• १३ साउन २०८१, आइतबार

छाङरुमा फोरजी सेवा शुरू

blog

लोकेन्द्र जोशी

दार्चुला, भदौ ३१ गते । दार्चुलाको व्यास गाउँपालिका–१, छाङरुमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ । त्रिदेशीय (नेपाल, भारत र चीन) सिमाना पर्ने दार्चुलाको व्यास गाउँपालिकाको छाङरुमा हेलिकोप्टरबाट उपकरण ढुवानी गरी जडान गरेर बुधबारदेखि सेवा सञ्चालनमा ल्याएको हो । यससँगै नेपाल टेलिकमको फोरजी सेवा पश्चिम नेपालको अन्तिम सिमानासम्म पुगेको छ । नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङका अनुसार टावर निर्माणका सामग्रीसहित उपकरण हेलिकोप्टरबाट ढुवानी गरेर कालापानीभन्दा झन्डै १३ किलोमिटर तल रहेको छाङरुमा बुधबारदेखि फोरजी सेवा सञ्चालनमा ल्याइएको हो । 

भदौ पहिलो साता हेलिकोप्टर प्रयोग गरिएको थियो । टावरका साथै टावरमा प्रयोग गरिने सौर्य ब्याट्री, पाता र डिभाइसलगायतका सामान र उपकरण हेलिकोप्टरबाट ढुवानी गरिएको थियो । 

छाङरुमा टावर सञ्चालनमा ल्याउन व्यास गाउँपालिका–४, कैचुलामा रहेको टावरलाई ब्रह्मलेकमा सारिएको छ । ब्रह्मलेकबाट छाङरु देखिने भएकाले डिभाइस जडानका लागि ब्रह्मलेकमा रिपिटर स्टेसन राखिएको हो । 

छाङरुको ज्याक्तीडाँडामा टेलिकमको नयाँ रिपिटर स्टेसन राखेर छाङरु गाउँमा रहेको नमस्ते फोन सेवाको फोरजी सञ्चालनमा ल्याइएको टेलिकम दार्चुलाका प्रमुख गुरुङले बताउनुभयो । व्यास गाउँपालिका–५, धौलाकोटमा टेलिकमको नयाँ टावर स्थापनाका लागि सर्भे गरिएको छ । 

धौलाकोट क्षेत्रमा राप्ला र पीपलचौरी दुवै क्षेत्रको टावरले काम नगर्ने भएकाले त्यहाँ नयाँ टावर स्थापना गरिने उहाँले बताउनुभयो । 

अब छाङरुको वरिपरि रहेका लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रका गुन्जी, नाभी र कुटी तथा टिङ्करलगायतका क्षेत्र र सिमानासम्म फोरजीको पहुँच पुगेको छ । भारतका सीमावर्ती गाउँसम्म पनि सेवा पुग्ने नेपाल टेलिकम दार्चुलाले जनाएको छ । टेलिकमको टावर सञ्चालनमा आएसँंगै अधिकांश समय सञ्चारविहीन हुने दार्चुलाको उत्तरी भेगमा पर्ने व्यास क्षेत्र सञ्चार सम्पर्कमा जोडिएको छाङरुका स्थानीय योगेश बोहराले बताउनुभयो । 

अहिलेसम्म व्यासमा नेपाल टेलिकमको स्काई फोन सेवा मात्रै सञ्चालनमा हुन्छ । मौसमी प्रतिकूलता, भौगोलिक विकटतासंँगै विभिन्न प्राविधिक कारणले बेलाबेला सञ्चार सेवा अवरुद्ध भएर व्यासवासी सञ्चार सम्पर्कबाट वञ्चित हुँदै आएका थिए । छाङरुमा १२० जति घरधुरी र सात सयजति जनसङ्ख्या तथा अन्य क्षेत्रका गरी करिब चार हजार जनसङ्ख्या यसबाट प्रत्यक्ष लाभान्वित हुने नेपाल टेलिकमले जनाएको छ । यो स्थानमा सशस्त्र प्रहरीको बेसक्याम्प तथा नेपाल सरकारका अन्य विभिन्न कार्यालयसमेत रहेका छन् ।