• ५ असार २०८२, बिहिबार

जातीय विभेद अझै कायम रहेको गुनासो

blog

जातीय विभेद र छुवाछूत अन्त्यसम्बन्धी कार्यक्रमको समूहगत छलफलमा सहभागी वक्ता। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, असार ५ गते। ताप्लेजुङका दलित समुदायका अगुवाले समाजमा अझै जातीय विभेद र छुवाछूत कायम रहेको गुनासो गरेका छन्। दलित समुदायले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा विभेद र छुवाछूतको खेपिरहनु परेको अगुवाहरूले गुनासो गरेका हुन्।

जिल्लाको मेरिङ्देन गाउँपालिकाको प्रशासकीय केन्द्र सान्थाक्रामा बिहीबार आयोजित कार्यक्रममा अझै पनि समाजमा जातीय विभेद र छुवाछूत रहेको दलित अगुवाले बताएका हुन्। ‘जातीय छुवाछूत तथा विभेद अन्त्यका लागि मेरिङ्देन मिडिया सम्मेलन’ कार्यक्रममा दलित समुदायका अगुवा नेत्र नेपालीले समाज जातीय विभेद कायम रहेको बताउनुभयो।

मेरिङ्देन गाउँपालिका–६ नाल्बु निवासी नेपालीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा पनि जातीय विभेद र छुवाछूत कायम रहनु दुःखद भएको गुनासो गर्नुभयो। जातीय विभेद र छुवाछूत गर्न नपाइने संविधानमै व्यवस्था हुँदा र विभेद गरे सजाय हुने ऐन तथा कानुनी व्यवस्था भए पनि कार्यान्वयन नभएको उहाँले बताउनुभयो। विभेद र छुवाछूत अन्त्यका लागि समाजमा सचेतनाको आवश्यक र संविधान तथा कानुनले दिएको अधिकारको दायराभित्र सबै रहनुपर्नेमा उहाँले जोड दिनुभयो।

मेरिङ्देन ५ थुकिमाका स्थानीय धनकुमार खातीले पनि समाजमा जातीय विभेद र छुवाछूत कायम रहेको बताउनुभयो। ऐन तथा कानुन विपरीत विभेद र छुवाछुतजन्य व्यवहार गर्नेलाई कारबाही गर्नुपर्नेमा नियमक निकाय मुकदर्शन हुने गरेकोमा दुःख व्यक्त गर्नुभयो। त्यस्तै मेरिङ्देन २ सान्थाक्राका दलित युवा विराज खातीले पनि अझैसम्म जातीय विभेद र छुवाछूतको अन्त्य नभएकोमा दुःखेसो गर्नुभयो।

कार्यक्रममा सहभागी दलित समुदायका अगुवाले छुवाछूत र जातीय विभेद पहिलेजस्तो नभए पनि समाजमा विभेदजन्य व्यवहार अझै कायम रहेको उल्लेख गरेका छन्। नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा भएको करिब २० वर्ष भइसक्दा पनि अझै जातीय विभेद कायम रहनु दुःखद पक्ष भएको स्थानीय दलित समुदायका अगुवा सूर्यमान बराइलीले बताउनुभयो।

यता दलित समुदायका अगुवाले जातीय विभेद र छुवाछूत कायम रहेकाप्रति दुःखेसो पोख्दै गर्दा कार्यक्रमका प्रमुख वक्ता रहनुभएका कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गामले ऐन कानुनको व्यवस्था भन्दा पनि कार्यान्वयनको पाटो महत्त्वपूर्ण हुने बताउनुभयो। मन्त्री हाङ्गामले जातीय विभेद मात्र नभई अन्य विषयसम्बन्धी कानुनमा भएका व्यवस्थासमेत पूर्णरूपमा कार्यान्वयन नहुनु सकारात्मक पक्ष नभएको बताउनुभयो। 

मेरिङ्देनवासी भएको नाताले यहाँको दलितलक्षित कृषि, उद्यमसम्बन्धी योजनामा प्रदेशबाट बजेट विनियोजन गरेको उहाँले बताउनुभयो। दलित समुदायका लागि छुट्टै उद्यम सिर्जना गर्न साथै दलित समुदायको विकास र उन्नतिका लागि सधैं सहयोग गर्न तयार रहेको पनि प्रदेश मन्त्री हाङ्गामले बताउनुभयो। गाउँपालिका अध्यक्ष युकहाङबिर हाङ्गाम (डम्बर) ले पनि पालिकालाई छुवाछूत र विभेदमुक्त बनाउने अभियानमा आफू लागि परेको बताउनुभयो। दलित समुदायलाई नै लक्षित गरी छुवाछूत र जातीय विभेद कसरी अन्त्य गर्न सकिन्छ भनेर साझा छलफलका लागि मिडिया सम्मेलन आयोजना गरिएको उहाँको भनाइ छ।

मिडिया सम्मेलनमा कानुनमा छुवाछूत र विभेद, छुवाछूत र विभेद विषयमा धर्मगुरु, मेरिङ्देनमा जातीय विभेद र युवा पुस्ताले विभेद भोग्न नपरोस् भन्ने विषयमा छुट्टाछुट्टै प्यानल (समूह) बनाई छलफल गरिएको छ। समूहगत छलफलमा सम्बन्धित विषय र शीर्षकमा विज्ञ, अभियान्ता र जवाफदेही पक्षले आफ्नो धारणा राख्नुभएको थियो। उठेका सवालहरूमा जवाफदेही पक्ष, नियमक निकाय र सम्बन्धित विज्ञले जवाफ दिनुभएको थियो।

कार्यक्रमा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, गाउँपालिका उपाध्यक्ष दुर्गाप्रसाद सिरेङ चोङ्बाङ, ताप्लेजुङका प्रहरी प्रमुख वेदप्रसाद गौतम, जिल्ला कानुनी सहायता अधिकारी एवम् अधिवक्ता झरना आङ्देम्बे वक्ताको रूपमा सहभागी बन्नुभएको थियो। यस्तै वडाध्यक्षहरू, धार्मिक अभियान्ता, दलित युवा, शिक्षकलगायत वक्ता रहनुभएको थियो। जानकारी मिडिया प्रालिको सहजीकरण, जिल्ला प्रशासन कार्यालयको समन्वय र मेरिङ्देन गाउँपालिकाको आयोजनामा मिडिया सम्मेलन कार्यक्रम सम्पन्न गरिएको हो।