एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै
काठमाडौं, वैशाख ५ गते । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले) ले जारी गर्ने घोषणापत्र र प्रतिबद्धतापत्र तयारीका लागि पार्टी निकट नेपाल बुद्धिजीवी परिषद्ले जिल्ला र पालिकास्तरमा सहजीकरण गरेको छ ।एमालेले यही वैशाख ९ गते एकै दिन राष्ट्रियस्तरमा घोषणापत्र र सबै पालिकास्तरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ । परिषद्ले राष्ट्रिय कार्यशाखा आयोजना गरी प्रतिबद्धतापत्र तयारीका संयोजनका लागि हरेक पालिकाका लागि दुई दुई जनालाई प्रशिक्षण दिएको थियो । प्रशिक्षण प्राप्त परिषद्का सदस्यले पालिकास्तरमा सम्बन्धित कमिटीसँगको समन्वयमा काम गरिरहेको परिषद्का महासचिव गजेन्द्र थपलियाले जानकारी दिनुभयो ।गत चैत १३ गते सम्पन्न एमाले स्थायी कमिटीको बैठकले घोषणापत्रमा सुझाव दिन सुझाव माग्ने निर्णय गरेको थियो भने चैत १६ गते अध्यक्ष केपी शर्मा ओलीले सबै पालिकाका नेता कार्यकर्तालाई भर्चुअलरुपमा सम्बोधन गर्नुभएको थियो । घोषणापत्र मस्यौदाका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा समिति गठन गरिएको छ ।यसैबीच निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रिया र घोषणात्रबारे छलफल गर्न एमाले केन्द्रीय सचिवालयको बैठक सोमबार बेलुका ६ बजे बस्दैछ ।
तालमेल अलमलमा, गठबन्धनमा जुटेन सहमति
आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गरेर जान सहमत भएका सत्तारूढ दलहरूबीच मकवानपुरमा अझै सहमति जुट्न सकेको छैन । गठबन्धनमा रहेका दलहरूको आ–आफ्नै माग र दाबी रहेकाले स्थानीय तह र वडामा भागबन्डा नमिल्दा सहमति नबनेको हो । गठबन्धनका दलहरूको बैठक पटक–पटक बस्दै आए पनि भागबन्डा नमिल्दा बैठक स्थगित भएको नेपाली काँग्रेस मकवानपुरका सचिव भीमसेन महतले जानकारी दिनुभयो । तालमेल गरेर जानेमा सबै दल सहमत रहेको तर गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र)ले लचकता नअपनाउँदा थप छलफल अगाडि बढ्न नसकेको उहाँले बताउनुभयो ।
काँग्रेस घोषणापत्र तयारी समितिमा थप १९ सदस्य मनोनित
काठमाडौं, वैशाख ४ गते । नेपाली काँग्रेसको निर्वाचन घोषणापत्र तयारी समितिमा थप १९ सदस्य मनोनित भएका छन् । महामन्त्री गगन थापा संयोजकत्वको समिति सदस्यमा पार्टी सभापति शेरबहादुर देउवाले आइतबार थप १९ सदस्य मनोनित गर्नुभएको हो । फागुन ३ गते बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले महामन्त्री थापाको संयोजकत्वमा ‘स्थानीय तह निर्वाचन—२०७९, घोषणापत्र तयारी समिति’ गठन गरेको थियो । मनोनयन हुनु भएका थप सदस्य१. सदस्य - किरण यादव२. सदस्य - फखरुदीन खान३. सदस्य - प्रकाश पन्थ४. सदस्य - उमा वादी५. सदस्य - सन्तोषमणि नेपाल६. सदस्य - डा. लोचन कार्की७. सदस्य - श्याम पटेल८. सदस्य - कृष्णप्रसाद तिमिल्सीना९. सदस्य - निलकण्ठ शर्मा१०. सदस्य - विभुषण विष्ट११. सदस्य - शिशिर खनाल१२. सदस्य - सरोज पाठक१३. सदस्य - कञ्चन झा१४. सदस्य - प्रेम विश्वकर्मा१५. सदस्य - सुवास अधिकारी१६. सदस्य - डा. ई. सुमन कर्ण१७. सदस्य - गोकर्ण बन्जाडे१८. सदस्य - कृष्णकुमार सिंह१९. सदस्य - रमेश पुरी
विप्लवसँग प्रचण्ड र नेपालको भेट
गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख ५ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दसँग भेटवार्ता गर्नुभएको छ । आइतबार महासचिव चन्दसँग अध्यक्षद्वय प्रचण्ड र नेपालले भेटवार्ता गर्नुभएको हो । स्थानीय चुनावअघि नै चन्द महासचिव रहनुभएको नेपाल कम्युनिस्ट पार्टीका बन्दी रिहाइ गर्दै मुद्दा फिर्ता दिलाउने आश्वासन दुवै नेताले दिनुभएको जानकारी बैठकमा सहभागी नेता हेमन्तप्रकाश ओलीले बताउनुभयो । बैठकमा महासचिव चन्दले अघिल्लो सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनको विषयमा अध्यक्षद्वय प्रचण्ड र नेपालको ध्यानाकर्षण गराउनुभएको थियोे । पछिल्लो समय चन्द नेतृत्वको पार्टीले स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलका विषयमा समेत छलफल अघि बढाएको छ ।
सत्ता गठबन्धनमा स्थानीय निर्वाचनबारे छलफल
सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच आइतबार बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा वैशाख ३० गते हुने स्थानीय निर्वाचन सम्बन्धमा थप छलफल भएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो । उहाँका अनुसार गठबन्धनको बैठक आज दिउँसो पुनः बस्नेछ ।
भ्रष्टाचारको आरोपमा १४ विरुद्ध मुद्दा दायर
काठमाडौं, वैशाख ४ गते। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा सप्तरीका नौ र अर्घाखाँची पाँच गरी १४ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आइतबार मुद्दा दायर भएको छ। आयोगले सप्तरी जिल्लाको बलान-बिहुल गाउँपालिकाका उप-प्रमुख रुवी गुप्ता, प्रमुख प्रशासकीय अधिकृत एवम् उपभोक्ता समितिका अध्यक्षसमेत नौजनाविरुद्ध गलत प्रतिवेदन तयार गरी भ्रष्टाचारको गरेकोमा आरोप-पत्र दर्ता गरेको हो।बलान बिहुल गाँउपालिका-४ को अधुरो वडा कार्यालय भवन निर्माण कार्य सम्पन्न भएर सेवा प्रवाह भइराखेको भएता पनि वास्तविक कामभन्दा बढी काम देखाई सोहीबमोजिम भुक्तानीसमेत भएको पाइएको छ। सो कार्यमा संलग्न बलान बिगुल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महेशकुमार यादव, तत्कालीन योजना शाखा प्रमुख रमेश मरिक यादव, तत्कालीन प्राविधिक शाखा प्रमुख सब-इन्जिनियर सन्तोषकुमार रजक र तत्कालीन सह-लेखापाल सुभाषचन्द्र लालले गलत मूल्याङ्कन गरी प्रतिवेदन तयार गरेको आयोगको ठहर छ। यस कार्यबाट नेपाल सरकारलाई १० लाख पाँच हजार ४९७ रुपियाँ हानि नोक्सानी भएको दाबी गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो। बलान विहुल गाउँपालिकाका उप-प्रमुख रुवी गुप्ता र गाउँ कार्यपालिका सदस्य हरिप्रसाद मोचीले पनि अनुगमन प्रतिवेदन नै गलत बनाइ सिफारिस गरेकाले गुप्ता र मोचीविरुद्धसमेत भ्रष्टाचारको मुद्दा दर्ता भएको आयोगले जनाएको छ। यसैगरी, आयोगले जिल्ला अर्घाखाँची साविक ठाडा गा.वि.स. वडा नं १ का तत्कालीन गा.वि.स सचिव हिमबहादुर भाट, सव-इन्जिनियर र उपभोक्ता समितिका अध्यक्षसमेत पाँचजना उपर गैरकानूनी लाभ तथा हानि पु¥याई भ्रष्टाचार गरेकोसम्बन्धी आरोप-पत्र दर्ता गराएको छ। सो जिल्लाको शितगंगा नगरपालिका, वडा नं. ३ स्थित ज्योति बहुमुखी क्याम्पसका लागि साविक ठाडा गाउँ विकास समिति र जिल्ला विकास समितिको कार्यालयबाट क्याम्पसको भवन तथा सडक निर्माणको बढी मूल्याङ्कन गरेर भ्रष्टाचार गरेको आरोप लगाइएको छ। आयोगले मालपोत कार्यालय टोखा, सरस्वती, काठमाडौंको मुद्दा फाँटमा कार्यरत खरिदार विनोद तिवारीलाई २० हजार रुपियाँ घुस लिएको अभियोगमा पक्राउ गरिएको जानकारी आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले दिनुभयो।
निर्वाचन अनुगमन समितिको अर्को बैठक सोमबार बस्ने
काठमाडौं, वैशाख ४ गते। सत्ता गठबन्धनको वैशाख ३० गते हुने स्थानीय निर्वाचन सम्बन्धमा गठित निर्वाचन तयारी तथा अनुगमन समितिको अर्को बैठक सोमबार बस्ने भएको छ। काँग्रेसका वरिष्ठ नेता एवम् समिति संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकमा स्थानीय निर्वाचनमा तालमले कसरी गर्ने भन्ने विषयमा छलफल भएको थियो। निर्वाचनमा गठबन्धनलाई कसरी व्यवस्थित बनाउन सकिन्छ र उम्मेदवारलाई निर्वाचित गराउने एवम् खडा गर्ने विषयमा छलफल भएको पौडेलका प्रेस संयोजक चिरञ्जिवी अधिकारीले जानकारी दिए। सोमबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताले आ-आफ्नो धारणा राखेपछि विषय टुंगोमा पुग्ने उहाँको भनाइ छ। आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताबीच स्थानीय तहबारे भएको छलफल पश्चात् पौडेलको नेतृत्वमा दश सदस्यीय समितिको बैठक बसेको थियो।
नागरिकता दिलाउने अध्यक्ष ओलीको आश्वासन
जनार्दन खत्रीसर्लाही, बैशाख ३ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मधेसमा नागरिकता पाउनबाट बन्चित रहेका नागरिकलाई नागरिकता दिलाउने आश्वासन दिनुभएको छ । अब आउने सङ्घीय संसद्को निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्ने र त्यसले नागरिकता विधेयक पारित गर्ने उहाँले दाबी गर्नुभयो ।शनिबार सर्लाही सदरमुकाम मलङ्गवामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यस्तो विचार व्यक्त गर्नुभएको हो । उहाँले स्थानीय तहको निर्वाचनमा एमालेलाई विजयी गराउन आग्रह पनि गर्नुभयो । अध्यक्ष ओलीले आफूलाई मधेसको मसिहा भन्ने मधेस केन्द्रित दलहरुले मधेसको विकासमा अवरोध गरिरहेको आरोप लगाउनुभयो ।पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका ओलीले मधेसको खानेपानी, सडक, ढल, सिचाइँजस्ता समस्याप्रति आफू जानकार रहेको भन्दै एमालेको सरकार आएपछि ती क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित कविलासी नगरपालिकाका प्रमुख कौशलकिशोर यादव, माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य केशवप्रसाद ढुङ्गानासहित विभिन्न पार्टीका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गर्नुभएको छ । जनसभालाई एमालेका मधेस प्रदेश कमिटीका इन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटी सदस्य प्रभु साह लगायतले सम्बोधन गर्नुभयो ।
भ्रष्टाचार नियन्त्रण नभए मुलुक भित्रभित्रै सिद्धिन्छः सभामुख
काठमाडौं, वैशाख ४ गते। सभामुख अग्निप्रसाद सापकोटाले बढ्दो भ्रष्टाचारलाई नियन्त्रणका गर्न नसके मुलुक भित्रभित्रै सिद्धिने बताउनुभएको छ। विश्वमा झैँ नेपालमा पनि भ्रष्टाचार गम्भीर समस्याका रुपमा रहेको उल्लेख गर्दै उहाँले यसको नियन्त्रणका लागि सामूहिक सङ्कल्पको खाँचो औँल्याउनुभयो। आजदेखि काठमाडौँमा सुरु भएको ‘निसाना’ शीर्षकमा भ्रष्टाचारविरुद्धको कार्टुन प्रदर्शनीको उद्घाटन गर्दै सभामुख सापकोटाले भ्रष्टाचार नियन्त्रणको कुरा मात्रै हुने तर वास्तवमा नियन्त्रण गर्न भने गाह्रो देखिएको बताउनुभयो। उहाँले कार्टुन प्रदर्शनीले आफूलाई पनि भित्रभित्रै भ्रष्टाचारविरुद्ध लाग्न प्रेरणा मिलेको पनि बताउनुभयो। सभामुख सापकोटाले आफ्नो विवेकले भ्याएसम्म भ्रष्टाचारविरुद्ध लागिरहने प्रण पनि गर्नुभएको छ।“कार्टुन भनेको कलम होइन, मुटुले बनाउने कुरा हो, जसमा समाजको चित्रण साँच्चैको सिर्जनामा हुन्छ”, उहाँले भन्नुभयो, “अभियानमा समर्थन जनाउँदै ऐक्यबद्धता प्रकट गर्दछु।” सत्यकुरा गर्न सजिलो भए पनि त्यसलाई अङ्गाल्न गाह्रो हुने बताउँदै सभामुख सापकोटाले भ्रष्टाचारविरुद्धको अभियानमा हुने सङ्कल्पप्रति आफ्नो पूर्ण समर्थन हुने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले काम गुणस्तरयुक्त, कानुन निर्माण गर्नु र ठीक ढङ्गले लागू भएको छ कि छैन भनेर निगरानीको नेतृत्व गर्ने हो भन्दै उहाँले त्यसमा आफू प्रतिबद्धताका लागि लागिरहेको र अब पनि लागिरहने बताउनुभयो। सभामुख सापकोटाले भन्नुभयो, “भ्रष्टाचार भनेको सामान्य एउटा बजेट हिनामिनको कुरा मात्रै होइन। यो राष्ट्रियतासँग जोडिएको विषय पनि हो। यो बढ्दै गयो र यस्तै गरी हामीले यसविरुद्ध खबरदारी गरेनौं भने यसले हाम्रो प्यारो मातृभूमिलाई भित्रभित्रै खाइदिन सक्छ।”स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा सुरु भएको चित्रकारको कार्टुन प्रदर्शनी अर्थपूर्ण रहेको र अबको २५ दिन धेरै गुणात्मक हुने उहाँले विश्वास व्यक्त गर्नुभयो। कार्टुनिष्ट क्लब अफ नेपालको आयोजनामा आजदेखि नेपाल कला परिषद्मा तीनदिने उक्त कार्टुन प्रदर्शनी सुरु भएको हो। भ्रष्टाचारविरुद्ध सचेतना जगाउन दुई महिना भित्रमा सातै प्रदेशमा प्रदर्शनी गर्ने क्लबका अध्यक्ष वासु क्षितिजले जानकारी दिनुभयो। प्रदर्शनीमा ३६ जनाका ५० वटा कार्टुन समावेश छ। रासस