काठमाडौँ, चैत ४ गते । रेडियो, सिडी, भिसिडीको भरमा चलेको नेपाली सङ्गीत उद्योग पछिल्लो समय सुन्नेभन्दा पनि हेर्ने माध्यममा बढी केन्द्रित हुन थालेको छ । त्यसैले पनि नेपाली सङ्गीत बजारमा दृश्यको भाकाले गीतलाई जितिरहेको छ । यसले भोलिका दिनमा गीत सङ्गीतको अस्तित्वमा नयाँ मोड नल्याउँला भन्न सकिँदैन । अहिले नेपाली सङ्गीत बजारको वातावरण र प्रवृत्ति फेरिन थालेको छ । डिजिटल साक्षरता, गीत सङ्गीतको डिजिटल अधिकार, गीत सङ्गीतको डिजिटल व्यापारको सम्भावनाले नयाँ र पुरानो पुस्तालाई नजिक बनाउँदै लगेको सर्जकको भनाइ छ ।
गीत सङ्गीत रोयल्टीबारे नेपाली प्रयोगकर्तामा अझै राम्रो ज्ञान नभएको गीतकार सङ्घ नेपालका महासचिव टीका राई बताउनुहुन्छ । केही मात्रामा राम्रा गीत सङ्गीत बनेका पनि छन् । यति धेरै गीत सङ्गीत बजारमा आए पनि नारायण गोपाल, गोपाल योञ्जनको बेलामा जस्तो स्तरीय गीत सङ्गीत भने निर्माण हुन सकेका छैनन् । अधिकांशमा नाम, मान, सम्मान कमाउने सोख छ, महासचिव राईले थप्नुभयो ।
गायक तथा सङ्गीतकार युवराज चौलागाईंले सङ्गीत क्षेत्रमा लगानी गरे अनुसार सङ्गीतकर्मीले नाफा लिन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले सङ्गीत क्षेत्रमा लगानी बढी र नाफा कम छ । एउटै गीतको भिडियो निर्माण गर्दा आठ/दस लाख रुपियाँ नै खर्च हुन्छ । युट्युबबाट पनि राम्रो आम्दानी छैन भने कार्यक्रम तथा अन्य प्लेटफर्मबाट पनि लगानी सुरक्षित हुने अवस्था न्यून छ । यसरी हेर्दा चुहावट धेरै छ तर नाफा गर्न सकिने बाटो कम छ । चुहावट नियन्त्रणमा ध्यान दिन सक्नु पर्छ । अर्को माध्यम भनेको रोयल्टी हो ।
प्रतिलिपि अधिकार ऐन अन्तर्गत अन्य भौतिक सम्पत्ति जस्तै बौद्धिक सम्पत्तिको पनि संरक्षण गर्ने र त्योबापत रोयल्टी प्राप्त गर्ने नियम छन् तर ती सबै कागजमा मात्र सीमित भए जस्तो देखिन्छ । सर्जक पनि आफ्नो सम्पत्ति संरक्षण गर्ने र आयआर्जन गर्नेभन्दा पनि विभिन्न प्लेटफर्ममा आफ्नो गीत बजेको सुनेर रमाउने गर्छन् ।
यो कुरा सङ्गीत क्षेत्रका लागि चुनौती पनि हो । विभिन्न कार्यक्रम, सार्वजनिक सवारीसाधन, होटल रेस्टुरेन्ट आदिमा गीत सङ्गीत प्रयोग गरेबापत रोयल्टी तिरिँदैन, यिनीहरूलाई कसरी रोयल्टीको दायरामा ल्याउनु अर्को चुनौती रहेको छ ।