कर्णालीमा औलो : ३२ बिरामी, छ स्थान उच्च जोखिममा
कर्णाली प्रदेशमा पर्ने भित्री मधेसबाट हिमाली भेगसम्म औलो रोगको सङ्क्रमण रहेको पाइएको छ । आर्थिक वर्ष २०७८÷७९ प्रदेशमा यो रोगका ३२ बिरामी र यहाँका विभिन्न स्थानीय तहका छ वडा उच्च जोखिममा छन् । स्वास्थ्य सेवा निर्देशनालयका किटजन्य रोग नियन्त्रण अधिकृत श्यामलाल आचार्यका अनुसार हुम्लाको ताजाकोट गाउँपालिका वडा नं २, ३ र ४, मुगुको खत्याड गाउँपालिका वडा नं ८ र १० तथा कालिकोटको खाँडाचक्र नगरपालिका वडा नं २ औलो रोगको उच्च जोखिममा रहेका स्थानमा पर्दछन् । मध्यम जोखिममा हुम्लाको अदानचुली गाउँपालिका वडा नं २ र ५, चङ्खेली गाउँपालिका–२, सर्केगाड गाउँपालिका–२, ताजाकोट गाउँपालिका–२, सुर्खेतको भेरीगङ्गा नगरपालिका–७, वीरेन्द्रनगर नगरपालिका–१०, गुर्भाकोट नगरपालिका–१३, लेकबेँसी नगरपालिका–७ र १०, पञ्चपुरी नगरपालिका–९ रहेका छन् ।
स्थानीय तह निर्वाचन : आठ जिल्लामा गठबन्धन
स्थानीय तहको निर्वाचनका लागि सोमबार राजनीतिक दलहरूले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । आइतबार र सोमबार मनोनयन गर्ने दुई दिन भए पनि आवश्यक सहमतिका लागि भन्दै राजनीतिक दलहरूले सोमबार मात्रै उम्मेदवारको मनोनयन दर्ता गराएका हुन् । आइतबार केही स्वतन्त्र र साना दलले मात्रै उम्मेदवारी दर्ता गराएका थिए ।
रुकुम पूर्वमा राप्रपाद्वारा गाउँपालिका र वडाअध्यक्षमा उम्मेदवारी दर्ता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुकुम पूर्वको सिस्ने गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
चौरजहारीमा माओवादी केन्द्रका उम्मेदरवारद्वारा उम्मेदवारी दर्ता
स्थानीय तह निर्वाचनअन्तर्गत रुकुम पश्चिमको चौरजहारीमा नेकपा माओवादी केन्द्रले उम्मेदवारी दर्ता गराएको छ ।
कर्णालीमा सत्तासाझेदार दल सहमतिको अन्तिम प्रयासमा
कर्णालीमा शनिबार बेलुकासम्म छ जिल्लामा सत्तासाझेदार दलहरूबीच तालमेल गरेर चुनावी प्रतिस्पर्धामा जाने टुङ्गो लागेको छ । नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश अध्यक्ष बिमला केसीका अनुसार हुम्ला, मुगु, डोल्पा, जाजरकोट, दैलख र सल्यानमा गठबन्धन दलबीच तालमेल गरेर जाने गरी सहमति भएको छ । बाँकी जिल्लाको भागबण्डा मिलाउन सहमतिको लागि अन्तिम प्रयास भइरहेको छ ।
आचारसंहिता पालनामा दलबीच आशङ्का
स्थानीय तहको निर्वाचनमा आचारसंहिता पालनामा सुर्खेतस्थित राजनीतिक दलले एक अर्काप्रति आशङ्का गर्ने गरेका छन् । साना दलले ठूला दलमाथि आचारसंहिता उल्लङ्घन बढी गर्ने गरेको आशङ्का गरेका छन् भने ठूला दलले निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी तटस्थ नहुने गरेको भन्दै आशङ्का गरेका हुन् ।
कर्णाली प्रदेश लोकसेवा आयोगद्वारा परीक्षा सञ्चालन
कर्णाली, वैशाख ११ गते । मुलुकमा सङ्घीयता संरचना कार्यान्वयमा आएपछि कर्णाली प्रदेश लोकसेवा आयोग सुर्खेत पहिलोपटक आयोगको परीक्षा सञ्चालन गरेको छ । आयोगले शनिबार विविध सेवाअन्तर्गत खुला तथा समावेशी सहायकस्तर पाँचौँ तहको महिला विकास निरीक्षक पदको परीक्षा सञ्चालन गरेको हो ।प्रदेश लोकसेवा आयोग ऐन, २०७५ को दफा ३ बमोजिम गठित आयोगले खोलेको महिला विकास निरीक्षक पदको ५१५–५१६/०७८/०७९ को विज्ञापनअनुसार खुलामा आठ र महिलातर्फ एक गरी नौ कर्मचारी माग गरेको थियो । सो विज्ञापनअनुसार शनिबार सञ्चालित परीक्षामा दुई हजार १९७ परीक्षार्थी सम्मिलित भएको आयोगका सचिव भूपेन्द्र थापाले जानकारी दिनुभयो ।“परीक्षा मर्यादित वातावरणमा सम्पन्न भएको छ”, उहाँले भन्नुभयो, “प्रदेश निजामती तथा स्थानीय सेवाअन्तर्गत भएको परीक्षा सञ्चालनका लागि ११ परीक्षा केन्द्र व्यवस्था गरिएको थियो ।” तीमध्ये ११ केन्द्राध्यक्ष, ८७ सहायक केन्द्राध्यक्ष र ११९ निरीक्षकको परिचालन गरिएको उहाँले बताउनुभयो ।आयोग अध्यक्ष रामप्रसाद उपाध्यायले सङ्घीयताको इतिहासमा पहिलोपटक परीक्षा सञ्चालन गर्ने अवसरले आयोग परिवारलाई गौरवान्वित तुल्याएको बताउनुभयो । आफ्नै सरकारअन्तर्गत गठित प्रदेश लोकसेवा आयोगले सञ्चालन गरेको परीक्षाले परीक्षार्थीहरूलाई सङ्घीयताको अनुभूति गराएको उहाँको भनाइ थियो ।आयोगले सञ्चालन गरेको महिला विकास निरीक्षकको परीक्षामा सहभागी हुन पाउँदा निकै खुशी लागेको परीक्षार्थी शिवा शाहीले जानकारी दिनुभयो ।
आगलागीबाट चार बालबालिकाको मृत्यु
कर्णाली, बैशाख १० गते । तिला गाउँपालिकाका–३ जुम्ला कुडारी सार्कीवाडा गाउँमा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ ।आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ । मृत्यु हुनेमा सार्कीका छोरीहरु ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख नायब उपरीक्षक नरेन्द्र चन्दले राससलाई जानकारी दिनुभयो । “आगलागीबारे राति ११ः४५ बजे हामीलाई जानकारी भयो”, प्रहरी नायब उपरीक्षक चन्दले भन्नुभयो, “सूचना पाउने बित्तिकै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईसहितको टोलीले त्यहाँ पुगेर आगो नियन्त्रणमा लियो ।” आगलागीबाट घरको दोस्रो र तेस्रो तला पूर्णरुपले क्षति भएको उहाँले बताउनुभयो ।आगलागीका कारण बेहोस भएका मानसिं र उहाँकी श्रीमती फागुनी तथा बहिनी रुन्चकलीलाई उपाचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । मृतक चारै बालबालिकाको शव परीक्षणका लागि प्रतिष्ठानमा ल्याउँदै गरेको उहाँले जनाउनुभयो । घटना कसरी भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
किवीले पराई देश विर्सायो मान्मबासीलाई
विशाल सुनारदैलेख (दुल्लू) वैशाख, ८ गते । भैरवीगाउँपालिका–७ मान्म गाउँका बासिन्दा जीवनयापनको लागि गाउँ नै खाली गरेर मान्मबासी भारत जान्थे । भारतमै ६ महिना मजदुरी गरेर परिवारलाई जिउ ढाक्ने एकसरो कपडा र केही रकम ल्याएर गाउँ फर्किन्थे । त्यतिबेला गाउँ पुरुषविहिन हुन्थ्यो । न्वारन, व्रतबन्ध, विवाह, मलामी एवं सामाजिक काम महिलाले गर्नु पर्ने बाध्यता थियो । तीन बर्ष यता मान्मगाउँको दिनचार्य सँगै पहिचान समेत बदलिएको छ । दोलखाको नासो ल्याएको किवीको बोटले मान्मबासीलाई किवी खेतीतिर तानेको छ । जीवनयापनका लागि मुग्लान जाने मान्मबासी आजभोली गाउमै बसी आम्दानी गर्न थालेका छन् । गाउँमा आम्दानी हुन थालेपछि पुरुषले मुग्लान जान छोडेका हुन् । गाउँमै तरकारी र किवी खेतीबाट आम्दानी गर्न थालेका छन् । गहुँबारीले गराहराभरा भएपनि भन्ने जसो उत्पादन हुदैन थियो । जीवनयापनका लागि मान्म बासी मजदुरीका लागि मुग्लान जानु बाहेक अर्को विकल्प थिएन ।चार बर्षअघि मान्म गाउँका विष्णुप्रसाद कँडेल किवीखेतीको तालिम लिन दोलखा पग्नु भयो । पाँच दिनको तालिम सकाएर किवीका ९ बोट सँगै लिएर गाउँ फर्किनु भयो । त्यही किवीको बोटबाट सुरु गरिएको किवी खेती आजभोली गाँउ भरि फैलिएको छ । गहुँबाली लगाउने ठाउँमा किवीखेती गर्न थालेका छन् । किवी खेतीले आम्दानी बढाउनुका साथै मुग्लान जाने मान्मबासीलाई गाउँमै बस्न बाध्यता बनाएको विष्णुप्रसाद कँडेलले बताउनुभयो ।‘पहिले आम्दानी हुदैन भनेर गाउँका पुरुष देश जाने गर्थे । किवीले राम्रो उत्पादन दिएर आम्दानी दिएपछि पराई देश विरानो बन्दै गएको छ’, उहाँले भन्नुभयो । मजदुरीका लागि पराईदेश जाने मात्र होइनन् किवी खेतीले राम्रो उत्पादन दिएपछि शिक्षक पेशा छोडेर सोही ठाउँका राजेश कँडेलले पनि किवी खेती सुरु गर्नुभएको छ । ‘शिक्षक पेशाभन्दा किवी खेती नै राम्रो लागेर मैले जागिर छोडेर फर्ममा किविको वेर्ना बनाएर आम्दानी गरेको छु । सबै किसान सँग भेटघाट हुन्छ,शिक्षक पेशा भन्दा मलाई कृषि पेशा नै राम्रो लागेको छ,’ उहाँले भन्नुभयो । मान्मबासीका लागि नौलो फल बनेको किवी आजभोली आर्कषण मात्र नभएर आम्दानीको राम्रो स्रोत वन्न पुगेको छ । मान्म गाउँमा किवी नलगाएको घर भेट्टाउन अहिले मुस्किल पर्छ । एक जना किसानले बारीमा ५० देखि ६ सय किवीका विरुवा रोपेका छन् । गाँउका २२ घरधुरीहरुले करिव ३ सय रोपनी क्षेत्रफलमा किवी खेती सुरु गरेका छन् । किवी सँगै ओखर, एभोगाडो, कटुस, अलैचीका नर्सरी समेत राखेर व्यवसायमा होमिएका छन् । कृषि विकास कार्यालय दैलेखले दिएको जानकारी अनुसार संघीय सरकारको सशर्त अनुदान कार्यक्रम अन्र्तगत दैलेखका ९ वटा स्थानीय तहका १३ वटा स्थानमा १८ हेक्टर क्षेत्रफलमा किवी खेतीलाई प्रवद्र्धन गरिएको छ । कृषि कार्यालय मार्फत थप अनुदानको कार्यक्रम समेत लागू गरिएको कृषि कार्यालय दैलेखका नरेन्द्रबहादुर थापाले जानकारी दिनुभयो । दैलेखको हावापानी किवी उत्पादनको लागि उपयुक्त मानिन्छ । बजारीकरणको लागि दैलेख बजार, सुर्खेत, नेपालगन्ज हुँदै भारतको लखनाउसम्म किवीको बजार छ । उपयूक्त हावापानी र बजारको सम्भावना भएको किवी खेती गर्ने किसानहरुलाई क्षमताअभिवृद्धिको तालिम सहित स्रोत साधन सम्पन्न गराउन सके आम्दानी र जीवनयापनका लागि थप सहयोग पुग्ने देखिन्छ ।