• १३ साउन २०८१, आइतबार

खाल्डाखुल्टी र धुलोले दुर्घटनाको जोखिम (फोटो फिचर)

blog

लीलाधर वली

घोराही, कात्तिक ८ गते।  घोराही–लमही सडक खण्डमा परेका खाल्डाखुल्टी र धुलोका कारण दुर्घटनाको जोखिम बढेको छ। सुरक्षित यात्राका लागि सवारी साधनसँगै सडक स्तरीय हुनुपर्ने भए पनि सडकका विभिन्न खण्डमा परेका खाडल र धुलोका कारण सडक जीर्ण हुनका साथै दुर्घटनाको जोखिम बढाएको छ। नियमित मर्मत सम्भार नहुँदा २३ किलोमिटर घोराही–लमही सडकखण्डको करिब आधा सडक खण्डमा खल्डाखुल्टीले सवारी साधन चलाउन समस्या हुने गरेको गाडी चालक शिवराज चौधरी बताउनुहुन्छ। 

केही समयअघि सडकमा खसेको पहिरोले बनेको साँगुरो सडकका विभिन्न स्थानमा परेका खाडल र धुलोले ठूला सवारी साधनसँगै साना दुई पाङ्ग्रे सवारी साधन चलाउन सास्ती बेहोर्नुपरेको चालक चौधरीको भनाइ छ। ‘सडक समयमै मर्मत नहुँदा विभिन्न खण्ड खाडल पर्नुका साथै धुलोले गाडी चलाउनै समस्या हुने गरेको छ’, उहाँले भन्नुभयो,‘साना दुई पाङ्ग्रे सवारी चालकलाई चलाउन झनै समस्या छ।’ 

सडक डिभिजन कार्यालय दाङले भने सडक मर्मत भए पनि सडकको क्षमताभन्दा बढीका सवारी सवारी साधन चल्ने हुँदा सडक बिग्रिरहने गरेको जनाएको छ। त्यसैमा पछिल्लो समय घोराही-लमही सडकखण्डको विभिन्न समयमा खसेको पहिरोका कारण धेरै धुलो उड्ने गरेको छ।