जनार्जन खत्री
सर्लाही, मङ्सिर २८ गते । सर्लाहीका दुईवटै इलाका प्रशासन कार्यालय नायब सुब्बाको भरमा सञ्चालन भइरहेका छन् । यि दुवै कार्यालयमा शाखा अधिकृत कार्यालय प्रमुख रहने गरी दरबन्दी छ । शाखा अधिकृत राजकुमार थापाको अनिवार्य अवकाशपछि तत्काल अधिकृतस्तरका कार्यालय प्रमुख नपठाइँदा इलाका प्रशासन कार्यालय हरिवनमा मङ्सिर १ गतेदेखि नायब सुब्बा मनोज मिश्रले कायममुकायम कार्यालय प्रमुखको जिम्मेवारीमा काम गरिरहनुभएको छ ।
कारागार कार्यालय राजविराज सप्तरीमा निमित्त जेलरको रुपमा कार्यरत मिश्रलाई मन्त्रालयले मङ्सिर १ गतेदेखि इलाका प्रशासन कार्यालय हरिवनको जिम्मेवारी दिएर पठाएको हो । नायब सुब्बा मिश्रलाई कायममुकायम तोकेर पठाउनुअघि केही साता कारागार कार्यालय मलङ्गवाका जेलरसमेत रहनुभएका शाखा अधिकृत विशाल चौधरीले इलाका प्रशासन कार्यालयको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
कार्यालयमा नागरिकता, राष्ट्रिय परिचयपत्रसहितका सेवा लिन दैनिक १०० जनाको हाराहारीमा सेवाग्राही आउने गरेका छन् । अझ इलाका प्रशासन कार्यालय बरहथवा त झन नायब सुब्बाकै भरमा सञ्चालन भएको तीन वर्षभन्दा बढी भइसकेको छ ।
शाखा अधिकृत रामनरेश राम सरुवा भएर गएदेखि इलाका प्रशासन कार्यालय बरहथवा लामो समयदेखि नायब सुब्बा राजेश यादवको भरमा सञ्चालन भइरहेको हो । इलाका प्रशासन कार्यालय बरहथवामा नागरिकता र राष्ट्रिय परिचयपत्रसहितका सेवा लिन दैनिक ५० भन्दा बढी सेवाग्राही आउने गरेका छन् ।
सर्लाहीमा अहिले जिल्ला प्रशासन कार्यालयसमेत सहायक प्रमुख जिल्ला अधिकारीविहीन छ । दरबन्दीअनुसार शाखा अधिकृतहरु नरहेका र त्यसैमा सहायक प्रमुख जिल्ला अधिकारीसमेत नहुँदा प्रमुख जिल्ला अधिकारीमाथि कार्यभार थपिने गरेको छ ।
प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले आइतबारसम्म सहायक प्रमुख जिल्ला अधिकारीको टुङ्गो लाग्ने जानकारी पाएको बताउनुभयो । “इलाका प्रशासन कार्यालयमा कम्तीमा छ महिनासम्म कायममुकाम जिम्मेवारी दिन सक्ने व्यवस्था नै छ,” सिडिओ कडरियाले भन्नुभयो, “नयाँ शाखा अधिकृतहरु पनि चाँडै पठाइन्छ होला तर सहायक सिडिओचाँही आइतबारसम्म टुङ्गो लाग्नु पर्ने हो ।”