• १२ असोज २०८१, शनिबार

मतपपत्रमा छापैछाप !

blog

झापाको दमकमा झापा क्षेत्र नं. ५ अन्र्तगत प्रदेश सभा सदस्यको निर्वाचनको मतगणनाको क्रममा सबै चुनाव चिह्नमा मत हालेको बदर मतपत्र देखाउदै गणक। तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर ६ गते। झापाको क्षेत्र नम्बर ५ मा मतगणना भइरहेको छ। मतगणनामा बसेका गणकदेखि लिएर राजनीतिक दलका प्रतिनिधि मतपत्रमा मतदाताले गरेको मतदानको शैली देखेर अचम्मित बनेका छन्। एकातिर अपेक्षा अनुसार मत नखसेको र अर्कोतिर बदर मत धेरै भएको देखिन्छ।

राजनीतिक दलको प्रतिनिधिको रुपमा रहनु भएका शुकदेव लुइटेलका अनुसार मतपत्रमा हानिएका छाप हेर्दा अचम्मअचम्म देखिएको छ। कसैले मतपत्रमा भएका सबै चुनाव चिह्नमा मत हालेको र कसैले सबै चुनाव चिह्नमा हालेर पनि वरिपरि पटकपटक स्वस्तिक छाप पनि हानेको भेटिएको हो।

उहाँका अनुसार एउटै मतपत्रमा चारछाप, दूईवटा चुनाव चिह्नमा र उल्टोबाट समेत स्वस्तिक छाप हानेको पाइएको छ। दुईदेखि तीन प्रतिशतसम्म यस्तो प्रकारको मतपत्र रहने गरेको उहाँले बताउनुभयो। ‘कतिपयले आक्रोशले र कतिपयले मतदाता शिक्षाको कमीले यस्तो हानेको हुनसक्छ’, उहाँले भन्नुभयो।

राजनीतिक दलको प्रतिनिधिको रुपमा गणनास्थलमा रहनु भएका रविन गुरुङका अनुसार ‘नो भोट’, ‘प्रदेश सरकार चाहिदैन’ लेखिएको र त्यसै खाली मतपत्र पनि गणनाको क्रममा धेरै पाइएको छ। ‘धेरै मतदाता शिक्षाको कमीका कारण मतपत्र बदर भएको र थोरै मतपत्रमा जनताले आक्रोश पोखेको जस्तो लाग्छ’, उहाँले भन्नुभयो।

निर्वाचन अधिकृतको कार्यालय झापा क्षेत्र नम्बर ५ मा मतगणनास्थलमा रहनु भएका नेकपा (एमाले) झापाका अध्यक्ष दीपक कार्कीले जानजान मतदाताले मतपत्र बदर गर्ने गरी आफ्नो प्रतिक्रिया दिएको देखिएको छ। ‘मतदान प्रक्रियाको विषयमा र मतदाता शिक्षा राजनीतिक दलले दिन नसक्दा पनि यस्तो भएको हुनसक्छ’, उहाँले भन्नुभयो। 

प्रदेश सभा सदस्यको मतपत्रमा भने जनताको आक्रोश मिश्रित प्रतिक्रिया धेरै रहेको पाइएको भन्दै उहाँले यस विषयमा गम्भीर समीक्षा आवश्यक रहेको जनाउनुभयो।