुँदै नागरिक लगानी कोषको नेतृत्वमा आउनुभएको छ । कोषको अवस्था कस्तो रहेछ ?
वित्तीय प्रणालीको नियमनकारी निकाय राष्ट्र बैङ्क हो । नियमनकारी निकायमा काम गर्दा वित्तीय प्रणालीका विभिन्न पक्षहरूबारे हामी सचेत नै हुन्छौँ । नेपालको वित्तीय संस्थाको कुरा गर्दा बैङ्क तथा वित्तीय संस्था एकातिर र अर्को गैरबैङ्किङ वित्तीय संस्थाका रूपमा नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष जस्ता संस्थालाई लिने हो । गैरबैङ्किङ वित्तीय संस्थालाई पनि वित्तीय प्रणालीकै अङ्गका रूपमा गणना गर्न सकिन्छ । नागरिक लगानी कोष पनि मेरा लागि नौलो संस्था रहेन । कोषको काम, कर्तव्य अधिकारका बारेमा सचेत छु । मैले यो दुई महिनामा कोष बुझिसकेँ ।
तपाईले आफ्नो नेतृत्वमा कोषलाई कसरी अगाडि बढाइरहनुभएको छ ?
–नागरिक लगानी कोष आकारको हिसाबले झन्डै २४० अर्बको ठुलै संस्थाका रूपमा देखिए पनि सङ्गठनात्मक संरचनाका हिसाबले केन्द्रीय कार्यालय र पाँचवटा प्रादेशिक तहका कार्यालय मात्र छन् । करिब डेढ सय कर्मचारी भएको संस्था हो । त्यसकारण कर्मचारी र शाखा सञ्जालका हिसाबले हेर्दा जटिल संस्था जस्तो लाग्दैन । कोषका हिसाबले ठुलै संस्था हो । यसलाई नेतृत्व प्रदान गर्नलाई मैले धेरै ठुलो समस्या र चुनौतीका रूपमा लिएको छैन । किनकि म आफैँले दुई वटा संस्थामा नेतृत्वमै बसेर छ सात वर्ष काम गरिसकेको छु । त्यहाँ काम गर्दा शाखा र कर्मचारीकै सङ्ख्या धेरै हुन्थ्यो । त्यसकारण यहाँ चुनौतीका रूपमा लिएको छैन । मैले विश्लेषण गरे अनुसार यहाँ पनि केही संरचनागत समस्या, प्रतिस्पर्धी बजार, कर्मचारीको वृत्तिविकास, उत्तरदायी नेतृत्व विकासलगायतका कुरा पहिचान गरेको छु ।
कोषको वित्तीय अवस्था कस्तो रहेको छ ?
चालु आर्थिक वर्षको पुस मसान्तसम्म कोषको खुद कोष मौज्दात दुई खर्ब ४० अर्ब ५१ करोड रुपियाँ रहेको छ । हाम्रा विभिन्न योजना र कार्यक्रम छन् । अहिले छ लाखभन्दा बढीको कोषमा सहभागिता छन् । कोषबाट विभिन्न क्षेत्रमा लगानी गरेका छाँैं । त्योमध्ये हाम्रो लगानी बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेप, पुँजी बजार, सङ्घ सङ्गठनको सेयर, विकास ऋणपत्रदेखि लिएर सहभागीलाई कर्जा दिनेसमेत गरेर हामीले दुई खर्ब ३५ अर्ब पाँच करोड रुपियाँ लगानी गरेको अवस्था छ । यसमा स्थिर सम्पत्तिसमेत कुल लगानी दुई खर्ब ५३ अर्ब लगानी गरेको अवस्था छ । संस्थाको विगत राम्रो छ र आउँदा दिन पनि अझ राम्रो गर्न सक्ने सम्भावना छ ।
सेयर संरचना कस्तो छ ?
अहिले यसको अधिकृत पुँजी आठ अर्ब हो भने चुक्ता पुँजी पाँच अर्ब ३१ अर्ब रहेको छ । जसमध्ये नेपाल सरकारको २३ प्रतिशत रहेको छ । राष्ट्रिय जीवन बिमा कम्पनीको ३१ प्रतिशत, नेपाल स्टक एक्सचेन्जको १० प्रतिशत, अरू बैङ्क वित्तीय संस्थाको १५ प्रतिशत र बाँकी सर्वसाधारणको २० प्रतिशत गरी यसको पुँजी चुक्ता भएको अवस्था हो । यसमा प्रत्यक्ष सरकारको २३ प्रतिशत देखिएता पनि सरकारकै लगानीमा स्थापना भएका राष्ट्रिय जीवन बिमा कम्पनी र नेपाल स्टक एक्सचेन्जको पनि जोडेर हेर्ने हो भने यो संस्थामा झन्डै ६५ प्रतिशत सरकारकै लगानी छ ।
संस्थाका बचतकर्ताहरूले के कस्तो सुविधा पाइरहेका छन् ?
हामीले बचतकर्तालाई निश्चित दरको प्रतिफल दिन्छौँ । अहिलेकै कुरा गर्दा साढे सात प्रतिशतको निश्चित प्रतिफल हो । त्यसपछि हामीले विभिन्न योजनाबाट सङ्कलन गरेको कोष विभिन्न क्षेत्रमा लगानी गरेर जुन नाफा आर्जन गर्छौं त्यो नाफा आर्जन गरिसकेपछि पनि हाम्रा विभिन्न कोषमा केही रकम छुट्याउछौँ । अनि नागरिक लगानी कोषले निश्चित व्यवस्थापन शुल्कका रूपमा लिन्छ । बाँकी रहेको प्रतिफल पनि हामीले फेरि लगानीकर्तालाई उनीहरूलाई दिएको ब्याजदरमा एक डेढ प्रतिशतले थप्छौँ । साथै बचतकर्तालाई अरू सुविधाहरू जस्तै मृत्यु भयो भने केही क्षतिपूर्ति दिइन्छ भने स्वास्थ्य उपचारमा पनि सुविधा दिने गरेको छ ।
कोषको लगानी कुन कुन क्षेत्रमा छ ?
अहिले हाम्रो लगानीको अवस्था हेर्नुहुन्छ भने ‘क’ वर्गका वाणिज्य बैङ्कको मुद्दती निक्षेपमा झन्डै ५० प्रतिशत जति हुन आउँछ । त्यसपछि सेयरमा पनि लगानी छ । सेयरमा प्रोमोटर, पब्लिक, सेकेन्डरी मार्केटमा पनि लगानी गरेका छौँ । अर्को कुरा हामीले नेपाल सरकारको ऋणपत्रमा पनि लगानी गरेका छौँ । विभिन्न बैङ्कले जारी गरेका डिभेन्चरहरूमा पनि लगानी गरेका छौँ । वायुसेवा निगम र जलविद्युत् आयोजनामा पनि लगानी गरेका छौँ । विभिन्न किसिमका कर्जाहरू जस्तै आवास कर्जा, सवारी कर्जा, जग्गा खरिद गर्ने कर्जा, सामाजिक कार्यका लागि पनि कर्जा प्रवाह गर्ने काम गरेका छौँ ।
लगानीलाई थप विविधीकरण गर्नेतर्फ केही सोच्नुभएको छ कि ?
हाम्रो जुन ‘पोर्टफोलियो’ छ, त्यसलाई विविधीकरण गर्ने, निक्षेपमा मात्रै लगानी नगरेर अन्य क्षेत्रमा जाँदा एउटा सम्भाव्यता बोकेको क्षेत्र घरजग्गामा पनि काम गर्ने दायरा पनि छ । भावी योजनाका रूपमा ‘रियलस्टेट’ मा विशेष गरी ‘अपार्टमेन्ट’ लगानी गर्ने योजना पनि छ । अर्को कुरा निश्चित व्यक्ति तथा व्यवसायीलाई लक्षित गरेर नयाँ स्टार्टअपहरूलाई पनि केही ऋण दिएर सुरु गराउन सकिने सोच बनाएका छौँ ।
सेयरमा महँगो दरमा सोही अनुरूप प्रतिफल नपाएको भन्ने छ नि, लगानीकर्ताको के भन्नुहुन्छ ?
बर्सेनि नागरिक लगानी कोषले जहिले पनि दोहोरो अङ्कको प्रतिफल दिइरहेको छ । कहिले १८, कहिले २० प्रतिशत, कहिले २१/२२ प्रतिशत । त्यही कारण हाम्रो सेयरमूल्य माथि गएको हो । कोषले आफ्ना ‘इक्विटी होल्डर’ हरूलाई दुई किसिमको सुविधा दिइरहेको छ । एउटा सहभागीलाई ब्याजदर मात्रै होइन नाफाबाट आएको निश्चित प्रतिशत पनि दिन्छ भने अर्को सेयर पुँजीमा सहभागीलाई राम्रो प्रतिफल दिइरहेको छ ।
पुँजी बजार निर्माणमा कोषले के कस्तो काम गरिरहेको छ ?
नागरिक लगानी कोषको एउटा पाटो भनेको पुँजी बजारमा काम गर्ने पनि हो । हामीसँग कोषको आकार पनि ठुलो छ । त्यो हिसाबले हामीले ‘स्टक मार्केट’ मा लगानीबाटै हस्तक्षेप गर्न सक्छौँ । त्यसका लागि स्टक डिलरको सहायक कम्पनी पनि स्थापना गरेका छौँ, नागरिक स्टक डिलर भनेर । त्यहाँको ठुलो इक्विटी सहभागी हामी नै हौँ । ट्रेडिङको पाटोमा पनि हामी सहभागी छौँ । त्योबाहेक मर्चेन्ट बैङ्किङसँग सम्बन्धित काम पनि अगाडि बढाउनुपर्ने मेरो सोचाइ छ । जस्तो बजार निर्माताका रूपमा काम गर्ने, मार्केट मेकरका रूपमा काम गर्ने, यसै गरी सेयर रजिस्टारको भूमिका बढी गर्ने, ‘अन्डरराइटिङ’ को काम गर्नेमा कोषको ध्यान जाने छ ।
कोषकै समान प्रकृतिका थप संस्था स्थापना भएका छन् । प्रतिस्पर्धी बजारमा पृथक् ढङ्गले अगाडि बढ्ने के छ योजना ?
नागरिक लगानी कोष स्थापना हुँदा यसका उद्देश्य र पछिल्ला संस्थाको उद्देश्यमा केही समानता भए पनि धेरै फरक छन् । कोष विशेष गरी निजामती र राष्ट्रसेवक कर्मचारी केन्द्रित छ । सामाजिक सुरक्षा कोषले पछिल्लो समय सङ्गठित र असङ्गठित क्षेत्रका श्रमिकलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरेको छ । त्यसले केही असर गरे पनि त्यो असरलाई कम गर्न कोषले नयाँ किसिमले सेवा र सुविधा अनुकूलन गर्नु पर्छ ।
कोषमा आबद्ध सबैलाई राम्रो प्रतिफल दिएका कारण टिकाइरहन सक्छौँ । अब सेयर बजारमा अझ ध्यान केन्द्रित गर्दा कोषलाई राम्रो हुन्छ । नयाँ वर्गलाई लक्षित गरेर केही कार्यक्रम ल्याउनुपर्ने आवश्यकता देखिन्छ । अहिले हामीले तत्काल कोषले ‘नागरिक पेन्सन योजना’ नामक खुला पेन्सन योजना सर्वसाधारण, स्वरोजगार भएका, वैदेशिक रोजगारीमा गएकालाई समावेश गर्ने गरी ल्याएका छौँ । यसलाई आमनागरिकमा पु¥याउनुपर्ने आवश्यकता छ ।
नागरिक पेन्सन योजना के हो ?
यो भर्खर सुरु भएको योजना हो । अहिलेसम्म हेर्दा त्यसमा २० करोड जति कोष जम्मा भएको छ । मान्छे उमेर हुँदासम्म सक्रिय हुन्छ, कमाउँछन् । ६० वर्ष पुगेपछि उसलाई पनि केही सहारा चाहिन्छ ।
अहिलेदेखि नै केही सानो रकम बचत गर्दै गयो भने भोलि बाँचुन्जेल पेन्सनका रूपमा दिन सकिन्छ र एकमुष्ठ लैजान पनि सकिन्छ । यसका लागि मासिक न्यूनतम पाँच सय रुपियाँ जम्मा गर्नुपर्ने हुन्छ । क्षमता अनुसार मासिक किस्ता बढाउँदै लैजान सकिन्छ । यो जम्मा भएको १५ वर्ष भयो वा जम्माकर्ताको उमेर ६० वर्ष भयो भने यो पैसालाई उनीहरूले यसमा जम्मा भएको साँवा, ब्याज र आयआर्जनबाट आएको प्रतिफलसमेत जोडेर एकमुष्ट निकाल्न पनि सक्छन् । पेन्सन गणना गर्ने हाम्रो आफ्नै विधि छ ।