• ९ मंसिर २०८१, आइतबार

सरकारलाई सचेत गराउन पूर्वप्रधानमन्त्री खानको माग

blog

पाकिस्तानका पूर्वप्रधानमन्त्री एवम् पाकिस्तान तहरीक–ए–इन्साफ पार्टी (पिटिआई)का अध्यक्ष इमरान खान ।

इस्लामावाद, चैत ११ गते । पाकिस्तानका पूर्वप्रधानमन्त्री एवम् पाकिस्तान तहरीक–ए–इन्साफ पार्टी (पिटिआई) का अध्यक्ष इमरान खानले सरकारले आगामी आम निर्वाचन स्थगन गर्नसक्ने भएकाले संविधान उल्लङ्घन हुन नदिन सरकारलाई सचेत गराउन माग गर्नुभएको छ ।

नेता खानले आज भिडियो लिङ्कमार्फत आफ्नो पार्टीका कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै शासकहरूबाट भएको संवैधानिक प्रावधानको उल्लङ्घन रोकिनुपर्नेमा जोड दिँदै न्यायालयलाई त्यसमा हस्तक्षेप गर्न आग्रह गर्नुभएको हो । असुरक्षा र आर्थिक समस्यालाई देखाएर आम निर्वाचन स्थगन गर्न वर्तमान सरकार उद्यत रहेको आरोप पनि उहाँले लगाउनुभयो ।

संविधानको उल्लङ्घनले विधिको शासन र मौलिक अधिकार हनन हुने बताउँदै पूर्वप्रधानमन्त्री खानले सरकारका गलत निर्णयमा अङ्कुश लगाउन तथा संविधानको रक्षाका निम्ति ठोस कदम चाल्न अनुरोध गर्नुभयो ।

वर्तमान सरकारले संविधानमाथि प्रहार गरेको आरोप लगाउँदै उहाँले आवधिक निर्वाचनको प्रत्याभूतिका निम्ति न्यायमूर्तिहरूले सरकारी बहानाबाजीलाई मान्न नहुनेमा जोड दिनुभयो ।

सर्वोच्च अदालतको पाँच सदस्यीय इजलासले गरेको निर्णयलाई सरकारले बेवास्ता गरेको बताउँदै नेता खानले आफूले जनतालाई वास्तविक स्वाधीनता दिन खोजेको र देश छाडेर कतै नभाग्ने अडान दोहोर्‍याउनुभयो । सरकारले आम जनतामा त्रास फैलाउन खोजेको आरोप लगाउँदै शासकविरुद्ध डटेर लाग्न आह्वान गर्नुभयो ।

पाकिस्तानको निर्वाचन आयोगले आगामी महिनाका निम्ति निर्धारण गरिएको उपनिर्वाचन आगामी अक्टोबर ८ सम्म स्थगन गरिएको घोषणा गरेपछि संविधान मिचिएको जिकिर गर्दै न्यायाधीशहरूलाई सरकारी कदम सच्चाउने आदेशका निम्ति आग्रह गर्नुभएको एआरवाई न्युजले जनाएको छ ।

यसैबीच, निर्वाचन आयोगले विदेशमा बसेका पाकिस्तानीबाट पार्टीलाई प्राप्त रकम फुकुवाका निम्ति पिटिआईले पेस गरेको निवेदन अस्वीकार गरेको छ । आयोगले विदेशबाट प्राप्त रकमलाई अवैध भन्दै जफत गर्ने घोषणा गरेको छ । आयोगले गत अगष्ट पार्टीलाई प्राप्त रकम अवैध भएको जनाएको थियो । रासस/एएनआई