बयरको व्यावसायिक खेती सुरु
मोरङको कानेपोखरी–३, हरकपुरमा नेपाल मै पहिलो पटक व्यावसायिक बयर खेती सुरु गरिएको छ । धरानका व्यवसायी विनोद अग्रवालले बयरको आयात उच्च भएको अध्ययन गरेपछि बयरको व्यावसायिक खेती सुरु गर्नुभएको छ । खास गरी सरस्वती पूजालगायतका चाडमा नेपालमा विभिन्न जातका बयरको आयात हुने गरेको छ । अग्रवालले आफ्नै पाँच बिघा जग्गामध्ये साढे चार बिघा खेतमा एक हजार बिरुवा लगाउनुभएको हो । जसमध्ये सात सय बिरुवाले उत्पादन दिन थालेका छन् । भारतको हरियाणाबाट प्रतिबिरुवा एक सय रुपियाँका दरले ल्याएका बिरुवा उहाँले गत वर्षको चैतमा रोप्नुभएको थियो । ती बिरुवाले रोपेको १० महिनामा उत्पादन दिन थालेका छन् ।
तीन करोड पचास लाखको रातो गुलाफको कारोबार
प्रणय दिवसका अवसरमा खपत हुने स्टिम गुलाफका लागि पनि भारतकै भर पर्नु पर्छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले प्रणय दिवसमा नेपालमा माग हुने स्टिम गुलाफमध्ये ९० प्रतिशत भारतको भर पर्नुपर्ने अवस्था रहेको जनाएको छ । फ्यानका अनुसार प्रणय दिवसमा तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेकोमा ३५ हजार गुलाफ स्वदेशमा उत्पादन हुन्छ भने बाँकी तीन लाख १५ हजार स्टिम गुलाफ भारतबाट आयात गर्नु पर्छ । फ्यानका अध्यक्ष मीनबहादुर तामाङले स्टिम गुलाफको मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ भारतबाट आयात गर्नु परेको बताउनुभयो ।
सात महिनामा चार लाखभन्दा बढी बिदेसिए
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो सात महिनामा नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स (युएई) भएको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको पहिलो सात महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेमा युएई पहिलो श्रम गन्तव्य देश बन्न पुगेको हो । चालु आवको सात महिनामा चार लाख पाँच हजार ५५२ जनाले श्रम स्वीकृति लिएकोमा युएईका लागि एक लाख एक हजार ४६१ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । अघिल्लो वर्ष लगातार तेस्रो श्रम गन्तव्य देश रहेको युएई यो वर्ष भने सुरुदेखि नै पहिलो श्रम गन्तव्य बन्न सफल भएको छ । यस अवधिमा दोस्रो श्रम गन्तव्य देश कतार रहेको छ ।
कपिलवस्तु बस दुर्घटनामा १० जनाको मृत्यु, २० घाइते
कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही खोलामा बस खस्दा १० जनाको घटनास्थलमै मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
सुनको मूल्यमा उच्च गिरावट
स्थानीय बजारमा बुधबार सुनको मूल्य एकै दिन तोलामा एक हजार दुई सय रुपियाँले घटेको छ । मङ्गलबार प्रतितोला एक लाख १७ हजार सात सय रुपियाँमा कारोबार भएको सुनको मूल्य बुधबार घटेर एक लाख १६ हजार पाँच सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
साना जलविद्युत् र सौर्य आयोजनाको थप पिपिए हुने
नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटभन्दा साना क्षमताका आयोजनाको कोटारहित विद्युत् खरिद गर्ने भएको छ । त्यस्तै करिब सात मेगावाटसम्म थप सौर्य आयोजनाको पनि विद्युत् खरिद सम्झौता गर्ने भएको छ । प्राधिकरणले स्वदेशी साना लगानीकर्ताको विद्युत्मा लगानी प्रोत्साहन गर्न भन्दै सञ्चालक समितिमार्फतनिर्णय गरेको हो । निर्णय अनुसार अब १० मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् ‘लेऊ या तिर’ प्रावधानका आधारमा नै खरिद गरिने छ ।
खगेन्द्र नवजीवन केन्द्रको बेथिति : आश्रितले पाउँदैनन् आधारभूत सुविधा
काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा सरकारले दिने बजेट र संस्थाको आम्दानी २७ करोड ३९ लाख रुपियाँ छ । केन्द्र र चार शाखामा गरी १३३ जना अपाङ्गता भएका र अति अशक्त व्यक्ति आश्रित छन् । वार्षिक बजेट अनुसार प्रतिव्यक्ति २० लाख ५९ हजार ८८० रुपियाँ संस्थालाई प्राप्त हुन्छ ।
मृतकका परिवारलाई रुसले क्षतिपूर्ति दिने
रुसको सेनामा भर्ती भएर युद्धका क्रममा मारिएका नेपाली नागरिकले पाउनुपर्ने क्षतिपूर्ति सरकारी संयन्त्रबाटै आउने भएको छ । रुस सरकारले गरेको यो निर्णयसँगै हालसम्म रुसी सेनामा भर्ती भएर युद्धमा मारिएको पुष्टि भएका १० जना नेपाली नागरिकका परिवारले क्षतिपूर्ति पाउने तय भएको छ ।
बदलियो नेपालीको खर्च शैली
आम्दानीको अधिकांश हिस्सा खाद्यान्नमा खर्च गर्ने नेपालीको शैलीमा परिवर्तन देखिएको छ । विगतमा आम्दानीको दुई तिहाइसम्म खाद्यान्न खरिदमा खर्च गर्ने प्रवृत्ति बिस्तारै लामो समय टिक्ने गैरखाद्य वस्तुको खरिदतर्फ मोडिएको पाइएको हो । हालै सार्वजनिक नेपाल जीवनस्तर सर्वेक्षणमा विगत एक दशकको अन्तरमा खर्च खाद्यान्न र गैरखाद्यान्नमा नेपालीले करिब आधा आधा खर्च गर्ने तथ्य सार्वजनिक भएको हो । सर्वेक्षण अनुसार सन् २०११ मा कुल खर्चको ६२ प्रतिशत खाद्यान्नमा खर्च गर्ने नेपालीले सन् २०२२ सम्म आइपुग्दा त्यस्तो खर्च घटाएर ५३ प्रतिशतमा सीमित गरेका छन् । गैरखाद्यान्नमा सन् २०११ मा ३८ प्रतिशत खर्च गर्ने नेपालीले सन् २०२२ सम्म बढाएर ४७ प्रतिशत पुर्याएका छन् ।