• १३ साउन २०८१, आइतबार

तराईमा उल्लासपूर्वक होली मनाइँदै

blog

होलीमा रमाउँदै बालबालिका । तस्बिरः अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, चैत १२ गते । कैलालीसहित तराईमा आज उल्लासपूर्वक होली पर्व मनाइँदैछ । एक–अर्कालाई रङ, अबिर दलेर रङकाे पर्व उल्लासपूर्वक मनाउन लागिएको हो । 

पहाडबाट बसाइँ सरी कैलाली झरेकाहरुले हिजै यहाँ होली मनाए पनि तराईबासीले आजबाट होली पर्व मनाइरहेका छन् । होली पर्व थारु समुदायमा ढुरहेरी, रानाथारु र कठरिया थारु समुदायमा होरीको नामले मनाउने चलन छ । 


थारु समुदायले आज र भोलि गरेर दुई दिनसम्म होली पर्व मनाउने गरे पनि रानाथारु समुदायले एक महिना आठ दिनसम्म होरी पर्व मनाउँछन् । त्यस्तै, अन्य समुदायका मानिसले एक वा दुई दिन होली पर्व मनाउने गर्छन् ।  

चीर दहनपछि तराईवासीले होली मनाउने गरेका छन् । होलीमा बिहानैदेखि मानिसले एक अर्कालाई रङ, अबिर लगाएर आपसी माया, स्नेह साटासाट गरिरहेका छन् । यसैगरी, बालबालिका होली खेलेर रमाइरहेका छन् । थारु समुदायमा चीर दहनपछिमात्र होली खेल्ने चलन रहेको धनगढी उपमहानगरपालिका –८ का विष्णु चौधरीले बताउनुभयो । होली सद्भावको पर्व रहेको उहाँको भनाइ छ ।