नारायणगढ, माघ १४ गते । नारायणगढस्थित सम्पूर्ण किताबले विद्यार्थीलाई पढ्ने बानी बसाल्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकाे छ । सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटाले स्थानीय विभिन्न व्यक्तिहरूको जन्मदिन, वैवाहिक उत्सव लगायतका विभिन्न शुभ अवसरमा सम्बन्धीत व्यक्तिको सहयोग लिएर विद्यालयमा मुना लगायतका पत्रपत्रिका र पुस्तक वितरणलाई अभियानको रूपमा थालनी गर्नुभएको छ ।
गत शुक्रबार पनि भरतपुरमा दुई वटा सामुदायिक विद्यालयमा गोरखापत्र संस्थानबाट प्रकाशित मुना, युवामञ्च र मधुपर्क वितरण गरिएको छ । भरतपुर निवासी रामकृष्ण पौडेल अनायास र मुना घिमिरेले आफ्नो जन्मदिनको अवसर पारेर भरतपुर-५ स्थित कैलाशनगर मावि र राष्ट्रिय मावि तोरीखेतका विद्यार्थीलाई बालपत्रिका मुना साथै मधुपर्क र युवामञ्च उपलब्ध गराउनुभएको हो
शुक्रबार दुबै विद्यालयमा छुट्टाछुट्टै गरिएको कार्यक्रमलाई सम्पूर्ण किताबका लेखराम सापकोटाले सहजीकरण गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा साहित्यकार एलबी क्षेत्री उपस्थित रहनुभएको थियो । प्रमुख अतिथि क्षेत्रीले पठन संस्कारको विकासमा यस्ता खाले कार्यक्रमले ठूलो सहयोग गर्ने बताउनुभयो । "विद्यार्थीमा विद्यालय तहदेखि नै पढ्ने बानी बसाउन सकियो भने उहाँहरू अध्ययनशील र सिर्जनशील बन्नुहुन्छ", क्षेत्रीले भन्नुभयो, "रामकृष्ण भाइ र मुना बैनीले जन्मदिनमा उज्यालो बाँढ्ने काम गर्नुभएको छ, यो अभियानको सिको सबैले गर्नुपर्छ ।"
जन्मदिनमा केक काटेर, पार्टी दिएर गरिने खर्चलाई कटौती गरी विद्यार्थीलाई ज्ञान बाँढ्ने अभियानमा सहभागी हुन पाउँदा मुना घिमिरे र रामकृष्ण अनायासले खुसी लागेको बताउनुभयो । सोही कार्यक्रममा शिक्षकका लागि ञशिक्षकझ मासिक पत्रिकाका सेट पनि उपलब्ध गराइएको थियो । कैलाशनगर माविका प्रधानाध्यापक हीरामणि सापकोटा र राष्ट्रिय मावि तोरीखेतका प्रधानाध्यापक करुणाकर पण्डितले मुना र रामकृष्णलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै पत्रिका वितरणका लागि आफ्नो विद्यालय छनोट गरेकोमा धन्यवाद दिनुभएको थियो । राष्ट्रिय माध्यमिक विद्यालय तोरीखेतका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु खनियाले विद्यार्थीलाई यी पुस्तक तथा पत्रपत्रिका पढ्न दिएर यसबाट उहाँहरुले सिकेका कुराहरू बारेमा आगामी शुक्रबारका कार्यक्रममा छलफल गराउने बताउनुभयो ।
भरतपुर महानगरपालिकाले नगरभित्रका विद्यालयमा हरेक शुक्रबार व्यवहारिक शुक्रबार अन्तर्गत अतिरिक्त पुस्तक पढ्ने र विमर्श गर्ने, खेलकुद, वृक्षरोपण, पाक शिक्षा, सरसफाइ लगायतका व्यवहारिक कार्यक्रममा विद्यार्थीलाई सहभागी गराउने गरेको छ । विशेषगरी शुक्रबारका कार्यक्रममा विद्यार्थीलाई अतिरिक्त किताब पढ्न दिँदा विद्यार्थीमा व्यक्तित्व विकास हुने र जुनसुकै काम गर्न पनि उनीहरू अग्रसर हुने सम्पूर्ण किताबका लेखराम सापकोटाले बताउनुभयो ।