• १५ असार २०८१, शनिबार

विआरआई कार्यान्वयन योजनामा हस्ताक्षर हुने

blog

चीनका उपविदेशमन्त्री सुन वेइतोङ र उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ ।

गोरखापत्र अनलाइन

काठमाडौं, असार १२ गते । नेपाल र चीनबिच बिआरआई कार्यान्वयन योजनामा छिट्टै हस्ताक्षर हुने भएको छ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका चीनका उपविदेशमन्त्री सुन वेइतोङ र उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठबिच परराष्ट्र मन्त्रालयमा बुधबार बिहान भएको भेटघाटका क्रममा बिआरआईको योजनालाई जतिसक्दो चाँडो अन्तिम रूप दिई हस्ताक्षर गर्ने सहमति जुटेको हो । 

चीन भ्रमणमा जाने नेपालीलाई निःशुल्क भिसा उपलब्ध गराउने चीनको निर्णयको स्वागत गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपाल चीन सीमामा रहेका परम्परागत १४ ओटा नाका हालसालै सुचारु भएकोमा खुसी व्यक्त गर्नुभयो । नेपाल र चीनबिचमा ऐतिहासिक एवं समस्यारहित सम्बन्ध रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपालको आर्थिक एवं सामाजिक विकासका लागि चीनले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो । 

उक्त अवसरमा हालै सम्पन्न नेपाल–चीन परामर्श संयन्त्रको १९ औँ बैठकद्वारा परराष्ट्र मन्त्री स्तरीय संयन्त्र बनाउने सम्बन्धमा भएको निर्णयबारे उपप्रमले खुसी व्यक्त गर्नुभयो । चीनका उपविदेशमन्त्री सुनले नेपालको एक चीन नीतिको प्रशंसा गर्नुभयो । उहाँले नेपालको आर्थिक तथा सामाजिक विकासका लागि चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल र चीनबिच क्षेत्रीय एव. विश्वस्तरीय कैयौँ मुद्दामा समान धारा रहेको उल्लेख गर्दै उपविदेशमन्त्री सुनले नेपाल र चीनबिच मित्रता र आपसी सहयोग रहेको र कुनै पनि प्रकारको असहमति नरहेको उल्लेख गर्नुभयो । भेटवार्तामा दुई देशबिचको आपसी हित तथा सहयोगका विविध विषय एवं क्षेत्रबारे छलफल भएको थियो । नेपालको औपचारिक भ्रमण सकेर चीनका उपविदेशमन्त्री सुन आजै स्वदेश फिर्ता हुनुभएको छ ।