वर्खा सुरुभएसँगै त्रसित हुँदै बाढीपहिरो जोखिम बस्तीका स्थानीय
वर्खा सुरुभएसँगै बाजुराका अधिकांश स्थानीय तहमा बाढीपहिरो जोखिमका बस्तीका स्थानीय निकै त्रसित बन्दै गएका छन् ।
पाँच कैदीबन्दी जेलमुक्त
ओखलढुङ्गामा पाँच जना कैदीबन्दी जेलमुक्त भएका छन् । गणतन्त्र दिवसको अवसरमा आइतबार पाँच कैदीबन्दी जेलमुक्त भएका हुन् ।
अध्यक्ष चढ्ने गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न सुरु
चन्द्र पन्दाकताप्लेजुङ, जेठ १५ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न सुरु गरिएको छ । गाउँपालिका अध्यक्षले प्रयोग गर्ने अर्थात चढ्ने गाडी (सवारी साधन) लाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न सुरु गरिएको हो । गाउँपालिकाको गाडी आफू नचढी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गर्नुभएका नवनिर्वाचित अध्यक्ष राजन लिम्बू (मुक्ति) ले पालिकाको सवारी साधनमार्फत बिरामीको उद्दार गर्न थाल्नुभएको हो । आफू चढ्ने सवारी साधनमा चढाएर गाउँपालिका अध्यक्ष लिम्बू आफैँले शनिबार एक बिरामीलाई उपचारका लागि स्वास्थ्य संस्था पठाउनुभएको छ ।अध्यक्ष लिम्बूले फक्ताङ्लुङ गाउँपालिका–४ इखाबु खुपातालकी ६३ वर्षीया रामप्यारी लिम्बूलाई पालिकाको सवारी साधनमार्फत् ताप्लेजुङ जिल्ला अस्पतालसम्म पुग्ने प्रवन्ध मिलाउनुभएको हो । पथरिया र जन्डिसको समस्या भएकी बिरामी लिम्बूलाई छिरुवा बजारदेखि गाउँपालिकाको गाडी चढाएर जिल्ला अस्पताल पठाएको जनाइएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) फक्ताङ्लुङ गाउँपालिका कमिटी अध्यक्षसमेत नवनिर्वाचित पालिका अध्यक्ष लिम्बूले आफ्नो निर्वाचन घोषणापत्रमै आफू चढ्ने गाडीलाई एम्बुलेन्स बनाउने भनी सार्वजनिक गर्नुभएको थियो । उहाँले निर्वाचित भएपश्चात पदभार ग्रहण गर्दै पालिकाका बासिन्दा कोही बिरामी भएमा सवारी साधनका लागि आफू सम्पर्क गर्न आह्वान गर्नुभएको थियो । उहाँको घोषणाअनुसारको योजना शनिबारदेखि कार्यान्वयनमा आएको पाइएको छ । यता, नवनिर्वाचित अध्यक्ष लिम्बूको घोषणा तथा प्रतिवद्धता कार्यान्वयनमा आएसँगै चौतर्फी प्रसंशा सुरु भएको छ । जिल्लाकै एक बिकट भौगोलिक क्षेत्र भएको फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष चढ्ने गाडी एम्बुलेन्सका रुपमा प्रयोगमा आउनुले पालिकावासीका लागि ठूलो राहत पुगेको समाजका अगुवा बताउँछन् । त्यस्तै, स्थानीय जनताको सुविधाका लागि गाउँपालिको एक एम्बुलेन्स खरिद गर्ने योजना बनाएको पनि अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।
लडेर वृद्ध र डुबेर युवकको मृत्यु
चन्द्र पन्दाकताप्लेजुङ, जेठ १५ गते । ताप्लेजुङमा एकैदिन भीरबाट लडेर एक वृद्ध र पानीमा डुबेर एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको पाथीभरा याङ्वरक गाउँपालिका–२ थेचम्बुका ६७ वर्षीय जयप्रकाश तामाङको भीरबाट लडेर मृत्यु भएको हो । तामाङको बाख्रा चराउने क्रममा शनिबार भीरबाट लडेर मृत्यु भएको हो । यस्तै मेरिङ्देन गाउँपालिका–५ थुकिमाका २० वर्षीय ङिमा शेर्पाको पानीमा डुबेर मृत्यु भएको छ । शेर्पाको पनि शनिबार नै गाउँ नजिक रहेको सबुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । मृतकमध्ये तामाङको शव शनिबार नै जिल्ला अस्पतालमा पोष्टमार्टम गरी आफन्तलाई बुझाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी कुशराम कार्कीले जानकारी दिनुभयो । कार्कीकाअनुसार शेर्पाको शव आइतबार विहान पोष्टमार्टम गरी परिवारलाई बुझाउने तयारी गरिएको छ ।
मानसिक सन्तुलन नभएकी महिलाले जन्माउनुभयो रुखको फेदमा शिशु
हरि कोइरालाउर्लाबारी, जेठ १५ गते । झापा र मोरङको चारकोसे झाडीसँगै जोडिएको पूर्वपश्चिम राजमार्ग किनारमा छोडिएका मानसिक सन्तुलन गुमेका भारतीय नागरिकको व्यवस्थापन असजिलो बन्दै गएको छ । शनिबार दिउँसो ३ बजे मोरङको कानेपोखरी – ५ स्थित भौसाबारीमा पहिचान नभएका मानसिक असन्तुलन भएकी महिलाले पीपलको फेदमा एक शिशुलाई जन्म दिएकी छन् ।स्थानीय र स्वास्थ्यकर्मीको सहयोगमा ती महिलाले छोरीलाई जन्म दिनुभएको छ । स्थानीयले तीन महिना अघिदेखि सोही पीपलको रुखमुनि बस्दै आएक ती महिला गर्भवती रहेको सूचना गाउँपालिकालाई दिएका थिए । सोही सूचनाका आधारमा गाउँपालिका अध्यक्ष राजमति इङ्नाम र उपाध्यक्ष भोलाप्रसाद अधिकारी उद्धारका लागि शनिबार पुग्नुभएको थियो । उद्धारका लागि पुग्नु अगावै स्वास्थ्यकर्मीको सहायतामा महिलाले बच्चा जन्माउनुभयो । स्वस्थ बच्चा जन्मिएपछि गाउँपालिका अध्यक्ष र उपाध्यक्षको टोलीले महिलालाई विराटनगरस्थित मानव सेवा आश्रममा पठाएको छ ।मानसिक सन्तुलन गुमाएकी ती महिलाको भाषा बुझिँदैन । पूर्वपश्चिम राजमार्गको कानेपोखरीबाट तीन महिना अघि घुम्दै भौंसाबारी चौक पुगेका थिए । देशलाई सडक मानव मुक्त बनाउने ओली सरकारको अभियान अन्तर्गत कानेपोखरी गाउँपालिकाले यसअघि १० जना सडक महिलालाई मानव सेवा आश्रम विराटनगरमा सुरक्षित वासका लागि पु¥याइसकिएको छ ।
मोरङको बेलबारी दुर्घटनामा दुईको मृत्यू
हरि कोइरालाउर्लाबारी, जेठ १५ गते । मोरङको बेलबारी –१० भाउन्नेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । को १० प ३५९९ नम्बरको मोटरसाइकल शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैँचा नगरपालिका–११ का २५ वर्षीय राजेश धिमाल र पछाडि सवार २४ वर्षीय अनील चौधरीको मृत्यु भएको हो ।दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम विराटनगर लगिएको थियो । चौधरीको राति ९ः४० बजेतिर र धिमालको आइतबार विहान ६ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ३८८७ नम्बरको बस र सडकमा रोकेर राखेको को २ त ८५५९ नम्बरको ट्याक्टर मध्ये कुन सवारी साधनमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो भन्ने यकिन भइसकेको छैन । बस र ट्याक्टर तथा दुवै सवारीसाधनका चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
नवजात शिशु मृत फेला, अविवाहित युवती पक्राउ
शेरबहादुर राईओखलढुङ्गा, जेठ १५ गते । सिद्धिचरण नगरपालिका–२ ठुलाछापमा नवजात शिशुको शव फेला परेको छ । शनिबार ठुलाछापको पुरानो पानी ट्याङ्कीभित्र बोरामा पोको पारेको अवस्थामा शिशुको शव फेला परेको हो । अवैध सम्बन्धबाट जन्मिएको शिशु सालनालसहित कसैले फालेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक सुकदेव खनालले बताउनुभयो । घटनाको प्रकृति हेर्दा करिब तीन चार दिन अघि शिशु जन्माएर फालेको हुनसक्ने प्रहरी नायब उपरीक्षक खनालको भनाइ छ । यसै क्रममा शिशु जन्माएर फालेको आशङ्कामा एक अविवाहित युवतीलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा सङ्लग्न एक पुरुष फरार रहेको प्रहरीको भनाइ छ । उनको खोजी भइरहेको छ । युवती र उनको परिवारमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिनुभयो । घटनामा सङ्लग्न पुरुष विवाहित रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी निरीक्षक अधिकारीको भनाइ छ । मृत शिशुको पोष्टमार्टम् तथा अनुसन्धानका लागि टिचिङ अस्पताल काठमाडौं पठाइएकोे जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
सुत्केरी र ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स
नवनिर्वाचित भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले पदबहाली ग्रहण गरेसँगै तीनवटा नीतिगत निर्णय गर्नुभएको छ । नगरपालिकाका अति विपन्न परिवारलाई निःशुल्क खानेपानी तथा विद्युत् लाइन जडान, ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र प्रसूति सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा र सदरमुकाम र आसपासमा रहेको अव्यवस्थित विद्युत्को तार हटाएर व्यवस्थित किसिमको कालो केबल तारलगाउनेसहित तीनवटा नीतिगत निर्णयभएका छन् ।
कोसी कोरिडोरले सडक स्तरोन्नति गर्ने
ताप्लेजुङको ढुङ्गेसाँघुस्थित दोभान–तिरतिरे–तेल्लाबुङ सडक खण्ड कोसी कोरिडोरले स्तरोन्नति गरिदिने भएको छ । निर्माणाधीन कोसी कोरिडोरको सव स्टेसनले प्रभाव पार्ने उक्त सडक खण्डको स्तरोन्नति कोसी कोरिडोर आयोजनाले गरी दिनेभएको हो ।