बेइजिङ, चैत १३ गते । टोकियोले आफ्ना एक नागरिकलाई रिहा गर्न बेइजिङलाई आग्रह गरेपछि चीनले जासुसीको आरोपमा एक जापानी नागरिकलाई हिरासतमा लिएको सोमबार पुष्टि गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा भन्नुभयो, “सम्बन्धित चिनियाँ अधिकारीहरूले यसै महिना एक जापानी नागरिकविरुद्ध कानुनअनुसार बलजफती आपराधिक कदम चालेका छन् ।”
माओले भन्नुभयो, “यी जापानी नागरिकमाथि आपराधिक कानुन र जनवादी गणतन्त्र चीनको जासुसी विरोधी कानुनको उल्लङ्घन गर्दै जासुसी गतिविधिमा संलग्न भएको आशङ्का गरिएको छ ।”
उहाँले भन्नुभयो, “चीन विधिको शासन भएको देश हो । चीनमा रहेका सबै विदेशी नागरिकले चिनियाँ कानुनको पालना गर्नुपर्छ र दोषीलाई कानुनअनुसार कारबाही हुन्छ ।”
जापानी सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले सोमबार पत्रकारसँग कुरा गर्दै चीनस्थित टोकियोको दूतावासलाई ‘यसै महिना ५० वर्षीय एक जापानी नागरिकलाई बेइजिङमा पक्राउ गरिएको’ जानकारी दिइएको बताउनुभयो ।
उहाँले प्रक्रिया परेका व्यक्तिको पहिचान, उहाँको कथित अपराध वा उहाँ कहिले पक्राउ पर्नुभएको थियो भन्नेबारे कुनै विवरण दिनुभएन ।
मात्सुनोले भन्नुभयो, “हामीले यो घटनाबारे थाहा पाएदेखि नै जापानी सरकारले ती जापानी नागरिकलाई तत्काल रिहा गर्न जोडदार आग्रह गर्दै आएको छ ।” टोकियोले ती व्यक्तिसँग ‘कन्सुलर एक्सेस’को पनि माग गरिरहेको उहाँले बताउनुभयो । रासस/सिन्ह्वा