• २२ वैशाख २०८१, शनिबार

आर्मीलाई टी–२० क्रिकेट उपाधि

blog

उपाधिसहित आर्मीका खेलाडी । तस्बिर : गोरखापत्र

हरि कोइराला

उर्लाबारी, चैत ३ गते । प्रथम कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट च्याम्पियनसिपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । मोरङ क्रिकेट सङ्घको  आयोजनामा विराटनगरमा भइरहेको प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई  नौ विकेटले पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।  

उपाधिसँगै आर्मीले पाँच लाख रुपियाँ पुरस्कार पायो । उपविजेता कर्णालीले तीन लाख रुपियाँ प्राप्त गरेको छ । कर्णाली प्रदेशले दिएको एक सय ११ रनको विजय लक्ष्य आर्मीले १२.२ बलमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । 

पहिलो विकेटका लागि आर्मीका ओपनर सन्तोष कार्की र ईमरान शेखले २५ रनको साझेदारी गर्नुभयो । सन्तोष २१ रनमा क्याच आउट हुनुभयो । त्यसपछि मैदान प्रवेश गर्नुभएका तृतराज दासले आक्रमक ब्याटिङ गर्दै तृतराजले ३३ बलमा अविजित ५० रनको योगदान गर्नुभयो ।

आर्मीको जितमा शेखले ३० बलमा अविजित ३८ रन जोड्नुभयो । च्याम्पियनसिपमा पहिलो अर्धशतक बनाउनुभएका दासले दुई छक्का र पाँच चौका प्रहार गर्नुभयो । शेख र दासबीच ५४ बलमा ८७ रनको साझेदारी भयो । कर्णालीका दिनेश अधिकारीले एक विकेट लिनुभयो । 

यसअघि टस जितेर ब्याटिङ गरेको कर्णाली प्रदेशले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय १० रनको सामान्य योगफल तयार पारेको थियो । आक्रमक सुरुआत गरेको कर्णालीका लागि विपिन रावलले २७ रन बनाउँदा  कप्तान रविन्द्र शाहीले २१ रन, मनिस थापाले २१ र दिनेश अधिकारीले १२ रन  बनाउनु भयो । आर्मीका तृतराज दास, वसिर अहमद, सहाव आलम र सुमित श्रेष्ठले समान दुई दुई विकेट लिनुभयो ।

च्याम्पियनसिपमा प्लेयर अफ दि टुर्नामेन्ट र प्लेयर अफ दि फाईनलको पुरस्कार आर्मीका अलराउण्डर दासले प्राप्त गर्नुभयो । प्रतियोगिताको उदयमान खेलाडी आर्मीका नितेश पटेल घोषित हुनुभयो । 

विजेता टोलीलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पुरस्कार वितरण गर्नुभयो । फागुन २२ गतेबाट सुरु भएको प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेशका सात टोली सहित १० टिमको सहभागिता रहेको थियो ।