६३५ घरेलु उद्योग दर्ता
घरेलु तथा साना उद्योग कार्यालय लमजुङमा ६३५ वटा घरेलु उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि वैशाख महिनाको अवधिमा सो सङ्ख्यामा घरेलु उद्योग दर्ता भएका कार्यालय प्रमुख मीताकुमारी थापाले बताउनुभयो ।
चन्द्रकोटका कृषकलाई कृषि औजार
रमेश विश्वकर्मागुल्मी, जेठ १४ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाका कृषकहरुलाई कृषि औजार वितरण गरिएको छ । गाउँपालिकाका गाउँपालिका अध्यक्ष युवराज केसी, कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीलगायतले एक औपचारिक कार्यक्रमकाबीच उक्त औजारहरु वितरण गर्नुभएको हो । औजारहरु वितरण गर्दै गाउँपालिकाका अध्यक्ष केसीले कृषिको माध्यमबाट नै गाउँपालिकालाई समृद्ध बनाउन सकिने भएकाले आधुनिक कृषितर्फ लाग्नुपर्ने बताउनुभयो । उहाँले कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण गरी आर्र्थिक आय–आर्जन वृद्धि गर्ने सकिने उल्लेख गर्नुभयो । आगामी दिनमा पनि सबै कृषकलाई पुग्नेगरी औजार वितरण गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । गाउँपालिकामा आ.व.२०७७/०७८ देखि शुरु भएको स्मार्ट कृषि गाउँ कार्यक्रमलाई निरन्तरता दिँदै प्रदेश सरकार र चन्द्रकोट गाउँपालिकाको संयुक्त साझेदारीमा गाउँपालिका भित्रका वडाहरु ३, ४ र ६ मा लागू भइरहेको छ । चक्रेश्वर स्मार्ट कृषि बाख्रा तथा तरकारी पकेट समूह गठन भई समूहमा कार्यक्रम सञ्चालनमा आएकोमा चालू आ.व.को प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत कृषकहरुलाई मिनी टीलर, च्याप कटर, तौल मेसिन, सिंचाई पाईप, दाना खुवाउने डुडलगायतका औजार उपकरणहरु वितरण गरिएको हो ।
प्रदेश सरकारको नीति तथा कार्यक्रम : पूर्वपदाधिकारीलाई सुविधा दिन विधेयक
गण्डकी प्रदेश सरकारले पूर्वपदाधिकारीलाई सुविधा दिने गरी कानुन निर्माण गर्ने भएको छ । सरकारका प्रवक्ता कुमार खड्काले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा सो कुराको जानकारी दिनुभएको हो ।
सुध्रिएन बेनी–भकुण्डे सडकको अवस्था
म्याग्दीको बेनी नगरपालिकाको प्रवेशद्वारदेखि नगरपालिका–२ भकुण्डेचौरको वडा कार्यालयसम्म जोड्ने मोटरबाटोको ट्र्याक खुलेको १४ वर्ष भयो । विसं २०६५ मा ट्र्याक खुलेको सात किलोमिटर दूरीको यो सडक स्तरोन्नति नहुँदा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।
सिमान्तकृत समुदायका उपप्रमुख दरैको समुदायको शैक्षिक स्तर उकास्ने धोको
अमरराज नहर्की तनहुँ, जेठ १३ गते । स्थानीय तहको निर्वाचनमा तनहुँमा सिमान्तकृत तथा अल्पसङ्ख्यक समुदायबाट एक महिला उपप्रमुख बन्नुभएको छ । नेपाली काँग्रेसको उम्मेदवार इन्दिरा दरै अत्याधिक मत ल्याई उपप्रमुख बन्नुभएको हो । दरै उपप्रमु्ख बनेपछि सिमान्तकृत समुदायको आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रमा फड्को मार्ने विश्वास लिइएको छ । उहाँले एमालेका बसुन्धरा घर्तिले भन्दा ३ हजार ४५६ मत प्राप्त गर्नुभएको थियो । उहाँले १३ हजार ४९८ मत प्राप्त गर्नुभयो भने घर्तिले दश हजार ४२ मत प्राप्त गर्नुभएको छ । उपप्रमुख दरैले आर्थिक कठिनाई भएर पढ्न नपाएका बालबालिकाहरुलाई पठनपाठनमा सहयोग गर्ने बताउनुभएको छ । ‘शिक्षाको उज्यालो घामबाट कोही पनि बालबालिका बञ्चित नहोस् भनेर विद्यालयमा भर्ना गराई पठनपाठनमा सहयोग पु¥याउने आफ्नो पहिलो लक्ष्य रहेको छ’ उहाँले भन्नुभयो । घरेलु हिंसापीडित महिलाको उद्धारमा टेवा पु¥याउने उहाँको भनाइ छ । व्यास नगरपालिकाको १४ वटै वडामा पुग्दा महिलाले भोग्नु परेको खानेपानी समस्याको समाधानका लागि बजेट विनियोजनाको लागि पहल गर्ने उहाँले बताउनुभयो । महिलाको क्षमता र नेतृत्व विकासका लागि समेत कटिबद्ध भएर लाग्ने उहाँको प्रतिबद्धता राख्नुभयो ।
१५ रोपनी क्षेत्रफलमा लगाइएको अफिम नष्ट
हिमाली जिल्ला म्याग्दीको प्रहरीले जिल्लाको पश्चिम भेकको विभिन्न स्थानमा १५ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती पछिल्लो २० दिनको अवधिमा नष्ट गरेको छ ।
६४ जनाको आँखाको शल्यक्रिया
बेलिना थापा लमजुङ, जेठ १२ गते । हिमाली जिल्ला मनाङको चामेमा सञ्चालन गरिएको आँखा शिविरमा ६४ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।मनाङको सदरमुकाम चामेस्थित सामुदायिक आँखा केन्द्रमा सञ्चालित शिविरमा मङ्गलबार र बुधबार गरी ६४ जनाको आँखाको शल्यक्रिया गरिएको हो । ६३ जनाको मोतियाबिन्दुको अत्याधुनिक तरिकाबाट शल्यक्रिया गरिएको छ । एक जनाको आँखामा मासु पलाएकाले शल्यक्रिया गरिएको छ ।शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौंका कार्यकारी निर्देशक वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतको नेतृत्वमा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंका ११ जना प्राविधिक र अन्य स्वास्थ्यकर्मी शिविरमा खटिएका थिए । डा= रुइतले ६४ जना वृद्धवृद्धाका आँखाको शल्यक्रिया गर्नुभएको थियो । आँखा शिविरमा चारै गाउँपालिकाका नागरिक आएका थिए ।विकट नार्पाभूमि गाउँपालिकाको नारगाउँबाट दुई दिन हिँडेर सेवा लिन आएका थिए । आँखासम्बन्धी सेवा कहिल्यै नपाएका नागरिक पनि आएका थिए । चामे गाउँपालिकासँगै नासो गाउँपालिका मनाङ ङिस्याङ गाउँपालिकाका नागरिक पनि लाभान्वित भएका छन् । तिलगङ्गा आँखा प्रतिष्ठान, तेज कोहली एण्ड रुइत फाउन्डेशन र सामुदायिक आँखा केन्द्र मनाङको आयोजनामा सञ्चालित शिविरमा करिब नौ सयजनाको आँखा परीक्षण गरिएको थियो । एक सातासम्म गाउँगाउँ पुगेर आँखा जाँच गरिएको थियो । आँखा परीक्षणपछि शल्यक्रिया गर्नुपर्ने आँखाका बिरामीको चामेमा शिविर सञ्चालन गरेर आँखाको शल्यक्रिया गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानका बाह्य कार्यक्रम अधिकृत नामखेन लामाका अनुसार शल्यक्रियाका लागि लमजुङ र गोरखाबाट बिरामी आएका थिए ।मनाङमा पहिलो पटक बहत् आँखा शिविर सञ्चालन भएको हो । स्थानीयले पहिलो पटक यस्ता खाले शिविर पाउँदा खुसी व्यक्त गरेका छन् । शिविरमा शल्यक्रियापछि बिरामीलाई गाउँगाउँमा पु¥याउन भ्राकाका कालु घलेले सहजीकरण गर्नुभएको छ । चामेको आमा समूहले अन्य सहजीकरण गरेको थियो ।
तनहुँमा दुई दलित उम्मेदवार बने उपप्रमुख
अमरराज नहर्की तनहुँ, जेठ १२ गते । स्थानीय तहको निर्वाचनमा तनहुँमा दलित समुदायबाट दुई जना उपप्रमुखमा निर्वाचित हुनुभएको छ । एक नेपाली कांग्रेस र अर्को माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बन्नुभएको व्यक्ति उपप्रमुख बन्न सफल हुनुभएको हो । भानु नगरपालिकामा काँग्रेसका उमा गोतामे र शुक्लागण्डकी नगरपालिकामा माओवादी केन्द्रका राजु विश्वकर्मा उपप्रमुखमा विजयी हुनुभएको हो । दलित समुदायबाट पालिकाको प्रमुखमा भने शुन्य रहेको छ । नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका गोतामे झण्डै दोब्बर मत ल्याई निर्वाचित हुनुभयो । गोतामेले १० हजार ५४७ मत ल्याएर विजयी हुनुभयो भने उहाँको निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेद्वार केशरबहादुर गुरुङले पाँच हजार ८१७ मत प्राप्त गर्नुभयो । सीप विकास तालिम प्रदान गरी महिलालाई स्वरोजगारबाट आत्मनिर्भर बनाउने, दलित, सिमान्तकृत समुदायको महिलालाई नेतृत्व विकासको तालिम दिने, अध्ययनमा समस्या भएका विपन्न अभिभावकका बालबालिकालाई मद्दत गर्नेलगायतलाई प्राथमिकतामा राखिएको गोतामे बताउनुहुन्छ । साथै, उहाँले दलित तथा पिछडिएको वर्गलगायतको हितमा काम गर्ने बताउनुभएको छ । यस अघि उहाँ स्थानीय तहको निर्वाचनमा भानु नगरपालिका–५ को वडा सदस्य भई काम गर्नुभएको थियो । जिल्ला समन्वय समिति तनहुँका सदस्य अर्जुनबहादुर अधिकारीले गोतामे गण्डकी प्रदेशमै दलित महिलाबाट उपप्रमुख बन्ने एक मात्र महिला भएको बताउनुभयो । दलित समुदायबाट उपप्रमुखमा गोतामेलाई काँग्रेसले उम्मेवार प्रमुखलाई समेत मत धेरै प्राप्त भएको अधिकारीले बताउनुभयो । ‘दलित महिलालाई अवसर दिएपछि अधिकांश समुदायले प्रमुख तथा उपप्रमुख दुवैलाई भोट दिएकाले दुवैले अत्याधिक मत ल्याएर विजयी हुनुभयो’ अधिकारीले भन्नुभयो । शुक्लागण्डकी नगरपालिकाको उपप्रमुखमा विकले १० हजार २६२ मत ल्याएर विजयी हुनुभयो । विकको निकतम प्रस्तिपर्धी एमालेका फुलमाया वाग्लेले नौ हजार ९५७ मत पाउनुभयो । उपप्रमुख विक विकासमा पछि परेको समुदाय, भूगोललाई प्राथमिकता दिएर बजेट विनियोजनको लागि पहलकदमी गर्ने बताउनुहुन्छ । यस अघिको वि.सं २०७४ को निर्वाचनमा दलित समुदायबाट शुक्लागण्डकीको नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएका सविता रसाइली उपप्रमुखमा विजयी हुनुभएको थियो ।
नवलपुरमा एमाले पहिलो र कांग्रेस दोस्रो
स्थानीय तह निर्वाचन–२०७९ पछि पूर्वी नवलपरासीमा नेकपा (एमाले) पहिलो पार्टी बनेको छ । आठ स्थानीय तहका ९२ वडा रहेको नवलपुरमा एमालेले २६० पदमा जित हासिल गरेको छ ।