• २८ मङ्सिर २०८२, आइतबार

त्रिभुवन माविको महायज्ञमा दुई करोड सङ्कलन

blog

त्रिभुवन माविले गरेको महायज्ञमा उपस्थित भक्तजनहरु । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, मङ्सिर २८ गते ।
बहुप्राविधिक आवाशिय शिक्षालय निर्माणका लागि त्रिभुवन माविमा जारी महायज्ञमा दुई करोड रकम सङ्कलन भएको छ । पवित्र उद्देश्य राखेर गरिएको महायज्ञमा भक्तजनको उत्साजनक सहभागिता जुटेको छ ।

गत मङ्सिर २१ गतेबाट बडिगाड गाउँपालिका–२ खर्वाङस्थित त्रिभुवन माविमा सुरु गरिएको महायज्ञमा अहिलेसम्म दुई करोड सङ्कलन भएको आर्थिक समिति संयोजक खगिश्वर अर्यालले जानकारी दिनुभयो । ‘‘महायज्ञ समापन भएको केही दिनमै सम्पूर्ण आम्दानी र खर्चको विवरण सार्वजनिक गर्छाै’’ अर्यालले भन्नुभयो ।

बाली विज्ञान विषयको पठनपाठन सञ्चालन गरिरहेको विद्यालयले आगामी दिनमा सिभिल इन्जिनियरि, अटोमोबाइल्स, इलेक्ट्रिक तथा इलेक्टोनिक्स विधामा पनि अध्यापन गराउने लक्ष्यसहित धनधान्याचल महायज्ञको आयोजना गरिएको हो ।

महायज्ञअघि विद्यालयले मनाएको स्वर्ण महोत्सवमा सङ्कलन गरेको ८० लाख रुपियाँले विद्यालयको भौतिक पूर्वाधार बनाउनुको साथै अक्षयकोषमार्फत विद्यालयमा निजी श्रोतका शिक्षक राखेर समयसापेक्ष विषय पढाउँदै आएको छ ।

महायज्ञमार्फत पाँच करोड सङ्कलन गरेर विद्यालयमा कोष बनाइने छ । त्यो कोषमार्फत बडिगाड गाउँपालिका मात्र नभई गलकोट र गुल्मीको मुसिकोट क्षेत्रको आकर्षक शैक्षिक गन्तव्य बनाउने लक्ष्य छ । पश्चिम बागलुङका ढोरपाटन, निसी र तमानबासीले यो विद्यालयको सदुपयोग गर्न सक्ने वातावरण बन्ने प्रअ ढालमणि भण्डारीले बताउनुभयो ।

सिटिइभिटी तथा अन्य क्षेत्रबाट अनुबन्धित गरेर विद्यालयलाई दक्ष प्राविधिक उत्पादनको क्षेत्र बनाइने विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो । ग्रामीण क्षेत्रका विद्यार्थीलाई कृषि पेशामा जोड्न विद्यालय सफल बनिसकेको छ । विद्यालयमा एक हजार एक सय ८७ विद्यार्थी अध्ययनरत छन् ।