युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउन संयुक्त राष्ट्रसंघको आग्रह
संयुक्त राष्ट्रसंघले युक्रेनमा मानवीय सहायता उपलब्ध गराउन आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउनका लागि आग्रह गर्नुभएको हो ।
चीनमा पुनः बढ्न थाले कोरोना भाइरसका सङ्क्रमित
चीनमा केही दिनयता कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या बढ्न थालेको पाइएको छ । पछिल्लो केही दिनयता सङ्क्रमित व्यक्तिको सङ्ख्या बढ्न थालेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीले बताएका छन् ।
पोर्टल्याण्डमा गोली चल्दा एक जनाको मृत्यु, ३ किशोर घाइते
अमेरिकी शहर पोर्टल्याण्डमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने तीन नाबालिग घाइते भएको पोर्टल्याण्ड प्रहरी ब्युरोले जनाएको छ ।
आर्थिक सङ्कटसँग जुध्न श्रीलङ्कामा १७ मन्त्री नियुक्त
श्रीलङ्कामा उत्पन्न आर्थिक सङ्कटसँग जुध्न राष्ट्रपति गोटाबाय राजापाक्षले नयाँ १७ मन्त्री नियुक्त गर्नुभएको छ । मन्त्रीपरिषद् विस्तार गरेपछि देशमा उत्पन्न राजनीतिक सङ्कट तथा आन्दोलनलाई समेत व्यवस्थापन गर्न सजिलो हुने अपेक्षा गरिएको छ ।
आसाममा चट्याङ लागेर १४ को मृत्यु
भारतको आसाम राज्यमा चट्याङ लागेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ । आइतबार यहाँ आएको भिषण वर्षा र चट्याङमा परेर ती नागरिकको ज्यान गएको बताइएको छ । आसाममा शुक्रबारदेखि व्यापक वर्षा भएको छ । वर्षासँगै हावाहुरी पनि आएको र यहाँका कतिपय भौतिक संरचनामा पनि क्षति पुर्याएको थियो ।
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या झण्डै ९० प्रतिशतले वृद्धि
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या झण्डै ९० प्रतिशतले बृद्धि भएको छ । कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा रहेको ओमिक्रोनको सङ्क्रमण पछिल्लो केही दिनदेखि फेरि बढ्न थालेको छ सोमबार दिइएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक हजार १५० जना सङ्क्रमित भएका छन् ।
अफगानिस्तानले प्राप्त गर्यो तीन करोड बीस लाख डलर मानवीय सहयाता
काबुल, वैशाख ५ गते । अफगानिस्ताले आइतबार तीन करोड २० लाख अमेरिकी डलर बराबरको मानवीय सहायता प्राप्त गरेको बताएको छ । अफगानिस्तानका लागि विभिन्न अन्तर्राष्ट्रिय दाताहरुले सहयोग उपलब्ध गराइरहेका छन् । सोही बमोजिम आइतबार उक्त सहायता प्राप्त गरेको बताइएको हो ।अफगानिस्ताको केन्द्रीय बैंक, द अफगानिस्तान बैंकले आइतबार ट्वीट गरेर यस विषयमा जानकारी दिएको थियो ।गतवर्षको अगष्टमा अफगानिस्तानको शासन व्यवस्था तालिबानले कब्जा गरेका थिए । यहाँको तालिबान सरकारलाई दाताहरुले औपचारिक रुपमा वैदेशिक सहायता उपलब्ध गराएका छैनन् ।जसका कारण आर्थिक समस्यामा परेको अफगानिस्तानका लागि विभिन्न विदेशी समुदायले मानवीय सहायता स्वरुप आर्थिक सहयोग तथा लत्ता कपडा एवं खाद्यान्न उपलब्ध गराउँदै आएका छन् ।आइतबार यहाँको सरकारले आर्थिक सहायता प्राप्त गरेको पनि सो बैंकले जानकारी दिएको छ ।
तीन जना चिनियाँ अन्तरिक्ष यात्री छ महिनापछि पृथ्वीमा अवतरण
बेइजिङ, वैशाख ३ गते । चीनको नयाँ अन्तरिक्ष स्टेशनमा छ महिनापछि शनिबार तीन अन्तरिक्ष यात्रीे पृथ्वीमा अवतरण गरेका छन् ।यो अन्तरिक्ष यात्रीको अहिलेसम्मकै सबैभन्दा लामो मिशनमा सफलता हो । अन्तरिक्ष यात्रीको पृथ्वीमा अवतरणपछि चीनको अन्तरिक्ष महत्वाकांक्षामा एउटा ऐतिहासिक सफलता मिलेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्रले अन्ततः मानिसलाई चन्द्रमामा पठाउने आशाका साथ आफ्नो सैन्य–चालित अन्तरिक्ष कार्यक्रममा अरबौंको बजेट राखेको छ ।चीनले संयुक्त राज्य अमेरिका र रूसलाई भेट्न निकै लामो यात्रा गरेको छ, जसका अन्तरिक्ष यात्री तथा अन्तरिक्षयात्रीहरूको अन्तरिक्ष अन्वेषणमा दशकौंको अनुभव छ ।सन् १९५७ मा सोभियत संघले स्पुत्निक प्रक्षेपण गरेको केही समय नबित्दै चिनियाँ कम्युनिष्ट पार्टीका तत्कालिन अध्यक्ष तथा राष्ट्रपति माओ त्सेतुङले ‘हामी (चिनियाँ) हरूले पनि भूउपग्रह बनाउनेछौं ।” यसको लागि एक दशकभन्दा बढी समय लाग्यो तर सन् १९७० मा चीनले लङ मार्च रकेटमा आफ्नो पहिलो उपग्रह प्रक्षेपण गरेको थियो।मानव अन्तरिक्ष उडानको लागि दशकौं लागेपनि सन् २००३ मा पहिलो चिनियाँ ‘ताइकोनट’ बन्न याङ लिवेइ सफल हुनुभएको थियो । प्रक्षेपण नजिकिंदै जाँदा, मिशनको क्षमताबारेको चिन्ताले बेइजिङले अन्तिम क्षणमा प्रत्यक्ष टेलिभिजन प्रसारण रद्द गरेको भन्ने भनाइहरू अन्तर्राष्ट्रि सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यद्यपि, चिन्ताबीच चिनियाँ मिसन जारी भयो । याङले शेन्झाउ–५ मा २१ घण्टे उडानको दौडान १४ पटक पृथ्वीको परिक्रमा गर्नुभएको थियो । चीनले त्यसबेलादेखि सातवटा चालक दलका मिशनहरू सुरु गरेको छ ।
भारतमा थप ९४९ जनामा कोभिड सङ्क्रमण
नयाँदिल्ली, वैशाख २ गते । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शुक्रबार बढेर चार करोड ३० लाख ३९ हजारभन्दा बढी पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ९४९ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ३९ हजार ९७२ पुगेको स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले देखाएको छ ।यसका साथै बिहीबार बिहानसम्म महामारीका कारण थप छ जनाको मृत्यु भएपछि कुल मृतकको सङ्ख्या पाँच लाख २१ हजार ७४३ पुगेको छ । अझै पनि यहाँ ११ हजार १९१ कोरोनाका सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ । पछिल्लो २४ घण्टामा १३३ सक्रिय सङ्क्रमित बढेको पाइएको छ । ७८ दिनपछि देशमा सक्रिय सङ्ख्या बढेको हिजो दोस्रो दिन भएको समाचारमा जनाइएको छ । हालसम्म चार करोड २५ लाख सात हजार ३८ जना सफलतापूर्वक निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा ८१० जना डिस्चार्ज भएका समाचारमा जनाइएको छ ।
अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेन भ्रमण नगर्ने : ह्वाइट हाउस
वासिङ्टन, वैशाख २ गते । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन भ्रमण नगर्ने ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले बताएका छन् ।बुधबार, अमेरिकी सञ्चारमाध्यमले जनाएअनुसार राष्ट्रपति बाइडेन प्रशासनले भोलोडिमिर जेलेन्स्कीसँग भेट्न एक उच्चस्तरीय अधिकारीलाई कीभ पठाउने बिचार गरिरहेको छ । उक्त उच्चस्तरीय टोलीमा उपराष्ट्रपति कमला ह्यारिस, विदेशमन्त्री एन्टोनी ब्लिन्केन वा रक्षामन्त्री लोयड अस्टिन सहभागी हुन सक्ने बताइएको छ । ‘होइन, हामीले राष्ट्रपतिलाई युक्रेन पठाउँदैनौं, साकीले सो कुरा बताएको पोलिटिको ह्वाइट हाउस संवाददाता यूजीन डेनियलले उद्धृत गर्दै उल्लेख गरेका छन् । थुप्रै विदेशी नेता र उच्च अधिकारीहरूले हालै युक्रेन भ्रमण गरिरहेका छन् र रुसी सैन्य कारबाहीको विरुद्धमा युक्रेनको पक्षमा समर्थन व्यक्त गरेका छन् ।
बेलायतद्वारा भाल्नेभाको कोभिड–१९ खोप अनुमोदन
लन्डन, वैशाख १ गते । बेलायतले अस्ट्रिया–फ्रान्सेली औषधि निर्माता भाल्नेभाको नयाँ कोरोनाभाइरस खोपलाई अनुमोदन गरेको छ । बेलायतको नियामक प्राधिकरण एमएचआरएले बिहीबार उक्त जानकारी दिएको छ । ‘भाल्नेभाको नयाँ कोरोनाभाइरस खोपले आवश्यक सुरक्षा, गुणस्तर र प्रभावकारिता मापदण्डहरू पूरा गरेको पाइएपछि स्वीकृति दिइएको छ,’ औषधि तथा स्वास्थ्य सेवा उत्पादन नियामक निकायले एक विज्ञप्तिमा उक्त जानकारी दिइएको छ ।
फिलिपिन्समा बाढी र पहिरोबाट ११५ को मृत्यु
अबुयोग, वैशाख १ गते । फिलिपिन्समा बाढी र पहिरोबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ११५ पुगेको सरकारी अधिकारीहरुले बिहीबार जनाएका छन् । उद्धारकर्ताहरूले पहिरोको कारण माटोमा पुरिएका थप शव निकालेका पनि ती अधिकारीहरुले थप जानकारी दिएका छन् । यस शक्तिशाली आँधीका कारण लेयटको मध्य प्रान्तको बेबे सहर वरपरका गाउँहरूमा धेरै व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ । यस वर्ष आएको सबैभन्दा शक्तिशाली आँधी र धेरै दिनदेखि जारी रहेको भारी वर्षाका कारण दशौं हजारलाई विस्थापित भएका छन् ।कैयौ मानिसहरू अझै हराइरहेका छन् । हराइरहेका ती मानिसहरु मारिएका हुन सक्नेसमेत त्रास बढेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।
फिलिपिन्समा अगाटन आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो
मनिला, वैशाख १ गते । फिलिपिन्समा आएको उष्णकटिबंधीय आँधी अगाटोनका कारण मृत्यु हुनेको सङ्ख्या ७६ पुगेको राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले जनाएको छ ।प्रकोपको नकारात्मक नतिजाहरूको सामना गर्ने मानिसहरूको सङ्ख्या भने नौ लाख २० हजारभन्दा बढी रहेको जनाइएको छ। एनडीआरआरएमसीका अनुसार विपद्का कारण एक लाख ६२ हजारभन्दा बढीले आफ्नो घर छोडेका छन् ।आँधी अगाटोनका कारण आइतबार देशको पूर्वी तटमा ६० किलोमिटर (३७ माइल) प्रति घण्टाको गतिमा हावा चलेको थियो। अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो गएको छ ।
अष्ट्रेलियाद्वारा १४ रुसी कम्पनीमाथि नयाँ प्रतिबन्ध
क्यानबेरा, वैशाख १ गते । अष्ट्रेलिया सरकारले युक्रेनबाट तुरुन्तै आफ्नो सैन्य बल फिर्ता गर्न रुसलाई आह्वान गर्दै १४ रुसी राज्य–स्वामित्व भएका उद्यमहरू विरुद्ध लक्षित आर्थिक प्रतिबन्ध लगाएको छ ।एक आधिकारिक विज्ञप्ति अनुसार सूचीमा यातायात कम्पनी कामज र शिपिंग कम्पनीहरू सेभमाश र युनाइटेड शिपबिल्डिङ कर्पोरेशन जस्ता रक्षा सम्बन्धित कम्पनीहरू समावेश छन् ।प्रतिबन्धहरू इलेक्ट्रोनिक कम्पोनेन्ट कम्पनी रुजेलोक्ट्रोनिक्ससँग सम्बन्धित छ जसले रूसी इलेक्ट्रोनिक्स कम्पोनेन्टहरूको लगभग ८० प्रतिशत उत्पादन ओगट्दछ । तिनीहरू रूसी रेलवेसँग पनि सम्बन्धित छन् जुन विश्वको सबैभन्दा ठूलो यातायात कम्पनीहरू मध्ये एक हो ।अष्ट्रेलियाली सरकारले रुसका सरकारी स्वामित्वका उद्यमहरूलाई लक्षित गरी जारी प्रतिबन्धात्मक कदमले रुसी अर्थतन्त्रलाई बढावा दिने उनीहरूको क्षमतालाई कमजोर पार्ने उद्देश्य रहेको बताएको छ ।युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको लागि आफ्नो समर्थन दोहोर्याउँदै, अष्ट्रेलिया सरकारले रुस सरकारका लागि राजस्वका यी महत्त्वपूर्ण स्रोतहरूसँगको कारोबार रोक्न र उनीहरूले रुसमाथि दबाब बढाउँदै गएका छन् । गत फेब्रुअरी २४ मा रूसले युक्रेनमा ‘विशेष सैन्य अपरेशन’ सुरु गर्यो जसलाई पश्चिमा देशहरूले अप्रत्याशित युद्धको संज्ञा दिएका छन् ।
बस दुर्घटनामा सत्रको मृत्यु
आदिसअबाबा, चैत २७ गते । इथियोपियामा भएको सडक दुर्घटनामा परी १७ जनाको ज्यान गएको छ । यहाँका अधिकारीहरुले शनिबार भएको सो दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।इथियोपियाको ओर्मिया नामक मध्य क्षेत्रमा अवस्थित राज्यमा सो दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परेर अरु केही घाइते भएका छन् । यात्रुबाहक बसले क्षमताभन्दा बढी यात्रु बोकेका कारणले दुर्घटनामा परेको यहाँ सो राज्यको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार बसले आफ्नो क्षमताभन्दा धेरै बढी संख्यामा यात्रु बोकेको थियो । त्यसमा के कति जना थिए भन्ने बारेमा भने प्रहरीले केही बताएको छैन । प्रहरीले दुर्घटनाको अरु पनि केही कारण छ कि भनेर अनुसन्धान सुरु गरेको बताएको छ । सोही क्षेत्रमा गएको मंगलबार पनि बस र ट्याक्सी आपसमा जुधेर भएको दुर्घटनामा परी छ जनाको ज्यान गएको थियो भने अरु पाँच जना घाइते भएका थिए । उक्त ओमरिया राज्यको अदाबा जिल्लामा केही समय यतादेखि दुर्घटना बढेको भन्दै प्रहरीले अनुसन्धान थालेको यहाँका यातायात अधिकारीहरुले जानकारी दिएका छन् ।
ट्रम्पले आगामी अमेरिकी राष्ट्रपति चुनावमा उम्मेदवारी दिन सक्ने
वासिङ्टनअमेरिका, चैत २७ गते । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले फेरि राष्ट्रपतिको उम्मेदवारी दिनसक्ने बताउनुभएको छ । यद्यपि यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक घोषणा भने भइसकेको छैन । “सत्य यो हो कि म दुई पटक राष्ट्रपतिको दौडमा भाग लिएँ, मैले दुई पटक जितें, मैले पहिलो पटकभन्दा दोस्रो पटक धेरै राम्रो गरें। र अब हामीले यो फेरि दौडमा भाग लिनुपर्ने हुनसक्छ।के यहाँ कोही छ जसले मलाई निर्वाचनमा भाग लिएको हेर्न चाहन्छरु“ सेल्मा, उत्तरी क्यारोलिनामा शनिबारको ¥यालीमा ट्रम्पले आफ्ना समर्थकहरूलाई प्रतिप्रश्न गर्नुभयो । ट्रम्पले अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनलाई “एकपछि अर्को अपमानजनक आत्मसमर्पण“ गरेको आरोप लगाउनुभएको छ । ट्रम्पले अमेरिकासँग सबैभन्दा बलियो आणविक क्षमता भएको पनि औंल्याउनुभयो ।मार्चको अन्त्यमा ट्रम्पले फक्स बिजनेशलाई भन्नुभएको थियो उहाँ अहिले पनि राष्ट्रपति भइरहेको भए रुसलाई आणविक पनडुब्बीको धम्की दिनुहुने थियो। यस महिनाको शुरुमा द हिलले रिपोर्ट गरेको पोल डाटाले ट्रम्प सन् २०२४ को काल्पनिक राष्ट्रपति अभियान म्याचअपमा राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस दुबैभन्दा अगाडि भएको देखाएको थियो । –रासस–एएनआई–स्पुतनिक
अमेरिकामा रात्रि क्लबमा गोली चल्दा २ जनाको मृत्यु, १० घाइते
वासिङ्टन, चैत २८ गते । अमेरिकी राज्य आयोवाको एक रात्रि क्लबमा गोली चल्दा दुई जनाको मृत्यु हुनाको साथै अन्य १० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।गोलीबारी स्थानीय समयानुसार आइतबार बिहान १ः२७ बजे डाउनटाउन सिडर र्यापिड्सको ट्याबू नाइटक्लबमा भएको थियो ।गोली लागेर दुई जनाको मृत्यु भएको छ । अन्य घाइते १० जनालाई नजिकैको अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । प्रहरीले सम्भावित संदिग्धको बारेमा खोजी जारी राखेको छ ।
जोर्डनका राजा उपचारका लागि जर्मनी प्रस्थान
अम्मान, चैत २८ गते । जोर्डनका राजा अब्दुल्लाह द्वितीय उपचारका लागि जर्मनी प्रस्थान गर्नुभएको छ । उहाँको स्वास्थ्यमा गम्भीर समस्या देखा परेपछि त्यसको उपचारका लागि आकस्मिक रुपमा जर्मनी लाग्नुभएको हो ।यहाँको रोयल हासेमित कोर्टले जोर्डनका राजाको स्वास्थ्यमा असर देखिएपछि उपचारका लागि अकस्मिकरुपमा जर्मनी प्रस्थान गर्नुभएको बताएको छ ।उहाँको अनुपस्थितिमा जोर्डनका युवराज अल हसन बिन अब्दुल्लाह द्वितीयले जोर्डनको मन्त्रिपरिषदको उपस्थितिमा यहाँको कार्यकारीका रुपमा सपथ लिनुभएको छ । सो कुरा उक्त कोर्टले विज्ञप्तिमार्फत् आइतबार जानकारी दिएको छ । राजा उपचार गरेर नफर्किँदा सम्म यहाँको राजाले गरी आएका सबै कार्य युवराजले गर्ने गरी यहाँको मन्त्रिपरिषदले उहाँलाई सपथ गराएको हो ।
न्युयोर्कका मेयरलाई कोरोना पोजेटिभ
न्युयोर्क, चैत २८ गते । अमेरिकाको न्युयोर्क सहरका मेयरलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । न्युयोर्कका मेयर एरिक आदम्सलाई कोरोना पोजेटिभ देखिएको उहाँको कार्यालयले जनाएको छ । मेयर आदम्सको कार्यालयले आइतबार विज्ञप्ति प्रकाशन गरेर उहाँलाई कोरोना भाइरस देखिएको जानकारी दिएको अमेरिकाबाट विभिन्न सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।सो विज्ञप्तिमा उहाँलाई भाइरसको त्यस्तै कुनै असर नदेखिएको तर उहाँको स्वास्थ्य रिपोर्ट भने कोरोना पोजेटिभ आएको पाइएको बताइएको छ ।उहाँ आइसोलेसनमा बस्नुभएको र अबको एक हप्ता उहाँले कुनै पनि सार्वजनिक कार्यक्रमहरु सहभागीता नजाउने पनि सो विज्ञप्तिमार्फत् जानकारी दिइएको छ ।यहाँ अहिले पनि कोरोना भाइरसको प्रकोप देखिएको छ । गत शनिबारको रिपोर्ट अनुसार यहाँ २४ घण्टा भित्रमा १२ हजार ८०० जनालाई कोरोना पोजेटिभ देखिएको थियो ।न्युयोर्कमा यहाँका नागरिकलाई कोरोनाको निःशुल्क स्वास्थ्य जाँच र निःशुल्क औषधि उपलब्ध गराइएको छ ।यहाँ अहिलेसम्म आठ करोड नागरिकलाई कोरोना पोजेटिभ देखिएको छ । अमेरिका कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित भएका विश्वका देशहरुमध्येमा पर्दछ ।