वीर गणेशमान राष्ट्रिय बक्सिङ (फोटो फिचर)
काठमाडौँ, वैशाख ६ गते। सर्वोच्च नेता गणेशमान सिंहको स्मृतिमा ‘गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ’ प्रतियोगिता मंगलबारदेखि काठमाडौँमा सुरु भएको छ। वैशाख १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको नेपाली कांग्रेसका नेता एवं स्वर्गीय गणेशमानका छोरा प्रकाशमान सिंहले उद्घाटन गर्नुभयो। बसन्तपुर डबलीमा सञ्चालित प्रतियोगिताको उद्घाटन गर्दै प्रकाशमानले नेपालमा प्रजातन्त्र ल्याउन महत्वपूर्ण योगदान दिनुभएका गणेशमानको स्मृतिमा बक्सिङसँगै रोडरेस, ब्याडमिन्टन जस्ता खेलकुद प्रतियोगिता आयोजना गर्ने बताउनुभयो। उहाँले गणेशमान सिंह फाउन्डेसनले यस प्रतियोगितालाई सरकार र विभिन्न संस्थाको सहयोगमा आगामी वर्षमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो। वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजना गरेको प्रतियोगिातमा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहेको छ। जिल्ला र क्षेत्रीय छनोट प्रतियोगिताबाट छनोट भएर आएका खेलाडीबीच अन्तिममा वसन्तपुर डबलीमा भिडन्त भएको हो। प्रतियोगितामा पुरुषतर्फ ४८, ५७, ६३, ६९, ७५, ८१, ९१ केजी गरी सात वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ। यसैगरी महिलातर्फ ४८, ५४–५७, ६०, ६४–६९, ६९–७५ केजी गरी पाँच वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ। पहिलो दिन मंगलबार पुरुषतर्फ नौ र महिलातर्फ चार तौल समूहमा प्रतिस्पर्धा भएको छ। प्रतियोगितामा प्रदेश १ बाट सात पुरुष र चार महिला, मधेस प्रदेशबाट सात पुरुष र पाँच महिला, बागमती प्रदेशबाट सात पुरुष र तीन महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। यसैगरी गण्डकी प्रदेशबाट सात पुरुष र तीन महिला, लुम्बिनी प्रदेशबाट ६ पुरुष र चार महिला, कर्णाली प्रदेशबाट ६ पुरुष र चार महिला, विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट सात पुरुष र पाँच महिला, एपीएफबाट सात पुरुष र पाँच महिला र नेपाल पुलिस क्लबाट चार पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा ६५ पुरुष र ३७ महिला गरी कूल १०२ जना खेलाडी सहभागी छन्। प्रतियोगितामा हरेक तौल समूहका विजेताले २५ हजार रुपियाँ पुरस्कार पाउनेछन्। यसैगरी दोस्रो हुनेले १५ हजार र तेस्रो स्थान हात पार्ने दुई खेलाडीले जनही सात हजार पाँच सय रुपियाँ पुरस्कार पाउनेछन्। यसैगरी उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र उत्कृष्ट महिला खेलाडीलाई स्कुटर प्रदान गरिने प्रतियोगिता संयोजक राजीव श्रेष्ठले जानकारी दिनुभयो। तस्बिर: मनोजरत्न शाही
गहना खोज्ने जात्रा (फोटो फिचर)
तस्बिरः मनोजरत्न शाहीकाठमाडौं, वैशाख ४ गते। काठमाडौंको हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ। चैते दशैंको दिनदेखि १५ दिनसम्म चलेको जात्रा आइतबार सम्पन्न भएको हो। जात्रा सबैभन्दा ऐतिहासिक, पुरानो र पौराणिक भएको बताइन्छ। राजा मानदेवको पालादेखि गहना खोज्ने जात्रा मनाउने चलन रहेको छ। टुँडालदेवी (वैषनवी) को पोखरीमा गहना हराएको भन्ने अर्को चर्चित मान्यता रहेको छ। टुँडालदेवीको गहना खोज्नकै लागि प्रत्येक वर्ष यो जात्रा मनाउने परम्परा रहिआएको छ। सर्वसाधारणकाअनुसार टुँडालदेवी गहना पोखरीमा नुहाउने क्रममा उहाँको गहना हराएको थियो। त्यो समयमा हराएको गहना हरेक वर्ष जात्रा गरेर खोज्ने गरिन्छ। यसरी गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि देवीको गहना खोज्ने गरिन्छ।
तस्बिरमा कार्टुन कला प्रदर्शनी
तस्बिर केशब गुरुङ्गकाठमाडौं, वैशाख ४ गते। ‘निसाना’ कार्टुन कला प्रदर्शनी सुरु भएको छ। कार्टुनिष्ट क्लबको आयोजनामा आइतबारबाट प्रदर्शनी सुरु भएको हो। ३ दिनसम्म चल्ने यो कला प्रदर्शनीमा ३६ जना ख्यातिप्राप्त र नवोदित कार्टुनिष्टका ५० थान कार्टुन राखिएको छ। सङ्घीय संसद्का सभामुख अग्निप्रसाद सापकोटाले बबरहलस्थित नेपाल आर्ट काउन्सिलमा प्रदर्शनीको उद्घाटन गर्नुभएको हो। समारोहमा नेपाल पत्रकार महासङ्घका सभापति विपुल पोखरेल, पूर्वअध्यक्षद्वय विष्णु निष्ठुरी र शिव गाउँले पत्रकार भुवन केसी, कार्टुनिष्ट क्लबका अध्यक्ष वासु क्षितिज र कार्टुनिष्ट केशवराज खनालले कार्टुनको विषयमा धारणा राख्नुभयो।
सेजमा उद्योगीको आकर्षण
लक्ष्मण पौडेलभैरहवा, चैत २४ गते । भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग स्थापना गर्न उद्योगीको आकर्षण देखिएको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणले माग गरेको आवेदनमा सेजको क्षमताभन्दा धेरै माग आएको हो ।केही वर्षदेखि खाली रहेका सेजका ४५ प्लटमा उद्योग सञ्चालनका लागि प्रस्ताव आह्वान गरिएकामा ५५ प्लटका लागि आवेदन आएको प्राधिकरणका कार्यकारी निर्देशक चण्डिका भट्टले जानकारी दिनुभयो ।“धेरै उद्योगीले अहिले चासो देखाउनुभएको छ, यो सकारात्मक पक्ष हो,” उहाँले भन्नुभयो । ५२ बिघामा फैलिएको भैरहवा सेजमा ६८ वटा प्लट छन् । सेजमा अहिले सातवटा उद्योग सञ्चालनमा छन् ।सेजमा उद्योग स्थापनासम्बन्धी प्रावधान संशोधन हुने तयारी भएपछि सेजमा उद्योगीको आकर्षण बढेको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले बताउनुभयो । भाडादर, निर्यात सिलिङलगायत विषयमा संशोधन गर्ने तयारी र भाडामा लिने व्यवसायीले पहिलो वर्ष भाडामा ५० प्रतिशत छुट पाउने भएपछि आकर्षण बढेको हो ।आवेदन दिने ५५ उद्योगले सात अर्ब रुपियाँको लगानी र करिब २२ हजार जनालाई रोजगारी दिने प्रस्तावसहित आवेदन दिएका हुन् । हाल आवेदनमा परेका उद्योगले सेजमा उत्पादन गर्दा वार्षिक १० अर्ब रुपियाँ बराबर हुने अनुमान छ । निवेदनमध्ये ४५ वटा उद्योगले मात्रै लगानी र निकासीको अवस्थालाई हेरेर अनुमति पाउनेछन् ।अहिले माग भएर आएका आवेदनमध्ये सबभन्दा बढी एक अर्ब २५ करोड रुपियाँको लगानी गर्ने प्रस्ताव बी एन्ड पी म्यानुफ्याक्चरिङले गरेको छ । यसैगरी सूर्य रङ हाउस प्रालिले १२ करोड रुपियाँको लगानी प्रस्ताव गरेको छ । यसबाहेक स्टिल, ढुङ्गाका मूर्ति बनाउने स्टोन उद्योग, प्लास्टिक उद्योगले पनि प्रस्ताव दिएका छन् ।रुपन्देहीको रोहिणी गाउँपलिका–१, बगहामा निर्माण गरिएको यो विशेष आर्थिक क्षेत्रमा सातवटा उद्योग सञ्चालनमा छन् । सेज परिसरमा हाल ब्रिलिएन्ट एलईडी, शक्ति मिनरल, विस्तार कम्पनी, पञ्चकन्या उद्योग, जय बुद्ध र एस पोलिमरले उत्पादन गरिरहेका छन् । यीमध्ये केहीले निर्यात गरिरहेका छन् । सुरुमा सेजमा स्थापना भएका उद्योगले उत्पादनको ७५ प्रतिशत निर्यात गर्नुपर्ने प्रावधान रहेकामा अहिले ६० प्रतिशतमा झारिएको छ ।विशेष आर्थिक क्षेत्रमा विशेषगरी वातावरणलाई असर नगर्ने खाद्य उद्योग तथा कृषिजन्य उद्योग, हर्बल प्रोडक्ट, छालाका वस्तु, तयारी पोसाक, गलैँचा तथा ऊनी सामान, पस्मिना तथा रेशम, हातेकागजका वस्तु गरी १७ किसिमका उद्योग सेजमा रहने व्यवस्था छ ।