जिरी महोत्सवको तयारी पूरा
दोलखाको जिरीमा हुन लागेको १० दिने जिरी महोत्सव २०८० को अन्तिम तयारी पूरा भएको आयोजकले जनाएको छ ।
२२ सहकारीको खारेजी पक्रिया सुरु
बाँकेको कोहलपुर नगरपालिकाले मनोमानी रूपमा चलेका २२ वटा सहकारीलाई खारेज गर्ने प्रक्रिया सुरु गरेको छ ।
पूर्व जनमुक्ति सेनाहरूलाई सम्मान
रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले द्वन्द्व प्रभावित पूर्व जनमुक्ति सेनाहरूलाई सम्मान गरेको छ । नगरपालिकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि तत्कालीन जनमुक्ति सेनाले गरेको योगदानको कदर गर्दै सम्मान गरेको हो ।
अब नेपाल संवत् सफ्टवेयर र एपबाट हेर्न सकिने
राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल संवतको ‘तिथिमिति डट कम’ सफ्टवेयर र ‘नेपाल संवत् मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरिएको छ ।
‘नियत सफा राखेर काम गर्नुस्, कुनै समस्या आए म छु’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्र सेवक कर्मचारीमाथि समस्या पर्न नदिने बताउनुभएको छ ।
जसपा नेता दीपक कार्की वन राज्यमन्त्री नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका नेता दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ ।
सहिदको सम्झनामा शालिकसहित उद्यान निर्माण
तनहुँको घिरिङ गाउँपालिका –१ बैडीमा सहिद दिलमाया विक (सन्ध्या) को सम्झनामा शालिकसहितको उद्यान निर्माण गरिएको छ । सन्ध्याले २०६१ वैशाख २६ गते सहादत प्राप्त गर्नुभएको थियो । उहाँको अर्धकदको शालिकसहित उद्यान बनाइएको हो ।
खाल्डाखुल्डीले यातायात सञ्चालनमा सास्ती
कर्णाली कोरिडोरको हुम्ला खण्डमा सवारी साधन सञ्चालनमा समस्या भएको छ । ताँजाकोट गाउँपालिकाको कवाडीदेखि सर्केगार्ड गाउँपालिकाको ल्याप्चेसम्मको कच्ची सडकमा खाल्डाखुल्डी भएका कारण यातायात सञ्चालनमा समस्या भएको हो ।
९८ प्रकारका औषधीको विवरण पेस गर्न विभागको अनुरोध
औषधी व्यवस्था विभागले सरकारले निःशुल्क प्रदान गर्दै आएको ९८ प्रकारका औषधीको विवरण पेस गर्न अनुरोध गरेको छ ।
दुई करोड लगानीमा खानेपानी आयोजना
बाह्रबिसे नगरपालिका–९ राम्चेमा दुई करोड रुपियाँ लगानीमा बृहत् खानेपानी आयोजना सम्पन्न भएको छ । खानेपानी तथा स्रोत परिचालन व्यवस्थापन समिति राम्चेको पहलमा सो खानेपानी आयोजनाबाट १ सय ७० घरधुरी स्वच्छ र सफा खानेपानीबाट लाभान्वित भएका हुन् ।
होलीलाई लक्षित गरी चेकजाँचमा कडाइ
बाँकेमा होली पर्वलाई शान्तिपूर्ण एवम् मर्यादित रुपमा सम्पन्न गर्न प्रहरीले जेकजाँचमा कडाइ गरेको छ । सो क्रममा जिल्लाको नेपालगन्ज, कोहलपुरलगायत जमुनाहा–कोहलपुर राजमार्ग, पूर्व–पश्चिम राजमार्ग र नेपालगन्ज–गुलरिया सडक खण्डमा चेकजाँचमा कडाइ पारिएको छ ।
नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्या बढ्यो
स्थायी रूपमा बसोवास गर्ने उद्देश्यका साथ विदेश जानेहरू बढेसँगै नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्यामा पनि वृद्धि भएको छ ।
तराईमा उल्लासपूर्वक होली मनाइँदै
कैलालीसहित तराईमा आज उल्लासपूर्वक होली पर्व मनाइँदैछ । एक–अर्कालाई रङ, अबिर दलेर रङ्गहरुको पर्व उल्लासपूर्वक मनाउन लागिएको हो ।
सुन तस्करी प्रकरण: सिफारिस अध्ययन गर्न समिति गठन
अवैध सुन तस्करीमा अनुसन्धान गरी सिफारिस गर्न गठित जाँचबुझ आयोगले गरेका विभागीय कारबाहीसम्बन्धी सिफारिसबारे अध्ययन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । नेपालमा पटक पटक भइरहेको अवैध सुन तस्करीबारे जाँचबुझ गर्न सरकारले असोज १४ गते उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा चार सदस्यीय जाँचबुझ अयोग गठन गरेको थियो ।
उपनिर्वाचनका लागि बजेट स्वीकृत
अर्थ मन्त्रालयले उपनिर्वाचनका लागि निर्वाचन आयोगलाई दस करोड रुपियाँ स्रोत सुनिश्चित गरेको छ । आयोगले गएको फागुनमा उपनिर्वाचनका लागि स्रोत सुनिश्चित गर्न अर्थ मन्त्रालयसँग आग्रह गरेको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले माग गरे अनुसार नै खर्च गर्ने गरी अर्थ मन्त्रालयले बजेट सुनिश्चितताको स्वीकृति दिएको जानकारी दिनुभयो । उहाँले बजेट सुनिश्चित भएपछि निर्वाचनको व्यवस्थापकीय काम छिट्टै अगाडि बढ्ने बताउनुभयो । प्रवक्ता पौडेलले उम्मेदवारी दर्ताअघि नै दुवै जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा खर्चको अख्तियारी पठाइने बताउनुभयो ।
न्यारोबडी जहाजको मर्मत चाँडै
इन्जिन मर्मतका लागि इजरायलमा रहेको नेपाल वायु सेवा निगमको न्यारोबडी जहाज यही चैतभित्रै नेपाल फर्किने भएको छ । दायाँ इन्जिन बिग्रेर गत पुस २६ गते इजरायल एरोस्पेस इन्डस्ट्रिजमा पठाइएको नाइन एन एकेएक्स एयर बस ३२० लुम्बिनी जहाजको इन्जिन मर्मतको काम जारी रहेको र अबको दुई साताभित्र नेपाल फर्किने निगमले जनाएको छ । निगमका प्रवक्ता रमेश पौडेलले भन्नुभयो, “जहाज मर्मत सम्भारका लागि सम्झौता भएको मेन्टिनेन्स रिपेयर अर्गनाइजेसन कम्पनी (आइएआई) ले सम्झौता अनुसार समयमै इन्जिन मर्मत गर्न नसक्दा लामो समयदेखि उतै ग्राउन्डेड भएको हो । केही समय पार्टपुर्जा उपलब्ध हुन नसक्दा ग्राउन्डेड रहेको उक्त जहाजमा अहिले कम्पनीले उपकरण तयार पारेर जडानको प्रक्रियामा रहेकाले अबको दुई साताभित्र नेपाल आइपुग्ने जानकारी आएको छ ।”
समाजवादी मोर्चामा एमालेलाई समेट्ने प्रयास
सत्ताभित्र र बाहिर भएका कम्युनिस्ट घटकबिच निर्माण भएको समाजवादी मोर्चामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) लाई समेट्ने प्रयास गरिएको छ । गत असार ४ गते निर्माण भएको मोर्चामा एमालेलाई समेत समेटेर बलियो शक्ति निर्माण गर्ने योजना बनेको हो । यस मोर्चामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जनता समाजवादी पार्टी (जसपा), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहभागी छन् ।
एसइई २०८० : छात्रको सङ्ख्या बढ्दै
पछिल्ला वर्षमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा छात्राभन्दा छात्रको सङ्ख्या निरन्तर बढ्न थालेको छ । विद्यालय तहमा अध्ययनरत विद्यार्थीमध्ये छात्रा र छात्रको तथ्याङ्क हेर्दा यो क्रम आगामी वर्षहरूमा अझै बढ्दै जाने देखिएको छ । छात्राको तुलनामा छात्र बढी देखिनुलाई संयोग मात्रै नठानेर तत्कालीन र दीर्घकालीन रूपमा पार्न सक्ने असरको सङ्केतका रूपमा बुझ्नुपर्ने तर्क जनसङ्ख्याविद्को छ ।
आलुखेती गर्ने कृषकलाई अनुदान
फेदिखोला गाउँपालिकाले किसानले उत्पादन गरेको आलुमा अनुदान दिएको छ । पालिकाले आलु पकेट विस्तार गरेसँगै प्रवर्धनमा जोड दिने उद्देश्यले सकेटारीमा गरेको प्रथम आलु प्रदर्शनीमा अनुदान कार्यक्रम अन्तर्गत प्रतिकेजी पाँच रुपियाँ २५ पैसा अनुदान दिएको हो ।
होली खेलेर नुहाउन गएका तीन बालबालिका सुनकोसीमा बेपत्ता
होली पर्वको अवसरमा रङ खेलेर नुहाउने क्रममा सुनकोसीले बगाएर उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ साउने बजारका तीन बालबालिका बेपत्ता भएका छन्।
उपत्यकामा होली शान्तिपूर्णः नियम उलङ्घन गर्ने ७६ जना पक्राउ
होलीको मनाउने क्रममा जथाभावी रङ दल्ने तथा नियम उलङ्घन गरी सवारी चलाउने र होहल्का गरेको आरोपमा काठमाडौं उपत्यकाबाट ७६ जना पक्राउ परेका छन्।
पाँच राजनीतिक दलको नाम परिवर्तन
निर्वाचन आयोगले पाँच राजनीतिक दलको नाम परिवर्तन गरेको छ । थप एउटा दलले नाम परिवर्तनका लागि आयोगसमक्ष निवेदन दिएको छ । आयोगले किरात खम्बुवान साझा पार्टी, नेपाल दलित पार्टी, ताम्सालिङ लोकतान्त्रिक पार्टी, नेपाल सुकुम्बासी पार्टी, लोकतान्त्रिक र आमूल परिवर्तन मसिहा पार्टीले नाम परिवर्तनका लागि दिएको निवेदन अनुसार पाँच वटै दलको प्रस्तावित नाम स्वीकृत गरेको हो ।
बोर्ड बैठकमा बस्न पाउँदैनन् परीक्षा नियन्त्रक
परीक्षा सञ्चालन गर्ने निकायका प्रमुख जिम्मेवार पदाधिकारी नै परीक्षासम्बन्धी बैठकमा सहभागी हुन नपाउने त्रुटिपूर्ण कानुनी व्यवस्था रहेको छ । विद्यालय तहको अन्तिम परीक्षा सञ्चालनको जिम्मेवारी पाएको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक परीक्षाबारे कुनै पनि निर्णय गर्दा बोर्ड बैठकमा उपस्थित हुन पाउँदैनन् । विगतमा परीक्षा नियन्त्रकलाई सदस्य सचिवको जिम्मेवारी दिने गरिएकोमा २०७३ सालमा संशोधन गरिएको शिक्षा ऐनमा बोर्डमा परीक्षा नियन्त्रक नरहने व्यवस्था गरिएको छ ।
पाँच सय सहकारी सङ्कटमा
संविधानले तीनखम्बे अर्थनीतिको अवधारणा अनुसार अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगटेको सहकारी क्षेत्र अनियमितता, खराब ऋण प्रवाह र आन्तरिक भ्रष्टाचारले जनविश्वास गुमाउने चरणमा पुगेको छ । देशभरि १५ हजारभन्दा बढी सहकारी संस्था उत्पादन, रोजगारी सिर्जना र आर्थिकोपार्जनसँग जोडिए पनि अर्बौं रकम वित्तीय कारोबार गर्ने सीमित सहकारीमा भएकाले आर्थिक अपचलनले सिङ्गो सहकारी क्षेत्रमाथि अविश्वास उत्पन्न भएको हो ।