• २७ पुस २०८१, शनिबार

चौलागाईँलाई बुद्धिचाल उपाधि

blog

बुद्धिचाल उपाधि विजेता खेलाडी ।

काठमाडौँ, माघ १४ गते । स्काई वाल्क टावर अन्डर १९०० रेटिङ फिडे बुद्धिचाल प्रतियोगिताको उपाधि माउण्ट एभरेष्ट चेस क्लबका १८९३ रेटेड सिएम पुरुषोत्तम चौलागाईँले जित्नुभएको छ । 

दुई दिने प्रतियोगितामा पूर्व नेपाल च्याम्पियन चौलागाईँले नौ चरणको खेलमा सात जित, एक बराबर र एक हार खेप्लै समग्रमा ७.५ अङ्क बनाउनुभयो । उपाधिसँगै उहाँले २० हजार रुपियाँ पुरस्कार पाउनुभयो । कूल १४५ जना १९०० रेटिङ्ग मुनिका खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा समान ७.५ अङ्कसहित कान्तिपुर चेस क्लबका पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकार दोस्रो हुनुभयो । उहाँले १३ हजार रुपियाँ पुरस्कार पाउनुभयो । ललितपुर स्पोर्ट्स क्लबका धिरेन राई तेस्रो बन्नुभयो । उहाँले आठ हजार रुपियाँ पाउनुभयो ।

भक्तपुरका हर्कबहादुर चोङ्वाङ चौथो बन्दै पाँच हजार रुपियाँ पाउनुभयो । ८० हजार रुपियाँ पुरस्कार राशि रहेको प्रतियोगितामा शीर्ष १० सम्मलाई नगद पुरस्कार प्रदान गरिएको थियो । १८०० रेटेड मुनि ललितपुर स्पोर्ट्स क्लबका सानुभाई महर्जन, १६०० रेटिङ्ग मुनि थापाथली पार्क चेस क्लबका भरत धिमाल र अनरेटेडतर्फ सङ्खुवासभाका राजकुमार राई पहिलो हुनुभयो ।

सर्वोकृष्ट महिला खेलाडीमा नुवाकोटकी नेपाल च्याम्पियन डब्लूएफएम सुजना लोहनी, भेट्रान तर्फ इटहरीका नारायण प्रसाद खतिवडा, युवा १६ वर्षमा बौद्ध काठमाडौँका सजल न्यौपाने र युवा १४ वर्षमा पेभिलियोन चेस एकेडेमीका अग्रिम शैंजू अब्बल हुनुभयो । अन्तर्राष्ट्रिय आर्विटर ज्ञानेन्द्र खाइजुले सहजीकरण गर्नुभएको प्रतियोगिताकाे विजेतालाई वण्डर नेपालका निर्देशक खेमराज न्यौपाने लगायतले पुरस्कार प्रदान गर्नुभयो ।