विकास बैङ्क र फाइनान्सलाई कारबाही
नीति निर्देशन पालना नगरेको भन्दै नेपाल राष्ट्र बैङ्कले तीन विकास बैङ्क र तीन वटा फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । नारायणी डेभलपमेन्ट बैङ्क, मुक्तिनाथ विकास बैङ्क, सप्तकोशी डेभलपमेन्ट बैङ्क, प्रोग्रेसिभ फाइनान्स, गुडविल फाइनान्स र गुह्येश्वरी मर्चेन्ट बैङ्किङ एन्ड फाइनान्सलाई राष्ट्र बैङ्कले कारबाही गरी जरिबाना पनि तिराएको हो ।
आरोग्यताका लागि मुद्रा–प्राणायाम
हिन्दु विद्यापीठका संस्थापक डा. चिन्तामणि योगीले अहिले देखिएका सामाजिक परिवेश र मानिसको प्रविधिप्रतिको बढ्दो लगावका बेला योग ध्यान जस्ता कुराको महत्व झन् बढेको बताउनुभएको छ । बुधबार राजधानीमा ‘आरोग्यताका लागि मुद्रा–प्राणायाम’ पुस्तक विमोचन गर्दै उहाँले नेपाल वेद, रामायण, त्रिपिटक जस्ता ग्रन्थ र दर्शन जन्माउने देश भएको उल्लेख गर्दै कतिपय विकसित देशमा समेत हाम्रो योग र ध्यान पद्धतिबारे व्यापक चर्चा र चासो हुने गरेको बताउनुभयो । कार्यक्रममा नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले अहिले समाजमा देखिएको एक प्रकारको निराशालाई चिर्न पनि योग र ध्यान आवश्यक रहेकाले त्यसलाई चिर्न पुस्तक प्रभावकारी हुने बताउनुभयो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित तमाङ भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित तमाङ भाषा
‘टोपी उनैको’ बजारमा
सङ्गीतकार तथा निर्देशक डिआर सुजनले ‘टोपी उनैको’ बोलको गीत बजारमा ल्याउनुभएको छ । गीतमा गायिका आयुषा गौतम र अञ्जु विश्वकर्माले उहाँलाई साथ दिनुभएको छ ।
नेपाल सङ्गीत विद्यालयमा स्नातक तह अध्यापन
नेपाल सङ्गीत विद्यालयले स्नातक तहको सङ्गीतको अध्ययन गराउने भएको छ । नेपाल म्युजिक सेन्टर शैक्षिक गुठी तथा गुठीद्वारा सञ्चालित नेपाल सङ्गीत विद्यालयको १८ औँ वार्षिक उत्सव कार्यक्रममा सो कुराको जानकारी दिइएको हो । गुठीका अध्यक्ष तथा लोक सेवा आयोगका पूर्वअध्यक्ष तीर्थमान शाक्यको अध्यक्षतामा बुधबार सम्पन्न कार्यक्रममा प्रवीणता प्रमाणपत्र तहको अध्ययन गराइरहेका विद्यालयमा स्नातक तह पनि अध्ययन अध्यापन गर्ने भएको जनाएको छ ।
चित्रकला कार्यशाला तथा कला प्रदर्शनी
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दोस्रो चरणको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रम गर्ने भएको छ । नगरपालिकाले जिल्लाका धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले यही फागुन ५ देखि १७ गतेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा बबरमहलस्थित ललितकला परिषद्मा उक्त कार्यशालाको आयोजना गर्न लागेको हो । नगर प्रमुख तीर्थराज भट्टराईका अनुसार यसअघि गत असोज १७ देखि २१ सम्म आयोजना भएको पहिलो चरणको चित्रकला कार्यशालाबाट १७० हाराहारीमा तयार भएका चित्रकलालाई प्रदर्शनमा राखिने र दोस्रो चरणको कार्यशालामा ५० देशका चित्रकारले क्यानभासमा प्रत्यक्ष चित्रकला तयार पार्ने छन् । उहाँले भन्नुभयो, “जिल्लाका दस वटै पालिकाभित्र रहेका प्राकृतिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीलगायतका कला, संस्कृति र पर्यटनको प्रवर्धन गर्ने उद्देश्यले चित्रकला कार्यशालाको आयोजना गरिन लागेको हो ।
नेपाल एयरलाइन्सको सुर्खेत–हुम्ला परीक्षण उडान
लामो प्रयासपछि सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले फागुन ७ गते कर्णाली प्रदेशको राजधानी सुर्खेत विमानस्थलबाट हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा पहिलो पटक परीक्षण उडान भर्ने भएको छ । नेपाल एयरलाइन्सले कर्णालीका चार जिल्लामध्ये हुम्ला जिल्लाबाट सुर्खेतका लागि परीक्षण उडान भर्न लागेको हो । क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख मानबहादुर चौधरीले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट फागुन ७ गतेबाट हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा पहिलो पटक नेपाल एयरलाइन्सले परीक्षण उडान भर्ने बताउनुभयो ।
बयरको व्यावसायिक खेती सुरु
मोरङको कानेपोखरी–३, हरकपुरमा नेपाल मै पहिलो पटक व्यावसायिक बयर खेती सुरु गरिएको छ । धरानका व्यवसायी विनोद अग्रवालले बयरको आयात उच्च भएको अध्ययन गरेपछि बयरको व्यावसायिक खेती सुरु गर्नुभएको छ । खास गरी सरस्वती पूजालगायतका चाडमा नेपालमा विभिन्न जातका बयरको आयात हुने गरेको छ । अग्रवालले आफ्नै पाँच बिघा जग्गामध्ये साढे चार बिघा खेतमा एक हजार बिरुवा लगाउनुभएको हो । जसमध्ये सात सय बिरुवाले उत्पादन दिन थालेका छन् । भारतको हरियाणाबाट प्रतिबिरुवा एक सय रुपियाँका दरले ल्याएका बिरुवा उहाँले गत वर्षको चैतमा रोप्नुभएको थियो । ती बिरुवाले रोपेको १० महिनामा उत्पादन दिन थालेका छन् ।
तीन करोड पचास लाखको रातो गुलाफको कारोबार
प्रणय दिवसका अवसरमा खपत हुने स्टिम गुलाफका लागि पनि भारतकै भर पर्नु पर्छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले प्रणय दिवसमा नेपालमा माग हुने स्टिम गुलाफमध्ये ९० प्रतिशत भारतको भर पर्नुपर्ने अवस्था रहेको जनाएको छ । फ्यानका अनुसार प्रणय दिवसमा तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेकोमा ३५ हजार गुलाफ स्वदेशमा उत्पादन हुन्छ भने बाँकी तीन लाख १५ हजार स्टिम गुलाफ भारतबाट आयात गर्नु पर्छ । फ्यानका अध्यक्ष मीनबहादुर तामाङले स्टिम गुलाफको मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ भारतबाट आयात गर्नु परेको बताउनुभयो ।