आँखा स्वास्थ्यको विषय विद्यालयको पाठ्यक्रममा समेट्नुपर्छ : विज्ञ
काठमाडौं, असोज २७ गते। आँखा स्वास्थ्यको विषय विद्यालयको पाठ्यक्रममा समेट्नु पर्नेमा विज्ञले जोड दिएका छन्। विश्व दृष्टि दिवसको अवसरमा स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै व्लाइन्ड वोमेन एसोसिएशनका सल्लाहकार मिरा अधिकारीले शिक्षा नै सबै भन्दा ठूलो भएकोले आँखाको प्राथमिक उपचार बारे विद्यालय तहको पाठ्यक्रममै समावेश गर्नु पर्नेमा जोड दिनुभयो। आफूले सात वर्षको उमेरमा आँखा गुमाएको जिकिर गर्दै उहाँले आम अभिभावक पनि आँखा स्वास्थ्यको विषयमा सचेत र चनाखो हुनुपर्ने उल्लेख गर्नुभयो। कार्यक्रममा विभागका महानिर्देशक डा. दिपेन्द्ररमन सिंहले स्वास्थ्य शिक्षा साक्षरता बढाउनु आवश्यक रहेको बताउनुभयो। उहाँले आँखा स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति थपिदै गएको भन्दै यसको व्यवस्थापनतर्फ जोड दिनु पर्ने बताउनुभयो।नेपालमा सन् २०१९ को सर्वेक्षणले सन् १९८१ को तुलनामा अन्धोपन तथा दृष्टि दोषको अनुपातमा कमी आएको छ। सन् १९८१ मा ०.८४ प्रतिशत अन्धोपन सन् २०२२ सम्म आइपुग्दा अन्धोपनको स्थिति ०.२८ प्रतिशतमा झरेको छ। तिलगंगा आँखा प्रतिष्ठानकी कार्यकारी निर्देशक डा. रिता गुरुङले अन्धोपन नेपालमा घटे पनि मोतियाविन्दु, चस्मासम्बन्धि दृष्टि दोष, जल विन्दु, मधुमेहबाट आँखामा पर्ने असर उमेरका कारण दृष्टि पर्दामा पर्ने असर आदि बढ्दो चुनौतीको रुपमा देखिएकोे बताउनुभयो। नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्रा. डा. चेतराज पन्तले नेपालमा आँखा अस्पताल र जनशक्ति प्रयाप्त भए पनि उपचारका लागि बिरामी आउन नसकेको बताउनुभयो। उहाँले यसका लागि जनचेतना बढाउने र उपचारको पहुँच बढाउने योजनामा राज्यको नीति हुनुपर्नेमा जोड दिनुभयो। मन्त्रालयका नीति तथा अनुगमन शाखाका प्रमुख डा. गुणनिधि शर्माले प्राथमिक आँखा उपचार सेवा कार्यक्रमलाई प्रभावकारी बनाउन राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिको मस्यौदाका लागि राय सुझाव लिइरहेको जानकारी दिनुभयो। रणनिती बनेपनि कार्ययोजना बनाएर अगाडी बढ्ने मन्त्रालयको योजना रहेको उहाँले बताउनुभयो। विश्व स्वास्थ्य संगठनको आकडा अनुसार विश्वमा झण्डै दुई अर्ब २० करोड मानिसमा दृष्टि सम्बन्धि समस्या रहेको छ भने झण्डै एक अर्ब अझै पनि आँखा सेवाबाट वञ्चित रहेका छन्। आईएपीवीका दक्षिणपूर्वी एशिया संयोजक युद्धध्वज सापकोटाले नेपालमा वार्षिक करिब चार लाख व्यक्तिको मोतियाविन्दु शल्यक्रिया गर्नु पर्ने भए पनि १ लाख ५० हजार व्यक्तिको मात्रै शल्यक्रिया हुने गरेको भन्दै दीगो विकासका लक्ष्य हालिस गर्नका लागि चुनौती रहेको बताउनुभयो। आँखा स्वास्थ्यका कारण विश्वमा वार्षिक ४११ अर्ब डरल उत्पादकत्वमा घाटा हुने गरेको ल्यान्सेटमा प्रकाशित एक अनुसन्धानले देखाएको दाबी उहाँले गर्नुभयो। उहाँले आँखाको उपचारमा २४ अर्ब डलर मात्रै खर्च गरे सो घाटा पूर्ति हुने बताउनुभयो।अक्टोर १३ अर्थात् विश्व दृष्टि दिवस मनाइएको छ। “आँखा माया गरौँ” भन्ने मुख्य नाराका साथ विश्व दृष्टि दिवस मनाइएको छ। सन् १९९८ सालदेखि हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाउदै आएको छ।
राजनीतिमार्फत जनताको सेवा गर्ने पूर्व सुरक्षा प्रमुखको लक्ष्य
पछिल्लो समय पूर्व प्रहरी कर्मचारीहरू अवकाश पछिको समय राजनीतिमा लगाउन थालेका छन् । हरेक क्षेत्रलाई राजनीतिले गाँज्न थालेपछि पूर्व सुरक्षा प्रमुखहरू पनि यस क्षेत्रमा तानिनुभएको हो । देशको विकृत राजनीतिलाई सही बाटोमा लग्ने र देश र जनताको सेवामा समर्पित हुने प्रतिबद्धता उहाँहरूको छ ।
दोलखामा चुनावी चहलपहल सुरु
आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयनसँगै दोलखामा चुनावी चहलपहल सुरु भएको छ । राजनीतिक दलहरूले निर्वाचन क्षेत्रस्तरमै भेला, बैठक र चुनाव केन्द्रित गतिविधि सुरु गरेका छन् भने कतिपय उम्मेदवारले घरदैलो सुरु गरिसकेका छन् ।
सत्यमोहन जोशीलाई पुनः आईसीयूमा सारियो
शताब्दीपुरुष सत्यमोहन जोशीलाई सघन उपचार कक्ष (आईसीयू)मा सारिएको छ।
आयात रोकिएन, चितवनका केराले बजार पाएन
भरतपुर–२३ को जगतपुरमा रहेको यज्ञप्रसाद सुवेदीको बगानमा केरा बोटमै पाकेका छन् । भारतीय केराको आयात नरोकिँदा उहाँको बगानमा पाकेका केरासमेत सजिलै बिक्री भएका छैनन् ।
चितवनमा त्रिपालमुनि कैदीबन्दी
चितवनमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या पर्दै आएको छ । कारागार कार्यालय चितवनमा अहिले क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण रात कटाउनका लागि कैदीबन्दीले त्रिपालको साहरा लिनुपरेको छ ।
प्रत्यक्षमा महिला उम्मेदवार
सिन्धुपाल्चोक जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा प्रत्यक्षमा महिला उम्मेदवारहरू प्रतिस्पर्धा गर्दै छन्। नेपाली कांगे्रसले प्रदेश सभा सदस्यमा प्रतिनिधि सभा क्षेत्र नम्बर १ को (क)मा सामाजिक क्षेत्रबाट राजनीतिमा आएकी मनकुमारी खड्का (मसिना)लाई उम्मेदवार बनाएको छ।
सेवाग्राहीलाई निःशुल्क पेय सुविधा
सिन्धुली जिल्लाका दुईवटा स्थानीय तहले नागरिकमैत्री सेवा प्रवाहलाई थप चुस्तदुरुस्त बनाउन नयाँ कार्य सुरु गरेका छन्। जिल्लाका मरिण गाउँपालिका र दुधौली नगरपालिकाले कार्यालयभित्रै सेवाग्राहीलाई चिया, पानी र सर्वत उपलब्ध गराएर सहज सेवा प्रवाह गर्न सुरु गरेका हुन्। मरिण गाउँपालिकाले कार्यालयमा प्रवेश गर्ने मूल गेटअगाडि सेवाग्राही सहायता कक्ष स्थापना गरी सर्वत र चिया व्यवस्था गरेको छ।
नागरिकता बनाउनेको भीड
जिल्ला प्रशासन कार्यालय दोलखामा नागरिकता बनाउनेको भीड बढेको छ । जिल्ला प्रशासन कार्यालय दोलखाका प्रशासकीय अधिकृत औलाखबहादुर आलेले नागरिकतामा रहेको विवरण धमिलो वा फोटो स्पष्ट नभएमा स्क्यानरले लिन मान्दैन त्यसैले नयाँभन्दा पनि प्रतिलिपि लिन आउनेको सङ्ख्या बढी भएको बताउनुभयो । अहिले दिनमा सयभन्दा बढी नागरिकता बनाउन आउने गरेको उहाँको भनाइ छ ।