सडकपेटीका व्यापारीद्वारा ज्ञापनपत्र
चाडपर्व (दशैँ, तिहार, छठ)सम्म व्यापार गर्न पाउनुपर्नेलगायतका माग राख्दै सडकपेटीमा व्यापार गरिरहेका व्यापारीले काठमाडौँ महानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । नेपाल टे«ड युनियन महासङ्घ (जिफन्ट) निकट नेपाल स्वरोजगार श्रमिक व्यापार सङ्घको नेतृत्वमा बिहीबार काठमाडौँका सडकपेटीमा व्यापार गरिरहेका व्यापारीले महानगरको कार्यालय घेराउ गरेका हुन् । घेराउकर्ताले दशैँ, तिहारका बेला बिहान वा साँझको समयमा सडक आवागमनमा असर नपर्ने गरी सडकपेटीमा व्यापार गर्न दिनुपर्ने माग गरेका हुन् ।
छाङरुमा फोरजी सेवा शुरू
दार्चुलाको व्यास गाउँपालिका–१, छाङरुमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ । त्रिदेशीय (नेपाल, भारत र चीन) सिमाना पर्ने दार्चुलाको व्यास गाउँपालिकाको छाङरुमा हेलिकोप्टरबाट उपकरण ढुवानी गरी जडान गरेर बुधबारदेखि सेवा सञ्चालनमा ल्याएको हो । यससँगै नेपाल टेलिकमको फोरजी सेवा पश्चिम नेपालको अन्तिम सिमानासम्म पुगेको छ । नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङका अनुसार टावर निर्माणका सामग्रीसहित उपकरण हेलिकोप्टरबाट ढुवानी गरेर कालापानीभन्दा झन्डै १३ किलोमिटर तल रहेको छाङरुमा बुधबारदेखि फोरजी सेवा सञ्चालनमा ल्याइएको हो ।
बढ्यो विदेशी मुद्रा सञ्चिति पर्याप्तता
विदेशी मुद्राको सञ्चिति घटे पनि वस्तु तथा सेवाको आयात धान्ने समय भने बढेको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको साउन महिनाको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार बैङ्किङ क्षेत्रसँग हाल सञ्चित रहेको नौ अर्ब ४२ करोड डलर (११ खर्ब ९८ अर्ब रुपियाँ)बाट आठ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ । यो असारको तुलनामा एक महिनाभन्दा बढीले वृद्धि हो ।
उत्पादकत्व वृद्धिका लागि सहयोग
एसियाली विकास बैङ्कले किसानको जीविकोपार्जनका लागि करिब आठ अर्ब ८४ करोड रुपियाँ (सात करोड अमेरिकी डलर) ऋण सहयोग स्वीकृत गरेको छ । यसमा छ करोड डलर सहुलियतपूर्ण ऋण सहायता र बाँकी एक करोड डलर एसिया विकास कोषबाट अनुदान सहायता रहेको बैङ्कले जनाएको छ । उक्त सहयोग रकमले प्रदेश बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी जिल्लामा सम्भावित खाद्य असुरक्षाको जखिम कम गर्न तथा फलफूलको उत्पादन र उत्पादकत्व वृद्धि गर्न योगदान गर्ने सो बैङ्कले जनाएको छ ।
ऊर्जा सन्तुलनमा सौर्य ऊर्जा महत्त्वपूर्ण
नेपालको हरित ऊर्जा आपूर्तिलाई सन्तुलित गराउन सौर्य ऊर्जाको विकासलाई अझै तीव्रता दिनुपर्ने आवश्यकता रहेको सरोकारवालाले औँल्याएका छन् । लगानी बोर्डले आयोजना गरेको दिगो पूर्वाधार लगानी मञ्चमा आयोजित ऊर्जामा लगानीसम्बन्धी सत्रमा जलविद्युत् क्षेत्रसँगै सौर्य ऊर्जालाई थप प्रवद्र्धन गर्नु आवश्यक रहेको औँल्याइएको हो । सो कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ग्रिड पुग्न नसकेका स्थानमा सौर्य ऊर्जा अझै विस्तार गर्नुपर्ने बताउनुभयो । खासगरी ठूला जलविद्युत् आयोजना नबनेको पश्चिम नेपालमा ऊर्जा सन्तुलनका लागि सौर्य ऊर्जा आयोजना छिटो बनाउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । उहाँले सौर्य ऊर्जाको विकासकै लागि प्राधिकरणले प्रतिस्पर्धी दरमा ऊर्जा खरिद सम्झौता (पीपीए) गर्ने व्यवस्था गरेको जानकारी दिनुभयो । “विभिन्न स्थानमा करिब ६० मेगावाट क्षमताका सौर्य ऊर्जा आयोजना निर्माणाधीन छन् । यस क्षेत्रमा निजी क्षेत्रले अझै योगदान गर्न सक्ने अवसर छ,” कार्यकारी निर्देशक घिसिङले भन्नुभयो । प्राधिकरणले ऊर्जा सन्तुलनकै लागि हाइड्रोजन उत्पादनको योजनामा पनि काम गरिरहेको बताउनुभयो ।
पर्यटकको रोजाइमा ‘याक चिज’
चौँरीपालनका लागि उपयुक्त स्थान मानिएको पाँचथरको फालेलुङ गाउँपालिकाकामा चौँरीको दूधबाट चिज बनाउन थालिएको हो । स्थानीय किसानकै अगुवाइमा फालेलुङका तीन स्थानमा चिज बनाउन थालिएको हो । फालेलुङमा वर्षौंदेखि चौँरी पालिँदै आए पनि यहाँ उत्पादन भएको चौँरीको दूधबाट घिउ र छुर्पी मात्रै बनाइन्थ्यो । पछिल्लो पटक फालेलुङ–४ को फालौटका सात, चाररातेका सात र घले भन्ज्याङका पाँच गरी १९ जना किसानले १८ लाख रुपियाँको लागतमा तीनवटा डेरी उद्योग सञ्चालन गरेर ‘याक चिज’ उत्पादन गर्न थालेको स्थानीय अगुवा किसान जङ्ग राईले जानकारी दिनुभयो । ती डेरी उद्योगले असार अन्तिम सातादेखि चिज उत्पादन गर्न थालेका हुन् । विदेशी पर्यटकले रुचाउने भएकाले सोलुखुम्बु, काठमाडौँ र पोखराका होटल सञ्चालकले यहाँ उत्पादन भएको याक चिज किनेर लैजाने गरेका छन् ।
अरुण तेस्रो प्रसारण लाइन बन्न ढिलाइ
४०० केभी क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणमा विवाद भएपछि सङ्खुवासभामा प्रसारण लाइन निर्माण हुन सकेको छैन । प्रसारण लाइन विस्तार हुने सात जिल्लामध्ये छ जिल्लामा मुआब्जा वितरण गरी काम सुरु भइसके पनि सङ्खुवासभामा प्रसारण लाइन निर्माणमा विवादका कारण काम सुरु हुन नसकेको हो । जनगुनासो आएपछि जिल्ला समन्वय समितिले सरोकारवालासँग छलफल आयोजना गरेको थियो । कार्यक्रममा सहभागीले अरुण तेस्रो परियोजनाबारे असन्तुष्टि व्यक्त गरेका थिए ।
खाद्यान्नलगायतका वस्तुमा मूल्य वृद्धि
काठमाडौँ, भदौ ३० गते । चाडपर्वको समयमा चामलको मूल्य प्रतिकेजीमा पाँचदेखि १० रुपियाँसम्म महँगो भएको छ । नेपाल खुुद्रा व्यापार सङ्घका अनुसार गएको असारमा सोना मसुली चामल प्रतिकेजी ५५ रुपियाँ रहेकामा भदौदेखि बढेर ६० रुपियाँ पुगेको छ । स्टिम जिरा मसिनो चामल प्रतिकेजीको मूल्य ७५ रुपियाँ थियो भने अहिले एक केजीमै १० रुपियाँ बढेर ८५ रुपियाँ पुगेको छ । यसै अवधिमा पोखरेली चामल प्रतिकेजी ८५ रुपियाँ रहेकामा अहिले ९५ रुपियाँ छ भने लङ्ग्रेन बासमती चामल प्रतिकेजी १४५ रुपियाँ रहेकामा अहिले १५० रुपियाँ पुगेको छ । सङ्घका अनुसार चामल मात्र नभएर दशैँमा बढी माग हुने चिउरा, मैदा, आँटा, गरम मसला, जिरा, धनियाँलगायतका सबै खाद्यवस्तुको पनि भाउ बढेको छ । गत असारमा प्रतिकेजी १३५ रुपियाँ रहेको ताइचिन चिउरा अहिले बढेर १५० रुपियाँ पुगेको छ । दुई महिनाको अवधिमा चिउरा १५ रुपियाँ बढेको छ । आँटा प्रतिकेजीमै १० रुपियाँ बढेको छ भने मैदा प्रतिकेजीमा पाँच रुपियाँ बढेको सङ्घले जनाएको छ । कालीमाटीका खाद्यका थोक तथा खुद्रा व्यापारी महेश महर्जनले पछिल्लो पटक चामल, आँटा मात्रै होइन हरेक खाद्यवस्तुको भाउ बढेको बताउनुभयो । पछिल्लो पटक चामलको भाउ प्रतिकेजीमा १० रुपियाँ बढेको उहाँको भनाइ छ । उहाँका अनुसार चामल मात्रै होइन, एक वर्षको बीचमा खाद्यवस्तुको मूल्य २०–३० प्रतिशतसम्म बढेको हो । अर्का खुद्रा किराना व्यापारी विनोद अधिकारीले भन्नुभयो, “बजारमा कुन वस्तुको भाउ बढ्यो, भन्नुभन्दा पनि कुन वस्तुको भाउ बढेको छैन, त्यो खोज्नुपर्ने बेला आएको छ, नबढेको केही वस्तु नै भेटिँदैन ।”उहाँका अनुसार रुस र युक्रेनको लडाइँपछि इन्धनको मूल्य अत्यधिक बढ्यो । इन्धनको मूल्य बढेपछि त्यसको सोझो असर ढुवानी भाडामा प¥यो । ढुवानी भाडा बढ्नेबित्तिकै त्यसको असर सम्पूर्ण उपभोग्य वस्तु तथा सेवामा पर्न गएको छ । नेपाल खुद्रा व्यापार सङ्घका महासचिव आमुलकाजी तुलाधरले पछिल्लो पटक खानेतेल केही घटे पनि अन्य खाद्यवस्तुको भाउ बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “कृषिप्रधान देश भने पनि हामीकहाँ भारतबाट चामल आउने र अहिले भारतमा नै महँगो भएका कारण मूल्य बढेको छ ।” गत साता मात्रै भारतले धान चामल निर्यातमा २० प्रतिशत कर वृद्धि गरेको छ । नेपालमा वार्षिक करिब ५० अर्ब रुपियाँको धान र चामल आयात हुने गरेको छ । धेरैजसो आयात भारतबाटै हुन्छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष कुल ४७ अर्ब ३५ करोड रुपियाँको धान र चामल आयात भएको छ । कुल आयात हुने वस्तुमा धान र चामलको हिस्सा २ दशमलव ५ प्रतिशत छ । उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले विभिन्न बहानामा दैनिक उपभोग्य वस्तु चामललगायतका वस्तुको मात्रै नभएर हरेक वस्तुको मूल्यवृद्धि हुँदासमेत सरकारका नियमन गर्ने निकाय रमिते बनेको आरोप लगाउनुभयो । “कानुनी रूपमा बजार अनुगमन र नियमन गर्ने अधिकार सङ्घमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, प्रदेश र स्थानीय सरकार तीनै तहका सरकारले गर्नुपर्छ तर बजारमा वाणिज्य विभागबाहेक प्रदेश र स्थानीय सरकारको उपस्थिति शून्यजस्तै रहेको छ अनि कसरी बजार सुध्रिन्छ,” महर्जनले प्रश्न गर्नुभयो । बजार अनुगमनमा स्थानीय सरकार बढी जिम्मेवार नहुँदासम्म बजारको बेथिति अन्त्य नहुने अर्का उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले बताउनुभयो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक होमनाथ भट्टराईले विभागसँग भएको जनशक्तिको भरपूर प्रयोग गरेर दशैँ लक्षित बजार अनुगमनलाई प्राथमिकता दिएको दाबी गर्नुभयो । उहाँका अनुसार अहिले दैनिक चार÷पाँचवटा टोलीले फरकफरक ठाउँ र वस्तुको अनुगमन गर्ने र जथाभावी मूल्य लिने, गुणस्तरमा ठगी गर्नेलाई कानुनअनुसार कारबाही हुँदै आएको छ । चामलको भाउ बढ्नुको कारण पनि खोजी गरिने निर्देशक भट्टराईको भनाइ छ ।
आजदेखि दशैंका लागि नयाँ नोट
काठमाडौं,भदौ २९ गते। नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट वितरण सुरु गरेको छ। नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयले बुधबारबाट सर्वसाधाणका लागि नयाँ नोट वितरण सुरु गरेको हो। राष्ट्र बैंकका सूचना अधिकारी नाराणप्रसाद पोखरेलका अनुसार केन्द्रीय कार्यालयबाट नयाँ नोट दिन सुरु गरिएको हो। एक व्यक्तिले पाँचदेखि एक सय दरका एक एक प्याकेट गरेर १८ हजार ५०० रुपियाँसम्म नयाँ नोट साट्न पाउने छन्।यस पटकको दशैंमा १० अर्ब नयाँ नोट सटही गर्ने नेपाल राष्ट्र बैँकले जनाएको छ।
सहकारीमार्फत सामूहिक कृषिमा जोडिँदै पुम्देली
कृषिप्रतिको बढ्दो अनिच्छासँगै परनिर्भरता बढिरहेका अवस्थामा पोखरा महानगरपालिका–२२ पुम्दीका किसान भने सहकारीका माध्यमबाट सामूहिक कृषिमा जोडिएका छन् ।
मोतीपुर औद्योगिक क्षेत्र विवाद ड्रोनबाट जग्गा नापजाँच
रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गाको नापजाँच गर्ने काम मङ्गलबारदेखि सुरु भएको छ । औद्योगिक क्षेत्रको जग्गा यकिन गर्ने र कसैलाई पनि विस्थापित नगर्ने गरी हालै मात्र गृहमन्त्री बालकृष्ण खाणको पहलमा कार्यदल बनेको थियो । सो कार्यदलले विभिन्न चरणका छलफलपछि जग्गा नापचाँजको काम सुरु गरेको कार्यदलका संयोजक एवं जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक उमाकान्त चापागाईंले जानकारी दिनुुभयो । बुटवल–१७ रानीगञ्जस्थित जनशक्ति प्राथमिक विद्यालय नजिकैबाट नापजाँचको काम सुरु भएको हो ।
औद्योगिक क्षेत्र निर्माण सुरु गर्ने सहमति
बाँकेको नौवस्ता औद्योगिक क्षेत्र निर्माण र बस्ती व्यवस्थापनका बारेमा सर्वदलीय सहमति भएको छ । सो सहमतिसँगै औद्योगिक क्षेत्रको निर्माण प्रक्रिया अघि बढाइने जनाइएको छ । सुकुम्बासीको अवरोधका कारण निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको सो औद्योगिक क्षेत्र निर्माण सुरु गर्न र बस्तीसमेत व्यवस्थापन गर्नका लागि सर्वदलीय सहमति बनेको औद्योगिक क्षेत्रका कार्यालय प्रमुख कृष्णबहादुर पुनले बताउनुभयो ।
शीत भण्डारमा राख्न कृषि उपजकै अभाव
पछिल्लो समय कोल्ड स्टोर (शीत भण्डार) निर्माण तीव्र रूपमा भइरहे पनि भण्डारणका लागि आवश्यक कृषि उत्पादनको भने अभाव देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले आव २०७८÷७९ मा देशैभरिका शीत भण्डारबारे गरेको अध्ययनले शीत भण्डारमा राख्ने कृषिजन्य वस्तुको कमी रहेको औँल्याएको हो ।
क्यासिनोले बुझाए कर
काठमाडौँ महानगरपालिकालाई मनोरञ्जन कर नबुझाउने पाँचवटा क्यासिनोसहित नौवटा संस्थाले ८४ लाख ३४ हजार ३६३ रुपियाँ राजस्व बुझाएका छन् । महानगरले ४५ वटा संस्थालाई मनोरञ्जन कर र सम्पत्ति कर बुझाउन पत्र काटेकोमा नौवटा संस्थाले मात्रै राजस्व बुझाएका हुन् । पत्र काटेका मध्ये दुईवटा क्यासिनोले सञ्चालनमा नरहेको भन्दै कर बुझाएका छैनन् ।
केराउ र सुपारीको आयात खुला
सरकारले केराउ, सुपारी र कालो मरीचको आयात औद्योगिक प्रयोजनको कच्चा पदार्थका रूपमा ल्याउन सकिने गरी खुला गरेको छ । राजपत्रमा सूचना निकालेर आयात खुला गरिएको हो ।
ऐनविपरीत इन्धन आपूर्तिमा अवरोध
पेट्रोलियम ढुवानी व्यवसायीले कानुनविपरीत इन्धनको आपूर्तिमा अवरोध गरेका छन् । व्यवसायीले अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ विपरीत पेट्रोलियम पदार्थको खरिद आदेश (पीडीओ) लिएका छैनन् । पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले ढुवानी भाडा प्रतिवेदन कार्यान्वयन गर्ने माग राखी गत शुुक्रबारदेखि इन्धनको पीडीओ उठाएका छैनन् । अत्यावश्यक सेवा ऐनमा अत्यावश्यक वस्तुको रूपमा रहेको पेट्रोलियम पदार्थको खरिद, ढुवानी, बिक्री वितरण रोक लगाई बन्द हड्ताल गर्न नपाइने व्यवस्था छ । तर व्यवसायीले नियमन उलङ्घन गरेर इन्धन आपूर्तिमा अवरोध गरेका हुन् । पीडीओ नउठाउँदा बजारमा हवाई इन्धनदेखि पेट्रोलियम पदार्थको अभाव हुन थालेको छ ।
नेपालको ऊर्जा क्षेत्रमा हासिल प्रगतिको प्रशंसा
जलविद्युत्मार्फत हरित र उन्नत आधार निर्माणबारेको दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । ऊर्जा क्षेत्रको विश्वव्यापी अवस्था र नेपालले अङ्गीकर गर्नुपर्ने भावी रणनीतिबारे बृहत् छलफल गर्दै सो सम्मेलन मङ्गलबार सम्पन्न भएको हो । दिगो नेपाल हाइड्रो पावर एसोसिएसन र इन्टरनेसनल हाइड्रोपावर एसोसिएसनले सोमबारदेखि आयोजना गरेको सो सम्मेलनमा नेपालको ऊर्जा क्षेत्रले हासिल गरेको प्रगतिको प्रसंशा गर्दै अबका दिनमा अख्तियार गर्नुपर्ने नीतिगत, कानुनी तथा व्यवस्थापका विभिन्न उपायसमेत सुझाइएको छ ।
धान उत्पादन घट्ने चिन्ता
सरकारले स्वीकृति नदिएको धानको बीउ प्रयोग गर्दा धान उत्पादनमा कमी आउने कृषि विज्ञले जनाएका छन् । पछिल्लो समय तराईका दक्षिणवर्ती क्षेत्रमा किसानले भारतबाट सोना मन्सुली धानको बीउ ल्याएर लगाउने गरेका छन् । यसलाई नेपाल सरकारले स्वीकृति भने दिएको छैन । कृषि ज्ञान केन्द्र, महोत्तरीका अनुसार यो धानको बीउ प्रतिबन्धित छ । भारतबाट अवैध रूपमा भित्रिएको यसको बीउ ‘शिथ ब्लाइट’ नामक रोगबाट सङ्क्रमित भएको पाइएको छ । यही कारण यो प्रजातिको धान नलगाउन कृषि विज्ञले आग्रह गर्दै आएका छन् ।
साल्ट ट्रेडिङले तोरीकाे तेल उत्पादन गर्ने
साल्ट ट्रेडिङ कर्पोरेसनले एसटीसी ब्रान्डका तोरीको तेल उत्पादन गर्ने तयारी गरेको छ । आमउपभोक्तालाई गुणस्तरीय खानेतेल उपलब्ध गराउने उद्देश्यका साथ कर्पोरेसनले हेटौँडामा रहेको नेपाल वनस्पति उद्योग लिमिटेडबाट तेल उत्पादन गर्ने भएको हो । कर्पोरेसनको ६०औँ वार्षिकोत्सवको अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा यसबारे जानकारी दिइएको हो ।
सेयरधनीसँग बाँकी रकम माग
त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको सेयरबापतको बाँकी रकम माग गरेको छ । रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ बी जलविद्युत् आयोजनाको प्रवद्र्धक सो कम्पनीले आगामी असोज ४ गतेदेखि बाँकी रकम सङ्कलन गर्ने भएको हो । रकम बुझाउने अन्तिम मिति आगामी १७ कात्तिक तोकिएको छ ।
नेपालको एक स्थान सुधार
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)को मानव विकास प्रतिवेदनमा नेपाल १४३औँ स्थानमा रहेको छ । अघिल्लो वर्ष नेपाल १४४औँ स्थानमा थियो । सोमबार आयोजित कार्यक्रममा यूएनडीपीले ‘अनिश्चित समय, अस्थिर जीवन ः परिवर्तित विश्वमा हाम्रो भविष्य’ शीर्षकमा तयार गरेको मानव विकास प्रतिवेदन, २०२१÷२२ सार्वजनिक गरेको हो । प्रतिवेदनमा विशेष गरी शिक्षा, स्वास्थ्य, औसत आयु, प्रतिव्यक्ति आयजस्ता विषयलाई केन्द्रमा राखिएको छ । नेपालको मानव विकास सूचकाङ्क ०.६०२ रहेको छ । १९१ मुलुकमध्ये पहिलो स्थानमा रहेको स्विजरल्यान्डको मानव विकास सूचकाङ्क ०.९६२ रहेको छ ।
बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गरिने
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले रोजगारका लागि नेपाली युवा विदेशिनुपर्ने बाध्यताको अन्त्य जरुरी भएको धारणा राख्नुभएको छ । रुपन्देहीको बुटवलमा आयोजित प्रधानमन्त्री रोजगार कार्यक्रमको वार्षिक समीक्षा तथा अभिमुखीकरण कार्यक्रममा मन्त्री कुँवरले यस्तो धारणा राख्नुभएको हो । स्वरोजगारी बढाउने र श्रमको सम्मान गर्ने राष्ट्रको अभियान भएकाले देशमै रोजगारी वृद्धि गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
दुर्गमका लागि झन्डै दुई लाख क्विन्टल चामल ढुवानी गरिँदै
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष एक लाख ८० हजार क्विन्टल चामल ढुवानी गर्ने भएको छ । खाद्य कम्पनीले २४ दुर्गम जिल्लामा सुपथ मूल्यमा चामल उपलब्ध गराउन सो चामल ढुवानी गर्न लागेको हो । चामल ढुवानीका लागि ४७ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । सरकारले प्रत्येक वर्ष बजेटमा दुर्गम जिल्लामा खाद्यान्न ढुवानी गर्न रकम छुट्याउने गरेको छ । सरकारले दुर्गम जिल्लामा खाद्यान्न ढुवानीमा अनुदान दिने गर्छ । कम्पनीले स्थल र हवाई मार्गबाट ती जिल्लामा खाद्यान्न ढुवानी गर्छ । कम्पनीका बिक्री प्रमुख भीम थापाले विभिन्न जिल्लामा सडक र हवाई मार्गबाट चामल पठाउने काम भइरहेको जानकारी दिनुभयो । जिल्लाको मागका आधारमा थप परिणाममा चामल ढुवानी गरिने उहाँले जानकारी दिनुभयो ।
साल्ट ट्रेडिङ कर्पोरेशनले अपेक्षित रुपमा नाफा गर्न सकेन : सहसचिव रेग्मी
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवम् प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले पछिल्लो समय साल्ट ट्रेडिङ कर्पोरेशनले अपेक्षित रुपमा नाफा गर्न नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।