• १६ असार २०८२, सोमबार

धनगढीमा दुई हजार घरमा बाढी पस्यो, आठ जनाको उद्धार

blog

कैलाली, असार १६ गते । आइतबारदेखि लगातार वर्षा हुँदा धनगढीका घर डुबानमा परेका छन् । डुबानमा फसेका आठ जनालाई प्रहरीले आज उद्धार गरेको छ । धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्काका चारजना र धनगढीको बेली गाउँका चारजना गरी आठ जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शिवराज जोसीले जानकारी दिनुभयो । 

उहाँका अनुसार बेलीका सीताराम रानाको एकतले कच्ची घर डुबानमा परेपछि उहाँसहित परिवारका चार जनालाई उद्धार गरेर नजिकै रहेको आफन्तको घरमा सारिएको छ । त्यसैगरी, धनगढी–१३ श्रीलङ्काका एकै परिवारका चार जनाको उद्धार गरेर नजिकैको आधारभूत विद्यालयमा राखिएको छ । 

सूचना अधिकारी जोसीले गएराति देखिको भारी वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्रका झन्डै दुई हजार घरमा पानी पसेको बताउनुभयो । जसमा धनगढीका ३, ४, १३, १, ७ र ११ नम्बर वडा वर्षाका कारण प्रभावित भएको उहाँको भनाइ छ ।