निर्वाचन निर्धारित समयमा हुनुपर्छ : अध्यक्ष ओली
सन्तोष राउतसोलुखुम्बु, वैशाख ५ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तोकिएको समयमा निर्वाचन हुनुपर्ने बताउनुभएको छ । एमाले सोलुखुम्बुले सदरमुकाम सल्लेरीमा सोमबार आयोजना गरेको चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभयो । निर्वाचनमा एमाले र गठबन्धन दलबीच मुख्य प्रतिस्पर्धा हुने उहाँले चर्चा गर्नुभयो । गठबन्धन दलको सामना गर्न एमाले तयार रहेको पनि उहाँले बताउनुभयो । एमाले विजयी भएमात्र मुलुकमा आर्थिक समृद्धि कायम हुने भन्नुहुँदै अध्यक्ष ओलीले सहयोग गर्न आग्रह गर्नुभयो ।प्रदेस १ का पूर्व मुख्यमन्त्रि शेरधन राईले आगामी निर्वाचनमा एमालेले धेरै सिट जित्ने दाबी गर्नुभयो । राईले एमाले विकासको बाहक भएको बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि आङकाजी शेर्पाको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरेका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए । महाधिबेशन प्रतिनिधि शेर्पालाई एमालेबाट मेयरमा टिकट दिने सहमति भएको एमाले स्रोतको बुझाई छ ।
लोकतान्त्रिक गणतन्त्रलाई सशक्त बनाउन सबै राजनीतिक दलले निर्वाचनमा भाग लिनुपर्छ : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सशक्त र प्रभावकारी बनाउन ३० वैशाखमा निर्धारित स्थानीय तह निर्वाचनमा भाग लिन सबै राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ ।
चुनावी तालमेल : गठबन्धनले सहमतिलाई मंगलबार अन्तिम रूप दिने
काठमाडौं, वैशाख ५ गते। पाँच दलीय सत्ता गठबन्धनको बैठक सम्पन्न भएको छ। मंगलबार पुनः बस्नेगरी सोमबारको बैठक सम्पन्न भएको हो।वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन तयारी, चुनावी तालमेल लगायतका विषयमा गठबन्धनका दलहरु सहमति नजिक पुगेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो। ‘तालमेलको कुरा छ, यसमा गम्भीरताका साथ छलफल भएको छ। केही विषयमा सहमति भएको छ’, सञ्चारमन्त्री कार्कीले भन्नुभयो, ‘भोलि मंगलबार बिहान पुनः साढे ११ बजे बस्ने बैठकले सहमतिलाई अन्तिम रुप दिनेछ।’ ‘महानगरपालिका, उपमहानगरपालिका लगायत समग्रमा छलफल भयो। सकारात्मक रुपले अगाडि बढ्नुपर्छ भन्ने कुरा छ’, उहाँले भन्नुभयो, ‘हामीले बनाएको मापदण्डको वरीपरी रहेर छलफल गरेका छौं।’ बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी लगायत सत्ता साझेदार दलका शीर्ष नेताको उपस्थिति रहेको थियो।
सत्ता गठबन्धनको बैठक बालुवाटारमा
पाँच दलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले आधा घण्टादेखि बैठक चलिरहेको जानकारी दिनुभयो।
सर्वोच्चमा तानिए तीन न्यायाधीश
काठमाडौं, वैशाख ५ गते। विवादास्पद फैसला गरेको विषयमा तीन जिल्ला न्यायाधीशलाई काजमा सर्वोच्च अदालतमा झिकाइएको छ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले जिल्ला न्यायाधीश नवीनकुमार जोशीलाई सोमबार सर्वोच्च अदालत काजमा झिकाउनुभएको हो।उहाँले बलात्कारको मुद्दामा पीडित भनिएको पक्षलाई तीन वर्ष कैद हुने फैसला सुनाउनुभएको थियो। मुलुकी फौजदारी कार्यविधिलाई संशोधन गर्न आएको केही नेपाल ऐन अध्यादेशको व्यवस्थाका आधारमा गत चैत १३ गते उहाँले सजायको फैसला सुनाउनुभएको हो। उक्त कानून कार्यान्वयनमा छैन।यसअघि जिल्ला अदालत काठमाडौँका दुई न्यायाधीश अम्बिकाप्रसाद निरौला र सूर्यकुमार अधिकारीलाई सर्वोच्च अदालतमा काजमा तानिएको थियो।रासस
विमानस्थलमा देखिएको समस्या समाधान गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौं, वैशाख ५ गते। गृहमन्त्री बालकृष्ण खाणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको समस्या समाधान गर्न निर्देशन दिनुभएको छ।गृहमन्त्री खाणले सोमबार गृह मन्त्रालयमा सम्बन्धित निकायका प्रमुखलाई बोलाएर विमानस्थलमा देखिएका समस्या तत्काल समाधान गर्ने निर्देशन दिनुभएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो।मन्त्री खाणले अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाही, नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर, विमानस्थलका प्राविधिक सुरक्षा प्रमुख टेकनाथ सिटौला तथा कर्पोरेट प्रमुख महेन्द्र खनाललाई बोलाएर उक्त निर्देशन दिनुभएको हो।‘मन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका समस्याबारे जानकारी लिँदै तत्काल सुधार्न निर्देशन दिनुभएको छ’, प्रवक्ता पोखरेलले भन्नुभयो। गृहमन्त्री खाणले विमानस्थलमा रहेका काउन्टरमा भिडभाड हुन नदिन आवश्यक व्यवस्था मिलाउनका साथै विमानस्थलभित्र रहेका बैंकका एटिएम मेसिन बिग्रिएको भन्दै यात्रुको गुनासो आएको भन्दै तत्काल समस्या समाधानका लागि निर्देशन दिनुभएको छ।तत्काल अन्तर्राष्ट्रिय विमानस्थलमा एक्स–रे मेसिन जडान गरेर उपलब्ध गराउने सेवालाई सहज बनाउन पनि उहाँले निर्देशन दिनुभएको प्रवक्ता पोखरेलले बताउनुभयो। बैठकमा गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका प्रवक्ता पोखरेल, कर्मचारी प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीको समेत सहभागिता थियो। रासस
सत्ता गठबन्धनको बैठक पुनः दिउँसो बस्दै
पाँच दलीय सत्ता गठबन्धनको बैठक दिउँसो पुनः बस्दैछ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गठबन्धनको बैठक निरन्तर बस्दै आएकोमा आइतबार बिहान बसेको बैठकले महानगरपालिका र उपमहानगरपालिकाबारे सोमबारसम्ममा टुंगो लाग्ने बताइएको थियो ।
चुनावी तालमेल सहमति नजिक छ : अध्यक्ष प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी तालमेलमा सहमति नजिक रहेको बताउनुभएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलमा उहाँले सत्तारुढ गठबन्धन महानगरपालिकाको चुनावी तालमेलमा सहमति नजिक रहेको बताउनुभएको हो ।
गठबन्धनबाट साझा उम्मेदवार तय गर्ने विषयमा छलफल जारी
सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा जारी रहेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्य किरणले सवा दश बजेदेखि सत्ता गठबन्धन दलको बैठक जारी रहेको जानकारी दिनुभयो ।