धनकुटामा थपिए ६७७ नयाँ उद्योग
धनकुटामा ६७७ वटा नयाँ उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७८/७९ को एक वर्षको अवधिमा ६७७ वटा नयाँ उद्योग थपिएका हुन् ।
करम पूर्वसन्ध्या कार्यक्रम सम्पन्न
इनरुवामा पाँचौँ करम पूर्वसन्ध्या तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। यहाँ बसोबास गर्ने उराँव समुदायले आफ्नो महान् पर्व करम पूजाको अवसरमा पूर्वसन्ध्या तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो। नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान इनरुवाको आयोजनामा करम पूर्वसन्ध्या कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले जानकारी दिनुभयो। भाद्र पूर्णिमाको दिन करम पूजा मनाइने भएकाले त्यस अघि नै जमरा राखेको र सोही जमरा लगाएर करम पूजासहित सांस्कृतिक कार्यक्रम गरेको जनाएको छ । करम पूजा मनाउनलाई एक हप्ता अगाडि बाजा–गाजासहित स्थानीय नदीबाट जमरा राख्न बालुवा ल्याएर जमरा राखिएको र शनिबार जमरा लगाएर पूजासँगै पाँचौँ करम पूर्वसन्ध्या तथा सांस्कृतिक कार्यक्रम गरेको उराँवले जानकारी दिनुभयो। कार्यक्रमको उद्घाटन गर्दै सङ्घीय सांसद सीताराम मेहताले उराँव प्रतिष्ठान निर्माणमा आधा करोड बजेटदेखि प्रत्येक वर्ष करम पूजामा समेत आफू र आफ्नो पार्टीले सहयोग गर्दै आएको बताउनुभयो।
अझै हात परेनन् पुस्तक
नयाँ शैक्षिक सत्र सुरु भएको चार महिना बितेको छ। चार महिना बित्दासमेत धनकुटाका जिल्लामा रहेका सामुदायिक विद्यालयका विद्यार्थीले नयाँ पाठ्यपुस्तक पाउन सकेका छैनन्। यस वर्षको शैक्षिक सत्र जेठ १ गतेबाट सुरु भए पनि यहाँका आधारभूत तथा माध्यमिक तहका विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गरेका हुन्। १४ वर्षकी विद्यार्थी विनिता राई जिल्लाको साँगुरीगढी गाउँपालिका–७, महाभारतमा रहेको गोलखाडी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत हुनुहुन्छ तर उहाँले अहिलेसम्म पूरा सेट नयाँ पुस्तक पाउनुभएको छैन। “हामीले शैक्षिक सत्र सुरु हुँदा नै नयाँ पुस्तक पाउँछौँ भन्ने सुनेको थिएँ तर अहिलेसम्म पूरा सेट पुस्तक पाएका छैनौँ,” राईले भन्नुभयो। पुराना पुस्तक प्रयोग गर्न धेरै समस्या हुने गरेको राईको भनाइ छ। पुराना पुस्तकको सेट नै नपाइने तथा पाइहाले च्यातिएको मात्र पाइने उहाँको गुनासो छ।
शिक्षकशिक्षिकालाई ल्यापटप
सामुदायिक विद्यालयमा सूचना प्रविधिमा आधारित शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न सदरमुकाम गाईघाटस्थित त्रियुगा नमुना माध्यमिक विद्यालयले शिक्षकहरूलाई ल्यापटप वितरण गरेको छ। सो विद्यालयले आधुनिक शिक्षामा जोड दिँदै शिक्षकहरूलाई पहिले प्रविधिमैत्री बनाउने र त्यसपछि विद्यार्थीमा सोअनुसारको ज्ञान सीप हस्तान्तरण गर्दै जाने उद्देश्यले शिक्षक शिक्षिकाहरूलाई ल्यापटप वितरण गरिएको विद्यालयका प्रधानाध्यापक सुवास विष्टले बताउनुभयो।
पाँचथरको फिदिम पुग्दा घुम्ने ठाउँ (फोटो फिचर)
छिनमा घाम लाग्ने, छिनमै धुम्मिने र छिनमै कुहिरो लाग्ने । मौसम परिवर्तन भइरहँदा पाँचथर सदरमुकाम फिदिम क्षेत्रको दृश्य पनि परिवर्तन भइरहन्छ ।
नेपाली सेनाद्वारा अभियानमा सहयोग गर्नेलाई प्रशंसापत्र प्रदान
नेपाली सेनाले सञ्चालन गरेको ‘सफा हिमाल अभियान’ मा सहयोग र सहकार्य गर्ने पालिकाहरुलाई प्रशंसापत्र प्रदान गरेको छ । ताप्लेजुङस्थित कञ्चनजङ्घा हिमाल सरसफाइमा सहयोग गर्ने यहाँको फक्ताङ्लुङ गाउँपालिकालाई नेपाली सेनाले प्रशंसापत्र प्रदान गरेको हो ।
चार दशक बित्दा पनि बुधबारे बजार उस्तै
सडक सञ्जालले छोएको ४३ वर्ष बितिसक्दा पनि धनकुटा जिल्लाको सदमुकामबाट सुदुरपूर्वमा रहेको छ नं बुधबारे बजार ग्रामीण सहरको स्तरबाट उठ्न सकेको छैन ।
घटाइयो करका दर
सरकारले चालू आर्थिक वर्षको बजेटमा उल्लेख गरिएका केही वस्तुको करका दर घटाएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले जीआई वायर, सेनेटरी प्याड, एमएस बिलेट र खानेतेलको करको दर घटाउने निर्णय गरेको हो । बजेटमा यी वस्तुमा करको दर वृद्धि गरिएपछि विराटनगरका उद्योगीले विरोध जनाएका थिए । सरकारले चालू आर्थिक वर्षको बजेटमा एमएस वायर रड, सेनेटरी प्याड र वनस्पति घिउतेलमा वृद्धि गरेको करको दर संशोधन गरेपछि सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगीले खुसी व्यक्त गरेका छन् । जीआई वायरको कच्चा एमएस रडमा १० प्रतिशत कायम गरिएको भन्सार महसुललाई पाँच प्रतिशत र सेनेटरी प्याडको कच्चापदार्थमा शतप्रतिशत भन्सार महसुल घटाइएकोप्रति उद्योगीले सकारात्मक टिप्पणी गरेका हुन् ।
चर्चामा मोरङको चार नम्बर क्षेत्र
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले उम्मेदवार सिफारिस गरिरहेका छन्। सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस मोरङले पनि जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार प्रदेश समिति समक्ष सिफारिस गरिसकेको छ। योबीचमा जिल्लाका अन्य क्षेत्रभन्दा क्षेत्र नम्बर ४ को चर्चा चुलिएको छ। जिल्लाका ६ वटा क्षेत्रमध्ये क्षेत्र नं. ४ बाट सबैभन्दा धेरै आकाङ्क्षी देखिएका छन्। केन्द्र तथा जिल्लामा प्रभाव राख्ने पाँच जना नेताको नाम एउटै क्षेत्रबाट सिफारिस भएपछि कांग्रेस वृत्तमा क्षेत्रको चर्चा चुलिएको हो। केन्द्रीय सदस्य अमृत अर्याल, पूर्वमहानगरप्रमुख भीम पराजुली, बौद्विक नेताको छवि बनाउनुभएका महेश आचार्य, नेपाल विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष गुरुराज घिमिरे र पूर्वराज्यमन्त्री दीलिप गच्छदारले एकसाथ यही क्षेत्रको दाबी गरेपछि राजनीति रोमाञ्चक मोडमा पुगेको हो।
बीपी प्रतिष्ठानको व्यवस्थापन चुनौतीपूर्ण
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहकुलपति भवानीप्रसाद खापुङले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउनुभएको छ। करिब एक हजार आठ सय कर्मचारी, एक हजार पाँच सय विद्यार्थी र तीन सय शिक्षक रहेको प्रतिष्ठानमा दैनिक १० हजारको सङ्ख्यामा बिरामी र कुरुवा उपस्थित हुनेभएकोले प्रतिष्ठानको व्यवस्थापनमा चुनौती रहेको उहाँको भनाइ छ। यसलाई मिलाएर लैजानु सबैको दायित्व भएको भन्दै स्वास्थ्यमन्त्री खापुङले सबैलाई आ–आफ्नो जिम्मेवारी इमानदार भएर निर्वाह गर्न आग्रह गर्र्नुभयो।
एक हजार पाँच सय मतदाताको नाम हटाइयो
ताप्लेजुङमा मतदाता नामावली अद्यावधिकको क्रममा एक हजार पाँच सय जनाको नाम हटाइएको छ । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका अनुसार मृत्यु भएका र दोहोरो नाम भएकाहरुको नामावली हटाइएको हो ।
धनकुटामा चुनावी चहलपहल बढ्यो
धनकुटामा गठबन्धनमा रहेका मध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले प्रतिनिधिसभाका लागि टिकट दाबी गरिरहेका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा गठबन्धनमा रहेका अन्य दल भने यो दौडमा देखिँदैनन्।
सार्वजनिक स्थानमा गमलासहितको फूल राखिँदै
दमकमा बसपार्कसहितका सार्वजनिक स्थानमा फूल तथा विरुवासहितका गमला राख्ने अभियान शुरु गरिएको छ । शुक्रबार दमक नगर प्रमुख राम थापा र उपप्रमुख गीता अधिकारीले यो अभियानको औपचारिक उदघाटन गर्नुभएको छ ।
जग्गा वर्गीकरण ढिलाइले राजस्वमा घाटा
जग्गा वर्गीकरण गर्ने उद्देश्यले कित्ताकाट रोक्का गरिएसँगै मालपोत कार्यालय पाँचथरबाट संकलन हुनेगरेको राजश्वमा ह्रास आएको छ । जग्गा रोक्काले कारोबार प्रभावित हुँदा साठी प्रतिशतसम्म राजश्व घटेको कार्यालय प्रमुख बाबुराम पोख्रेलले बताउनुभयो ।
ज्यान जोखिममा राखेर खोला वारपार गर्दै विद्यार्थी
मानेभन्ज्याङ गाउँपालिका –८ काभ्रेटारका आकेश राई सुनकोशी गाउँपालिका –३ सिस्नेरीको पञ्चकन्या माध्यमिक विद्यालयको कक्षा ४ मा पढ्छन् । अर्का कमल राई सोही विद्यालयको कक्षा ८ मा पढ्छन् । उनीहरुलाई घरबाट विद्यालय पुग्न पैदल दुई घण्टाभन्दा बढी समय लाग्छ ।
मप्राविवि र गोरखापत्रबीच सम्झौता
गोरखापत्र संस्थान र देशकै पहिलो प्राविधिक विश्वविद्यालयको रूपमा स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयबीच आपसमा सहकार्य गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ। विश्वविद्यालयका समग्र गतिविधिका बारेमा सूचना, सन्देशलगायत प्रचार–प्रसार र प्रवद्र्धनात्मक सामग्री गोरखापत्र दैनिक तथा संस्थानका अन्य प्रकाशनमार्फत सार्वजनिक गर्ने गराउने विषयमा बिहीबार मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विश्वविद्यालयको कार्यालयमा सम्झौतापत्रमा दुई पक्षीय हस्ताक्षर सम्पन्न भएको हो।
विशेष प्रकृतिका विद्यालय सम्हाल्ने ‘हेडमिस’
विराटनगर–३ स्थित विराट महेन्द्र रात्रि माध्यमिक विद्यालयमा दिवा र रात्रिकालीन अध्ययन अध्यापन हुँदै आएको छ। कक्षा १–५ दिवा र ६–१० को साँझ ५ बजेदेखि राति ९ बजेसम्म पढाइ हुँदै आएको हो। दिनभरि मजदुरी गरेर बेलुका विद्यालय पढ्न चाहने विद्यार्थीका लागि रात्रिकालीन विद्यालय सञ्चालन गरिएको हो। अन्य विद्यालयसँग तुलना गर्न नमिल्ने विराट महेन्द्रको जिम्मा महिला प्रधानाध्यापक दुर्गा निरौलाले सम्हाल्दै आउनुभएको छ। यो विद्यालय रात्रिकालीन भएकोले ‘टिफिन टाइम’ भने छुट्याइएको छैन।
धरानमा कोसीको पानी ल्याउन अध्ययन
धरानमा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि चतराबाट सप्तकोसीको पानी ल्याउन अध्ययन सुरु भएको छ। खानेपानी मन्त्रालयद्वारा नियुक्त परामर्शदाता तथा विज्ञ टोली धरान आएर काम सुरु गरेको हो। टोलीले धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई साम्पाङ, धरान खानेपानी बोर्डका कार्यकारी निर्देशक इन्जिनियर राजु पोखरेललगायतको टोलीसँग परामर्श गरी काम थालेको छ। टोलीमा मन्त्रालयले देशका विभिन्न नगरको पूर्वाधार विकासका लागि नियुक्ति गरेका परामर्शदाता नेपाली कम्पनी सिम्याट र भारतीय कन्सल्टेन्ट वेभकसका तर्फबाट परिचालित भारतीय तथा नेपाली प्राविधिक तथा विज्ञ छन्। टोलीले धरानको खानेपानीको दीर्घकालीन समाधानका लागि सप्तकोसीबाट पानी ल्याउन सक्ने सम्भाव्यता अध्ययन, अनुसन्धान र सर्भे सुरु गरेको प्रमुख साम्पाङले बताउनुभयो।
एक सय ८० जनालाई पीपीआर तालिम
शेर्पा बालबालिका सहायता संघले सोलुखुम्बुका १८० जना भन्दा बढीलाई प्राथमिक उपचार सम्बन्धिको तालिम (पीपीआर) प्रदान गरेको छ । संघले विभिन्न समयमा विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी र प्रहरीलाई गरी एक सय ८० जनालाई उक्त तालिम प्रदान गरेको अध्यक्ष निमा शेर्पाले जानकारी दिनुयभो ।
ताप्लेजुङबाट भट्टराईसहित पाँच जनाको नाम सिफारिस
नेकपा (एमाले) ताप्लेजुङले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि केन्द्रीय सविच योगेशकुमार भट्टराईसहितको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सचिव भट्टराईसहित पाँच जनाको नाम सिफारिस गरेको हो ।
ओखलढुङ्गा एमालेले उम्मेदवार टुङ्ग्यायो
नेकपा (एमाले) ओखलढुङ्गाले उम्मेदवार छनौटको काम टुङ्ग्याएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेशसभा निर्वाचनका लागि एमाले ओखलढुङ्गाबाट उठ्ने उम्मेदवारको नाम टुङ्गो लगाएको हो ।
चार महिना बित्दासमेत विद्यार्थीलाई हात लागेन पुस्तक
नयाँ शैक्षिकसत्र सुरु भएको चार महिना बितेको छ । चार महिना बित्दासमेत धनकुटामा रहेका सामुदायीक विद्यालयका विद्यार्थीले नयाँ पाठ्यपुस्तक पाउन सकेका छैनन् । यस वर्षको शैक्षिकसत्र जेठ १ गतेबाट सुरु भए पनि यहाँका आधारभूत तथा माध्यमिक तहका विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गरेका हुन् ।
गायक शम्भु राई धनकुटाबाट सिफारिस
हिले, भदौ २३ गते । गायक शम्भु राई धनकुटाबाट प्रतिनिधि सभा सदस्यमा समानुपातिकतर्फ सिफारिस हुनुभएको छ । धनकुटाको पाख्रिवास नगरपालिका वडा नम्बर १० चुम्माङ्ग जन्मथलो रहेका राईलाई नेकपा [माओवादी केन्द्र]ले सिफारिस गरेको हो । उहाँसँगै तीन व्यक्तिलाई समेत सिफारिस गरेको छ । त्यस्तै केन्द्रले प्रतिनिधि सभा प्रत्यक्षतर्फ युवा नेता हेमराज भण्डारीलाई चयन गरेको छ । भण्डारी २०७४ सालको धनकुटा एकबाट संविधान सभा सदस्यसमेत हुनुहुन्छ ।नेकपा माओवादी केन्द्रले धनकुटामा बिहीबार पत्रकार सम्मेलन गरी आफ्ना उम्मेदवार सार्वजनिक गरेको हो । त्यस्तै केन्द्रले प्रदेश क र ख प्रत्यक्ष तर्फ ४/४ जना तथा समानुपातिकतर्फ ५/५ जना सिफारिस गरेको छ ।
बीमाबापतको मृत्युदावी रकम प्रदान
ताप्लेजुङस्थित फरवार्ड माइक्रो फाइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेडले मृत्यु भएका सेवाग्राहीको आफन्तलाई बिमाबापतको मृत्युदावी रकम उपलब्ध गराएको छ । संस्थाले फुङ्लिङ शाखामा सदस्य बनी कर्जालगायत संस्थासँग नियमित कारोबार गर्ने फुङ्लिङ नगरपालिका–४ की कालीमाया हेम्ब्या मादेनको लिम्बूको आफन्तलाई मृत्युदावी रकम उपलब्ध गराएको हो ।