जीवछ यादव
लहान,चैत २९ गते । लहान नगरपालिका वडा २४ मा रहेको सहलहेस धार्मिक पर्यटकीय स्थल मानिक दहमा डिहवार मन्दिर निर्माण कार्य सम्पन्न भएको छ । गाउँलेको रक्षाको लागि तराइ मधेशमा हरेक गाउँको सीमाभित्र डिहवार मन्दिर रहेको छ । डिहवारको पूजा गाउँलेले चन्दा उठाएर असार १ गते गर्ने चलन परापूर्वकालदेखि चल्दै आइरहेको छ ।
पर्यटकीय स्थलसम्म जान सरे खोलामा पुल निर्माणको कार्य समेत अन्तिम चरणमा पुगेकोले पर्यटकीय स्थलमा बाह्रै महिना पर्यटकीय आइरहने स्थानीयहरूले बताएका छन् । नौ बिघामा फैलिएको दहमा लहान नगरपालिकाले ८५ लाखको लागतमा दह जलाशयमा मन्दिर निर्माग सम्पन्न भएपछि दहको रौणकतामा वृद्धि भएको छ ।
लोक नायक सलहेस मानिक दहमा स्नान गर्ने र लहान–१२ र २२ मा पर्ने सलहेस फूलबारीमा फूल टिप्ने धार्मिक आस्था रहेको मानिकदहको धार्मिक पर्यटकीय विकास हुनुपर्ने स्थानीयहरूको माग अनुसार यस ठाउँको सौन्दर्यीकरणको कार्य भइरहेको लहान नगरपालिका वडा २४ का वडाध्यक्ष रासलाल राय राजपुतले बताउनुभयो । उहाँका अनुसार यस दहमा मन्दिर निर्माणकार्य सम्पन्न भएपछि धर्मशाला शौचालय वृक्षारोपण र लहान नगरपालिकाको सहरी क्षेत्रसँग जोडने पिच सडक निर्माणको कार्यलाई अघि बढाएको उहाँले जानकारी गराउनुभयो ।
२०७४ सालमा यस सिराहा-१ बाट निर्वाचनमा उम्मेदवार हुनुभएको समयमा स्वर्गीय नेता प्रदीप गिरी निर्वाचनको समयमा गरिएको प्रतिबद्धता अनुसार यहाँ निर्वाचित भएपछि गर्नुभएको पहलले सरे खोलामा पुल निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । पुल निर्माणले यस क्षेत्रको विकासका लागि ढोका खोल्नुको अर्का स्थानीय मानव अधिकारवादी अगुवा राजकुमार राउतले सुनाउनुभयो ।
उहाँका अनुसार झुटकी गाउँलाई चारैतिरबाट सरे खोलाले घेरिएको कारण उपचारका लागि बिरामीलाई अस्पतालसम्म पुर्याउन निकै कठिनाइ थियो भने तरकारी उत्पादन गर्ने किसानहरूलाई लहान बजारसम्म पुर्याउन ठुलो समस्या थियो । पुल निर्माणले पर्यटकीय स्थल मानिकदहकसम्म बाह्रै महिना आउने सहजता हुने भएको छ ।
सलहेस पर्यटकीय क्षेत्रको रूपमा रहेको सलहेश फूलबारी ,मानिक दह,पकडियागढ र सिराहा नगरपालिका-७ मा रहेको सलहेसको जन्मस्थल मैसोथासम्म जोडने सलहेस सर्किटको कार्य तीव्र गतिमा हुनुपर्ने आवश्यक छ । प्रत्येक वर्ष वैशाख १ गते सलहेस फूलबारीमा मेला हेर्न आउने भारतीय धार्मिक पर्यटकीयहरू सलहेससँग जोडिएको सबै धार्मिक पर्यटकीय स्थलहरूमा पुग्ने गर्दछ ।