• १८ असार २०८१, मङ्गलबार

संसद् बैठकमै सांसदहरू घुर्नुहुन्छ : उपसभामुख राना

blog

फाइल तस्बिर ।

गोरखापत्र अनलाइन

काठमाडौँ, असार १६ गते । उपसभामुख इन्दिरा रानाले संसद् बैठकमा सांसदहरू निदाउने गरेको बताउनुभएको छ । आइतबार संसद् भवनमा ६६ औँ संसद् दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 

संसद् बैठकका बेला सांसदहरू घुर्दै निदाउने गरेको आफूले देखेको उहाँको भनाइ छ । उहाँले संसदमा फोटो खिच्न आफूले नपाउने भएपनि संसद् दिवसको अवसरमा आयोजित कार्यक्रममा पनि सांसदहरू निदाएको भन्दै फोटो र भिडियो खिचेर राखेको बताउनुभयो । उहाँले सुत्ने बेला नभएको भन्दै सभामा सुतेर सपना नदेख्न सांसदलाई सचेत गराउनुभयो । उहाँले सांसदहरूले नीति निर्माणमा बढी जोड दिएर काम गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘संसदमा फोटो खिच्न मिल्दैन, घ्वारघ्वार सुतिरहेको हुनुहुन्छ मान्यज्युहरु । यहाँ मलाई के भन्न मन लाग्यो भने यहाँ पनि धेरै सुतेको देखेँ । अलिअलि रेकर्ड पनि गरेर राखेको छु मैले । यो सुत्ने तरिकाले चाहिँ हामी सभामा नबसौँ ।’ नीति निर्माणमा सांसदहरू जिम्मेवार हुनुपर्ने उहाँले बताउनुभयो । उपसभामुख रानाले फरक प्रसङ्गमा महिला मन्त्रालयको बजेट एउटा परियोजनाको बराबर पनि नभएको भन्दै दुःख व्यक्त गर्नुभयो ।