• १९ असार २०८१, बुधबार

सर्पले डसेको आशङ्कामा १२ घण्टासम्म मन्त्री अस्पतालमै

blog

मधेश प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री उर्मिलादेवीसिंह चौधरी । तस्बिरः जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, असार १७ गते । मधेश प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री उर्मिलादेवीसिंह चौधरी सर्पले डसेको आशङ्कामा १२ घण्टासम्म अस्पताल भर्ना भएर सोमबार दिउँसो डिस्चार्ज हुनुभएको छ । 

ईश्वरपुर नगरपालिका ९ रामनगर निवासी मन्त्री सिंह नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा १२ घण्टा चिकित्सकको निगरानीमा रहेर घर फर्किनुभएको हो । उहाँलाई घरमा सुतिरहेका बेला सोमबार बिहान २ः५० बजेतिर केही जिवले हातमा टोकेको थियो । 

अँध्यारोमा के ले टोक्यो भनी देख्न नपाएपछि सर्पले डसेको आशङ्कामा तत्काल नवलपुरस्थित सर्पदंश उपचार केन्द्र पुग्नुभयो । नवलपुर सर्पदंश उपचार केन्द्रका इन्चार्ज जग्गनाथ यादवले मन्त्री सिंहलाई १२ घण्टा ‘अब्जरभेसन’ मा राखेर घर पठाएको जानकारी दिनुभयो । 

उहाँले मन्त्री सिंहको शरीरमा कुनै विषालु जीवले टोकेको लक्षण नदेखिएपछि एन्टी स्नेक भेनम नचढाइ निगरानीमा मात्र राखेर घर पठाइएको बताउनुभयो । डिस्चार्ज भएर घर फर्किनुभएको मन्त्री सिंहले आफूलाई प्रदान गरेको सेवाप्रति अस्पताल र चिकित्सकलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । 

उहाँले आफै आएर अस्पताल भर्ना हुँदा यहाँको समस्याबारे जानकार भएको भन्दै प्रदेश सरकारमा पहल गर्ने प्रतिवद्धता पनि जनाउनुभयो । नवलपुरको सर्पदंश उपचार केन्द्रमा विशेषज्ञ र केही उपकरणको अभावमा लामो समयदेखि भेन्टिलेटर र आइसियु थन्काएर राखिएको छ । जसका कारण सर्पले डसेर गम्भीर अवस्थामा ल्याइएको बिरामीको उपचार हुन सकिरहेको छैन ।