• ४ जेठ २०८१, शुक्रबार

चौथो खेलमा नेपाल २८ रनले पराजित

एक खेल अगाडि वेस्ट इन्डिजले जित्यो नेपालविरुद्धको सिरिज

blog

काठमाडौँ, वैशाख २० गते । पाँच खेलको टी–२० सिरिज एक खेल अगावै वेस्ट इन्डिज ‘ए’ ले जितेको छ । नेपालको घरेलु मैदानमा बिहीबार वेस्ट इन्डिजले एक खेल अगाडि सिरिज ३-१  ले जितेको हो ।

पहिलो खेल चार विकेटले जितेको नेपालले त्यसपछि लगातार तीन खेल गुमाएपछि सिरिज वेस्ट इन्डिजले जितेको हो ।दोस्रो खेलमा १० रनले विजयी भएको वेस्ट इन्डिजले तेस्रो खेलमा ७६ रनको शानदार जित निकालेको थियो ।बिहीबार भएको चौथो खेलमा नेपाल २८ रनले पराजित भएको हो ।


बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा  दुई सय ९ रन बनाएको थियो ।

वेस्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले अविजित ८४ रन बनाउनुभयो । यस्तै जोनसन चार्ल्सले ५८ र फाबिएन एलेनले अविजित ३३ रन बनाउनुभयो । बलिङमा नेपालका कुशल भुर्तेलले दुई तथा प्रतिश जिसीले एक विकेट लिनुभयो । 

चौथो खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले अर्धशतक बनाउनुभयो । उहाँले ४७ बल खेल्दै सात चौका र पाँच छक्काको मद्दतमा ८४ रन बनाउनुभएको हो । उहाँले यसअघि पहिलो खेलमा शतक र दोस्रो खेलमा अर्धशतक बनाउनु भएको थियो । 

शनिबार भएको पहिलो खेलमा उहाँले शतकीय इनिङ खेल्नुभएको थियो । उहाँले ५४ बल खेल्दै ११२ रन बनाउनुभएको थियो । आइतबार भएको दोस्रो खेलमा नटआउट ७१ रन बनाउनुभएका पौडेललाई तेस्रो खेलमा भने आराम दिइएको थियो ।


चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालका लागि कप्तान पौडेलबाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर आशिफ शेख दुई बलको सामना गर्दै शून्यमा आउट हुँदा कुशल भुर्तेलले पाँच बलमा १ रन जोडेका थिए । कुशल मल्ल चार बलमा ४ रन जोड्दै आउट भए । नेपालका लागि सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले समान १९–१९ रन जोड्नुभयो । अविनाश बोहोरा १७ र सोमपाल कामीले १० रन जोड्नुभयो ।  पूरै २० ओभर खेल्दै नेपाल सबै विकेट गुमाएर १८१ रनमा समेटिएको हो । 

नेपाललाई सस्तैमा समेट्न म्याथ्यू फोर्ड र हेडेन वाल्शले समान तीनतीन विकेट लिनुभयो भने गुडाकेश मोती र फेबियन एलेनले दुईदुई विकेट हात पार्नुभयो । सिरिजको अन्तिम खेल शनिबार कीर्तिपुरमा हुनेछ ।