• ३० असार २०८२, सोमबार

पहिरोले परिवार र घर गुमाएका थापालाई नयाँ घर हस्तान्तरण

blog

काठमाडौँ, असार ३० गते । काभ्रेपलान्चोकको नमोबद्ध नगरपालिका१  श्यामपाटीकी लीला थापाका लागि गत वर्ष २०८१ भदौ २१ गतेको रात जीवनकै दशा आइपर्‍यो । घर माथिबाट आएको पहिरोले घरबार त सिनित्तै बगायो । पापी पहिरोले घरको निशाना समेत नराखी घर बगायो अनि त्यो मात्र नभएर हुर्किएका एक छोरा र छोरीलाई समेत पहिरोमा गुमाउनु पर्‍यो । 

त्यसपछि घरबार विहीन भएर बिचल्लीमा परेका थापा परिवारका लागि दिनरात काट्न निकै कष्ट भोग्नु परेको थियो । थापा परिवारको बिचल्ली देखेपछि सामाजिक सेवामा तल्लीन सावर्स एक्सन नेपाल नामक संस्थाले घर निर्माण गरी दिएका छन् । संस्थाले आइतबार एक कार्यक्रमको आयोजना गरी थापा परिवारलाई घर हस्तान्तरण गरेको छ । लीला थापाको आँखाबाट खुसीको आँसु झर्‍यो उहाँ घरको चाबी हातमा लिँदै भन्नुभयो, अव मेरो जीवनमा खुसी पलायो सुखले जिउने कोसिस गर्नेछु ।  


गत वर्षको भदौ २१ गते पहिरोले घरसँगै बगाएर निधन हुनुभएका जेठी छोरी ललिशा थापा र कान्छो छोरा कृष्ण थापा । तस्बिरः गोरखापत्र

गत वर्षको भदौ २१ गते घरमाथिबाट आएको पहिरोले घरसँगै उहाँको जेठी छोरी ललिशा थापा र कान्छो छोरा कृष्ण थापाको ज्यान गएको थियो। पहिरोले घर पूर्ण रूपमा नष्ट भएपछि थापा परिवारलाई सावर्स एक्सन नेपालले १२ लाख रुपियाँ खर्चेर घर निर्माण गरी हस्तान्तरण गरेका हुन् । 

यो मात्र नभएर सावर्स एक्सन नेपालको विगत तथा दुर्गम क्षेत्रका विद्यार्थीहरूको सहयोगका लागि काम गर्दै आएको सावर्स एक्सन नेपालका अध्यक्ष आचार्य पासाङ वाङ्दी शेर्पाले जानकारी दिनुभयो । गाँस र बाँस सँगै लत्ताकपडा अभावमै समस्या झेल्नु पर्ने पीडितहरूका लागि सहयोग गर्न पाउनु नै खुसी भएको बताउनुहुँदै अध्यक्ष लामाले आउने दिनहरूमा समेत यस्ता कार्यहरू गर्दै जाने बताउनुभयो । 


 काभ्रेपलान्चोकको नमोबद्ध नगरपालिका–१  श्यामपाटीमा रहेको घर पहिरोले बगाएपछिको अवस्था । तस्बिरः गोरखापत्र

 नमोबद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामा समेतको उपस्थितिमा घर हस्तान्तरण गरिएको थियो । घर हस्तान्तरण कार्यक्रममा नमोबद्ध वडा नं १ का वडाध्यक्ष प्रेम लामा, थ्राङ्गु गुम्बा, नमोबद्धका अध्यक्ष खेन्पो छोञी रङ्डोल, उपाध्यक्ष लामा कर्म फुर्बु, नमोबद्ध ग्याङ गुठीका अध्यक्ष, लोब्साङ लामा, सञ्चारकर्मी फुनु शेर्पा समेतको उपस्थिति रहेको थियो । 


पहिरोले घर बगाएपछि पुन नयाँ घर पाएपछि खुसीले घर देखाउदै लीला थापाकी छोरा ललेस । तस्बिरः गोरखापत्र