लडेर वृद्ध र डुबेर युवकको मृत्यु
चन्द्र पन्दाकताप्लेजुङ, जेठ १५ गते । ताप्लेजुङमा एकैदिन भीरबाट लडेर एक वृद्ध र पानीमा डुबेर एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको पाथीभरा याङ्वरक गाउँपालिका–२ थेचम्बुका ६७ वर्षीय जयप्रकाश तामाङको भीरबाट लडेर मृत्यु भएको हो । तामाङको बाख्रा चराउने क्रममा शनिबार भीरबाट लडेर मृत्यु भएको हो । यस्तै मेरिङ्देन गाउँपालिका–५ थुकिमाका २० वर्षीय ङिमा शेर्पाको पानीमा डुबेर मृत्यु भएको छ । शेर्पाको पनि शनिबार नै गाउँ नजिक रहेको सबुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । मृतकमध्ये तामाङको शव शनिबार नै जिल्ला अस्पतालमा पोष्टमार्टम गरी आफन्तलाई बुझाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी कुशराम कार्कीले जानकारी दिनुभयो । कार्कीकाअनुसार शेर्पाको शव आइतबार विहान पोष्टमार्टम गरी परिवारलाई बुझाउने तयारी गरिएको छ ।
मानसिक सन्तुलन नभएकी महिलाले जन्माउनुभयो रुखको फेदमा शिशु
हरि कोइरालाउर्लाबारी, जेठ १५ गते । झापा र मोरङको चारकोसे झाडीसँगै जोडिएको पूर्वपश्चिम राजमार्ग किनारमा छोडिएका मानसिक सन्तुलन गुमेका भारतीय नागरिकको व्यवस्थापन असजिलो बन्दै गएको छ । शनिबार दिउँसो ३ बजे मोरङको कानेपोखरी – ५ स्थित भौसाबारीमा पहिचान नभएका मानसिक असन्तुलन भएकी महिलाले पीपलको फेदमा एक शिशुलाई जन्म दिएकी छन् ।स्थानीय र स्वास्थ्यकर्मीको सहयोगमा ती महिलाले छोरीलाई जन्म दिनुभएको छ । स्थानीयले तीन महिना अघिदेखि सोही पीपलको रुखमुनि बस्दै आएक ती महिला गर्भवती रहेको सूचना गाउँपालिकालाई दिएका थिए । सोही सूचनाका आधारमा गाउँपालिका अध्यक्ष राजमति इङ्नाम र उपाध्यक्ष भोलाप्रसाद अधिकारी उद्धारका लागि शनिबार पुग्नुभएको थियो । उद्धारका लागि पुग्नु अगावै स्वास्थ्यकर्मीको सहायतामा महिलाले बच्चा जन्माउनुभयो । स्वस्थ बच्चा जन्मिएपछि गाउँपालिका अध्यक्ष र उपाध्यक्षको टोलीले महिलालाई विराटनगरस्थित मानव सेवा आश्रममा पठाएको छ ।मानसिक सन्तुलन गुमाएकी ती महिलाको भाषा बुझिँदैन । पूर्वपश्चिम राजमार्गको कानेपोखरीबाट तीन महिना अघि घुम्दै भौंसाबारी चौक पुगेका थिए । देशलाई सडक मानव मुक्त बनाउने ओली सरकारको अभियान अन्तर्गत कानेपोखरी गाउँपालिकाले यसअघि १० जना सडक महिलालाई मानव सेवा आश्रम विराटनगरमा सुरक्षित वासका लागि पु¥याइसकिएको छ ।
मोरङको बेलबारी दुर्घटनामा दुईको मृत्यू
हरि कोइरालाउर्लाबारी, जेठ १५ गते । मोरङको बेलबारी –१० भाउन्नेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । को १० प ३५९९ नम्बरको मोटरसाइकल शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैँचा नगरपालिका–११ का २५ वर्षीय राजेश धिमाल र पछाडि सवार २४ वर्षीय अनील चौधरीको मृत्यु भएको हो ।दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम विराटनगर लगिएको थियो । चौधरीको राति ९ः४० बजेतिर र धिमालको आइतबार विहान ६ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ३८८७ नम्बरको बस र सडकमा रोकेर राखेको को २ त ८५५९ नम्बरको ट्याक्टर मध्ये कुन सवारी साधनमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो भन्ने यकिन भइसकेको छैन । बस र ट्याक्टर तथा दुवै सवारीसाधनका चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
नवजात शिशु मृत फेला, अविवाहित युवती पक्राउ
शेरबहादुर राईओखलढुङ्गा, जेठ १५ गते । सिद्धिचरण नगरपालिका–२ ठुलाछापमा नवजात शिशुको शव फेला परेको छ । शनिबार ठुलाछापको पुरानो पानी ट्याङ्कीभित्र बोरामा पोको पारेको अवस्थामा शिशुको शव फेला परेको हो । अवैध सम्बन्धबाट जन्मिएको शिशु सालनालसहित कसैले फालेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक सुकदेव खनालले बताउनुभयो । घटनाको प्रकृति हेर्दा करिब तीन चार दिन अघि शिशु जन्माएर फालेको हुनसक्ने प्रहरी नायब उपरीक्षक खनालको भनाइ छ । यसै क्रममा शिशु जन्माएर फालेको आशङ्कामा एक अविवाहित युवतीलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा सङ्लग्न एक पुरुष फरार रहेको प्रहरीको भनाइ छ । उनको खोजी भइरहेको छ । युवती र उनको परिवारमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिनुभयो । घटनामा सङ्लग्न पुरुष विवाहित रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी निरीक्षक अधिकारीको भनाइ छ । मृत शिशुको पोष्टमार्टम् तथा अनुसन्धानका लागि टिचिङ अस्पताल काठमाडौं पठाइएकोे जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
सुत्केरी र ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स
नवनिर्वाचित भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले पदबहाली ग्रहण गरेसँगै तीनवटा नीतिगत निर्णय गर्नुभएको छ । नगरपालिकाका अति विपन्न परिवारलाई निःशुल्क खानेपानी तथा विद्युत् लाइन जडान, ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र प्रसूति सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा र सदरमुकाम र आसपासमा रहेको अव्यवस्थित विद्युत्को तार हटाएर व्यवस्थित किसिमको कालो केबल तारलगाउनेसहित तीनवटा नीतिगत निर्णयभएका छन् ।
कोसी कोरिडोरले सडक स्तरोन्नति गर्ने
ताप्लेजुङको ढुङ्गेसाँघुस्थित दोभान–तिरतिरे–तेल्लाबुङ सडक खण्ड कोसी कोरिडोरले स्तरोन्नति गरिदिने भएको छ । निर्माणाधीन कोसी कोरिडोरको सव स्टेसनले प्रभाव पार्ने उक्त सडक खण्डको स्तरोन्नति कोसी कोरिडोर आयोजनाले गरी दिनेभएको हो ।
किमाथाङ्का नाका अझै खुलेन
दुई वर्षअघि कोरोना सङ्क्रमण सुरु भएसँगै बन्द गरिएको किमाथाङ्का नाका अझै खुलेको छैन । चीनसँगको नेपालको नाका नखुल्दा भोटखोलाका नागरिकको दिनचर्यामा समस्या परेको छ । लामो समयसम्म नाका नखुल्दा मुख्यगरी भोटखोला गाउँपालिका–१ किमाथाङ्का, २ च्याम्ताङ र ३ हुङ्गुङका नागरिकलाई समस्या परेको हो । सङ्खुवासभा जिल्ला सदरमुकाम खाँदबारीसँग सडक सञ्जाल नजोडिएको त्यस क्षेत्रका बासिन्दा खाद्यान्न, लत्ताकपडालगायतका सामग्रीका लागि चीनको तिब्बतको भर पर्दै आएका थिए ।
उद्यम गर्न चाहनेले सहयोग पाउने
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले उद्यम गर्न चाहानेलाई सहयोग गर्ने भएको छ । घरेलु उद्यम सञ्चालन गरी आत्मनिर्भर बन्ने चाहाने किसानलाई नगरपालिकाले सहयोग गर्ने जनाएको हो ।
महिनावारी स्वच्छता दिवसमा सचेतना मुलक कार्यक्रम
सुनसरीमा महिनावारी स्वच्छता दिवसको अवसरमा विभिन्न सचेतना मुलक कार्यक्रम भएको छ । जिल्लाको सदरमुकाम इनरुवामा साझेदारी नेपालले विभिन्न स्थानमा महिनावारी स्वच्छतासम्बन्धी जनचेतना विस्तार गर्ने उद्देश्यले हाजिरीजवाफ, अन्तरक्रिया र फोटो प्रदर्शनी सम्पन्न गरेको हो ।