• १५ वैशाख २०८१, शनिबार

समाजवादी मोर्चामा एमालेलाई समेट्ने प्रयास

blog

काठमाडौँ, चैत १२ गते । सत्ताभित्र र बाहिर भएका कम्युनिस्ट घटकबिच निर्माण भएको समाजवादी मोर्चामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) लाई समेट्ने प्रयास गरिएको छ । गत असार ४ गते निर्माण भएको मोर्चामा एमालेलाई समेत समेटेर बलियो शक्ति निर्माण गर्ने योजना बनेको हो । यस मोर्चामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जनता समाजवादी पार्टी (जसपा), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहभागी छन् ।

मोर्चाका संयोजक विप्लव भएपछि एमालेका नेताहरूलाई भेटेर मोर्चामा सहभागी गराउन प्रयासरत रहनुभएको छ । गत शुक्रबार महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर कम्युनिस्ट शक्ति निर्माण गर्न मोर्चामा आबद्ध हुन आग्रह गर्नुभएको थियो । 

माओवादी केन्द्रका महासचिव देव गुरुङले एमालेलाई समेत समेटेर समाजवादी मोर्चा बनाउने योजना बनाएको बताउनुभयो । “समाजवादी मोर्चा बनाउने सवालमा सबै कम्युनिस्ट घटकहरू छलफलमा छन् । कम्युनिस्ट पार्टीसँग मोर्चामा सहभागी हुने नयाँ विषय भएन,” उहाँले भन्नुभयो, “तर उहाँहरू (एमाले) ले मोर्चामा सहभागी हुन निर्णय गरी सक्नुभएको छैन । सत्ता साझेदारका रूपमा मोर्चाका कार्यक्रममा सहभागी हुने कुरा छ ।” उहाँले सत्ताभित्र र सत्ताबाहिर भएका कम्युनिस्ट घटकलाई जोड्न मोर्चा बनाएकाले अरू कम्युनिस्ट शक्तिलाई जोडिने दाबी गर्नुभयो । “पहिला कांग्रेससँग सत्ता गठबन्धन हुँदा मोर्चा गठन भएको हो । अहिले नयाँ समीकरण निर्माणको अवस्थामा सबै पक्षसँग परामर्श गर्नुपर्ने हुन्छ । त्यसपछि सरकारमा सहभागी हुने सबै घटकमा मोर्चा आबद्ध हुने अवस्था बन्न सक्छ,” उहाँले भन्नुभयो ।

यस्तै विप्लव नेतृत्वको नेकपाका प्रवक्ता विश्वकर्माले एमाले समेतलाई जोडेर बृहत् समाजवादी मोर्चा बनाउने योजना बनाएको जानकारी दिनुभयो । “हाम्रो उद्देश्य एमालेलाई समाजवादी मोर्चामा सहभागी गराउनु पर्छ भन्ने हो । त्यसैले उहाँलाई समेट्ने भेटघाट भइराखेका छन्,” उहाँले भन्नुभयो, “अहिलेसम्मको छलफलमा एमालेका साथीहरू सकारात्मक हुनुहुन्छ ।” उहाँले अहिलेकै अवस्थामा एमाले तत्काल मोर्चामा सहभागी हुने अवस्था नदेखिएको बताउनुभयो ।  “मोर्चा भनेको के हो भन्ने सवालमा उहाँका केही प्रश्न थिए । त्यसमा स्पष्ट भएपछि वातावरण बन्दै गएको छ,” उहाँले भन्नुभयो, “हामी मोर्चाप्रति सकारात्मकै छौँ भन्नुभएको छ । सहभागिता हुने सवालमा तत्काल हुन सकिँदैन भन्नुभएको छ ।” 

नेपाल कम्युनिस्ट पार्टी (एमाले) उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले समाजवादी मोर्चामा सहभागी नहुने बताउनुभयो । “समाजवादी मोर्चामा एमाले सहभागी हुँदैन । यदि कुनै मोर्चा निर्माण गर्नुपर्‍यो भने एमालेले आफैँ स्वामित्व लिएर निर्माण गर्छ,” उहाँले भन्नुभयो, “साथीहरूले जुन उद्देश्यका साथ मोर्चा बनाउनुभएको छ, त्यसमा सकारात्मक छौँ ।”