• १३ असोज २०८१, आइतबार

मार्क्सवाद र उत्तर आधुनिकतावाद कृति लोकार्पित

blog

पत्रकार तथा लेखक टीकाबहादुर बस्नेतको मार्क्सवाद र उत्तर आधुनिकतावाद पुस्तक लोकार्पण गरिँदै ।

गोकर्ण पौडेल

तुलसीपुर, माघ १४ गते । पत्रकार तथा लेखक टीकाबहादुर बस्नेतको मार्क्सवाद र उत्तर आधुनिकतावाद पुस्तकको एक समारोहबिच लोकार्पण गरिएको छ । शनिबार घोराहीमा आयोजित कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछाने र वाम विश्लेषक रोशन जनकपुरीले पुस्तकको लोकार्पण गर्नुभयो ।  

बिएन पुस्तक संसारका कार्यकारी निर्देशक सूर्य बिसीको अध्यक्षतामा कार्यक्रम भएको हो । पुस्तकको लोकार्पण गर्दै उपकुलपति प्रा.डा. लामिछानेले लेखनमा समाज झल्किनुपर्ने बताउनुभयो । मुलुकको परिवर्तनका लागि भूमिका खेलेका साहित्यकारले परिवर्तनलाई संस्थागत गर्न भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ । मार्क्सवाद विश्वको उत्कृष्ट विचारधारा भएको भन्दै उहाँले यसकै आलोकमा विश्वमा थुप्रै परिवर्तन सम्भव भएको चर्चा गर्नुभयो ।  

युवापुस्तामा पठन संस्कृति हराउँदै गएको सन्दर्भ केलाउँदै लामिछानेले मार्क्सवाद र उत्तरआधुनिकतावाद पुस्तकले युवापुस्तामा पठन संस्कृति विकास गर्ने विश्वास व्यक्त गर्नुभयो । ‘युवा पुस्तामा पठन संस्कृति हराइरहेको सन्दर्भमा लेखक बस्नेतले मार्क्सवादलाई सरल ढङ्गले बुझाउनेगरी पुस्तक प्रकाशन गर्नुभएको छ’ प्रा.डा. लामिछानेले भन्नुभयो,  ‘लेखनीमा खडेरी उत्पन्न भइरहेको समयमा समालोचना विधामा टीकाजीको प्रवेशले आशा दिलाएको छ । लेखनमा निरन्तरता दिन म आग्रह गर्दछु ।’

वाम विश्लेषक जनकपुरीले मार्क्सवाद र उत्तरआधुनिकतावाद विपरीत ध्रुवीय सिद्धान्त भएको बताउँदै पुस्तकले सजिलै भ्रमहरु चिर्नेमा विश्वास व्यक्त गर्नुभयो । उत्तरआधुनिकतावादी र उत्तरमार्क्सवादीहरुले मार्क्सवादलाई कमजोर बनाउने अभिव्यक्ति दिनेगरेकोतर्फ लक्षित हुँदै जनकपुरीले यसविरुद्धमा मार्क्सवादीहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । 

पुस्तकको समीक्षा गर्दै राप्ती साहित्य परिषद्का अध्यक्ष डा. टीकाराम उदासीले समालोचना विधाको विकासमा बस्नेतको कृतिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । समालोचना विधा चुनौतीको विधा भएको भन्दै उहाँले मार्क्सवाद र उत्तरआधुनिकतावाद पुस्तकका लेखक बस्नेतले समालोचकीय धर्म निर्वाह गर्नुभएको बताउनुभयो । 

सो अवसरमा दर्शनका अध्यता प्रमोद धितालले दर्शन र मार्क्सवाद बुझ्न चाहने पाठकका लागि कृति उपयुक्त भएको बताउनुभयो । कवि घनश्याम अस्तित्वले सहजीकरण गर्नुभएको कार्यक्रममा लेखक बस्नेतले लेखकीय मन्तव्य व्यक्त गर्नुभयो ।