नागरिकता विधेयकमा संविधानको पालना हुन सकेन : ऊर्जामन्त्री भुसाल
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले 'सेरेमोनियल’ राष्ट्रपतिले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दुई पटक पारित भएर गएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान विपरीत काम गरेकोे बताउनुभएको छ।
‘देशको आर्थिक समृद्धिका लागि पूर्वाधार क्षेत्रको महत्त्वपूर्ण भूमिका’
मुलुकको आर्थिक समृद्धिका लागि पूर्वाधार क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताइएको छ ।नेपाल निर्माण व्यवसायी महासङ्घले नेपाल प्रेस काउन्सिलसँगको सहकार्यमा शुक्रबार आयोजना गरेको ‘पूर्वाधार विटका सञ्चारकर्मीलाई अभिमुखीकरण कार्यक्रममा अधिकांश वक्ताहरूले पूर्वाधार क्षेत्र मुलुकको आर्थिक क्षेत्रको मेरुदण्ड भएको बताएका हुन् ।
अपाङ्गता भएका व्यक्तिलक्षित रोजगार मेला
अपाङ्गता भएका व्यक्तिको रोजगारी सुनिश्चितताका लागि विराटनगरमा दुईदिने रोजगार मेला आयोजना गरिने भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, प्रदेश १ सहित निजी क्षेत्रका सङ्घसंस्थाको सहकार्यमा आगामी कात्तिक १८ र १९ गते मेला आयोजना गरिने भएको हो । सो मेलामा प्रदेश १ का आठ जिल्लाबाट तीन सय लाभग्राही र एक सय रोजगारदातालाई एकै थलोमा राखिने भएको छ । झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, धनकुटा, सङ्खुवासभा र भोजपुर सहभागिता रहने भएको छ ।
श्रीमान् वा श्रीमतीलाई पनि उपचार सुविधा
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत योगदानकर्ताका श्रीमान्–श्रीमतीले पनि उपचार सुविधा पाउने भएका छन्। सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ (तेस्रो संशोधन)ले यस प्रकारको व्यवस्था गरेको हो। संशोधित कार्यविधि स्वीकृत भएको कोषले जनाएको छ। कोषका अनुसार कार्यविधि संशोधन भएको मितिले ९१औँ दिन अर्थात् तीन महिनापछि सुरु हुने व्यवस्था छ। अर्थात् अब आउँदो पुस महिनादेखि योगदानकर्ताका श्रीमान् वा श्रीमतीले पनि कोषमार्फत औषधि उपचार सेवा पाउनेछन्।
रामेछापको पहिचान बनाउँदै जुनारको जुस
रामेछाप सदरमुकाम मन्थलीका व्यवसायी दुर्गाकुमारी श्रेष्ठले मासिक एक लाख रुपियाँभन्दा बढीको जुनारको जुस (स्क्वास) बेच्नुहुन्छ। बाहिरबाट रामेछाप आएका र रामेछापबाट काठमाडौँलगायतका ठाउँमा जाँदा जुनारको जुस कोसली लैजान्छन्, पसलमा जुनारको जुस राम्रै बिक्री हुन्छ, मन्थली बजारको देवकोटा चोकमा पसल राख्नुभएका श्रेष्ठले भन्नुभयो। आफ्नो पसलबाट मासिक एक लाख रुपियाँभन्दा बढीको जुनारको जुस बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो। श्रेष्ठले जस्तै मन्थलीस्थित देवकोटा चोकमै सञ्चालित रामेछाप डेरीले मासिक ८० हजार रुपियाँभन्दा बढीको जुनारको जुस बिक्री गरिरहेको छ। पसलबाट पनि कोसेलीका रूपमा जुनारको जुस बिक्री हुने गरेको रामेछाप डेरीका सञ्चालक किशोर पौडेलले बताउनुभयो।
बीमाको पहुँच बढाउन आग्रह
अर्थमन्त्री जनार्दन शर्माले सुदूरपश्चिम प्रदेशमा बीमाको पहुँच अभिवृद्धि गरिनुपर्ने खाँचो आँैल्याउनुभएको छ । बीमा समितिको सुदूरपश्चिम प्रदेश कार्यालयको शुक्रबार धनगढीमा शुभारम्भ गर्नुहुँदै उहाँले बीमा दाबी, भुक्तानीका कुरामा धेरै गुनासा तथा असन्तुष्टि रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले नेपालभर समग्रमा बीमाको पहुँच ४१.२ प्रतिशत छ । सुदूरपश्चिम प्रदेशमा १९.१७ प्रतिशत मात्रै छ, यसलाई वृद्धि गरिनुपर्छ ।” देशभरि विभिन्न बीमा कम्पनीका तीन हजार ३६६ शाखा सञ्चालन छन् भने सुदूरपश्चिममा ३२७ मात्रै रहेको उहाँले बताउनुभयो । अहिले बीमा संस्थानले दिएको प्रत्यक्ष बीमा सन्दर्भमा रोजगारी १२ हजार ३१ को सङ्ख्यामा रहेको तर सुदूरपश्चिम प्रदेशमा ६८७ मात्रै छ । यसबाट के देखाउँछ भने सुदूरपश्चिम प्रदेश बीमाको पहुँचबाट टाढा छ, मन्त्री शर्माले भन्नुभयो ।
प्रभावकारितामा आशङ्का
वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिका लागि पुनः एकीकरण गर्नेगरी सरकारले ल्याएको कार्यक्रमको कार्यान्वयनमा आशङ्का व्यक्त गरिएको छ । वैदेशिक रोजगारबाट फर्केकालाई पुनः एकीकरण गर्ने कार्यक्रमले आर्थिकबाहेकका पक्षमा ध्यान नदिएकाले यसको प्रभावकारितामा आशङ्का गरिएको हो । मानव अधिकारका लागि जनमञ्च पिपुल फोरमले बिहीबार राजधानीमा आयोजना गरेको ‘वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिका लागि पुनः एकीकरण कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७९ कार्यान्वयन’ विषयक छलफलमा सहभागीले सो कुरा बताएका हुन् ।
किसानलाई बङ्गुर बेच्नै गाह्रो
बङ्गुरपालन गर्ने किसानले राष्ट्रिय किसान आयोगको अन्तक्र्रिया कार्यक्रममा आक्रोश पोखेका छन् । राष्ट्रिय किसान आयोगले बिहीबार मोरङको उर्लाबारीमा बङ्गुरपालक किसानका समस्या र तिनको समाधान उपाय खोजी गर्न अन्तक्र्रिया आयोजना गरेको थियो । पछिल्लो समय बङ्गुरमा देखिएको अफ्रिकन फिवर नेपालमा नभित्रिँदै हल्लाका कारण बङ्गुर व्यवसाय चौपट भएको किसानको गुनासो थियो । उर्लाबारी–९, भोटेपुलका किसान रमण बस्नेतले बङ्गुरपालकलाई बजारको समस्या रहेको बताउनुभयो ।
आत्मनिर्भरताका लागि कार्यक्रम तयारी
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रम’ कार्यान्वयनको तयारीमा जुटेको छ । यो कार्यक्रमको कार्यान्वयन दशैँअघि नै सुरु हुने मन्त्रालयले जनाएका छ । यो कार्यक्रम कार्यान्वयनका लागि चालू आर्थिक वर्षमा १० अर्ब रुपियाँ छुट्याइएको छ । यो कार्यक्रम कार्यान्वयन स्थानीय तहमार्फत गर्ने गृहकार्यमा कृषि मन्त्रालय लागेको छ । कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. प्रकाश सञ्जेलले स्थानीय तहमार्फत कार्यान्वयन गर्ने निर्णय भएअनुसार विभिन्न कार्यक्रम तथा मापदण्डको प्रस्ताव अर्थ मन्त्रालयमा पेस गरिएको जानकारी दिनुभयो ।
पाटन विमानस्थल छ महिनादेखि बन्द
दुई वर्षअघि ११ करोड रुपियाँ खर्च गरेर कालोपत्रे गरिएको बैतडीको पाटन विमानस्थलमा छ महिनादेखि उडान हुन सकेको छैन । २०७७ असोज १७ गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यो विमानस्थलको उद्घाटन गर्दै बैतडीबाट नियमित हवाई सेवा सञ्चालन हुने आश्वासन दिनुभएको थियो । विमानस्थल कालोपत्रे भएपछि हप्तामा एक पटक धनगढी–बैतडी उडान हुँदै आएको थियो तर छ महिनादेखि उडान ठप्प भएको हो । करिब १७ मिनेटको बैतडी–धनगढी उडानको चार हजार पाँच सय रुपियाँ भाडा लिएर प्रत्येक हप्ताको बिहीबार समिट एयरले उडान भर्दै आएकामा २०७८ चैत १० गते यहाँ अन्तिम पटक उडान भएको थियो । त्यसयता उडान भएको छैन ।
लप्सीफेदी सबस्टेसनको अवरोध हटाउन पहल
काठमाडौँको शङ्खरापुर नगरपालिका–३, लप्सीफेदीमा विगत दुई वर्षदेखि जारी सबस्टेसन निर्माणको अवरोध हटाउन पहल भएको छ । अवरोधका कारण तामाकोसी–काठमाडौँ ४०० केभी प्रसारण लाइनको पाँचवटा टावर पनि निर्माण हुन सकिरहेको छैन । सबस्टेसन बनाउन १७० रोपनी जग्गाको मुआब्जा र क्षतिपूर्ति रकम वितरण भएपछि पनि सो स्थानबाट सबस्टेसन हटाउनुपर्ने भन्दै स्थानीयवासीले अवरोध गर्दै आएका छन् । २०७४ माघमा ७० घरपरिवारमध्ये एउटा कित्ताका जग्गाधनीबाहेक अन्य सबैले मुआब्जा तथा क्षतिपूर्तिको रकम बुझिसकेका छन् । मानव बस्तीमा सबस्टेसन निर्माण गर्न नहुने र यसलाई अरू नै ठाउँमा सार्नुपर्ने माग स्थानीयवासीको छ ।
लक्ष्यभन्दा बढी राजस्व
लक्ष्यभन्दा बढी राजस्व काठमाडौँ महानगरपालिकाले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आव २०७८/७९ मा नौ अर्ब ८७ करोड १३ लाख रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा १० अर्ब ६० करोड ४८ लाख ३७ हजार ८६० रुपियाँ राजस्व सङ्कलन भएको महानगरले जनाएको छ । यो लक्ष्यको ११६ प्रतिशत हो ।
किसान जुटे अवैध आयात रोक्न
स्वदेशमै आत्मरिर्भर हुँदै गरेको माछा, दूध, कुखुराको मासुलगायतको आयात रोक्न किसान सक्रिय भएका छन् । लामो समयदेखि कुखुराको अवैध आयात नियन्त्रणमा जुटेका यहाँका किसान माछाको आयात रोक्न पनि सक्रिय भएका छन् । सरकारले दूध आयात खुला गरेकोप्रति असन्तुष्ट बनेका किसानले आयातित दूध नियन्त्रणमा लिएर नष्ट गर्ने चेतावनी दिएका छन् ।
जाइकाले सोह्र अर्ब दिने
काठमाडौँ र पोखराको विद्युत् वितरण तथा प्रसारण पूर्वाधार निर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १४ अर्ब २० करोड रुपियाँ बराबरको सहुलियतपूर्ण ऋण दिने भएको छ । यसैगरी जाइकाले पूर्वी नेपालको चन्द्रनहर पुनस्र्थापना गर्न दुई अर्ब रुपियाँ अनुदानसमेत उपलब्ध गराउने भएको छ ।
आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने प्रक्षेपण
एसियाली विकास बैङ्क (एडीबी)ले सन् २०२२ मा ५.८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने संशोधित अनुमान गरेको छ । यसअघि एडीबीले यस वर्षका लागि ३.९ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । सन् २०२३ का लागि एडीबीले आर्थिक वृद्धिदर घटाएको छ । यसअघि नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत रहने अनुमान गरेको एडीबीले एसियन डेभलपमेन्ट आउटलुक, २०२२ को अद्यावधिक प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशत (बजार मूल्य) पुग्ने प्रक्षेपण गरेको हो । एडीबीले विदेशी विनिमय सञ्चितिमा आएको गिरावट, मुद्रास्फीति, आयात प्रतिबन्धजस्ता कारणले सन् २०२३ मा नेपालको वृद्धिदर केही घट्ने प्रक्षेपण गरेको जनाएको छ ।
सहज छैन सिटामोल
सिटामोल अझै सहज हुन सकेको छैन । एक महिनादेखि बढेको डेङ्गु सङ्क्रमणसँगै उपत्यकालगायतका बजारमा माग उच्च बढेकाले सिटामोलको अभाव भएको हो । औषधि व्यवस्था विभागले भने सिटामोलको पर्याप्त आपूर्ति हुन नसकेको स्वीकार गरे पनि बाहिर हल्ला भएजस्तो समस्या नरहेको जनाएको छ ।
नेपाललाई जापानद्वारा करिब रु १६ अर्ब सहयोग
नेपालको पूर्वी तराईस्थित चन्द्र नहर सिँचाइ प्रणालीको पुनः स्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारले करिब रु दुई अर्ब अनुदान सहयोग प्रदान गरेको छ ।
भारतबाट दूध आयात गर्न कृषि मन्त्रालयले दियो अनुमति
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट कच्चा दूध ल्याउन डेरी उद्योगीहरूलाई अनुमति दिएको छ । चाडपर्वको समय दूधको अभाव भयो भन्दै डेरी उद्योग सङ्घले कृषि मन्त्रालयसँग दूध आयातको अनुमति मागेको थियो । त्यहीअनुसार कृषि मन्त्रालयले गत आइतबार सो अनुमति दिएको हो । असोज मसान्तसम्मका लागि सो अनुमति दिइएको डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहालले बताउनुभयो । प्रतिदिन एक लाख २० हजार लिटर दूध आयात गर्न अनुमति दिएको छ । त्यसमध्ये सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्था (डीडीसी) लाई ४० हजार र निजी क्षेत्रका डेरीलाई ८० हजार लिटर दैनिक रूपमा ल्याउन दिने अनुमति दिएको छ ।
बढ्यो विद्युत् निर्यात
इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा विद्युत् निर्यात सुरु गरेको नेपाल विद्युत् प्राधिकरणले निर्यातको परिमाण र रकम दुवै क्रमिक रूपले बढाउँदै गएको छ । यो वर्ष जेठमा ८९ करोड रुपियाँको विद्युत् निर्यात गरेको प्राधिकरणले भदौमा मात्रै २ अर्ब ४१ करोड ६८ लाख रुपियाँको विद्युत् निर्यात गरेको छ ।
विज्ञसहित बजार अनुगमन
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा गएको आइतबारदेखि काठमाडौँ उपत्यकामा दशैँलाई लक्षित गरेर विषय विज्ञसहितको टोलीले बजार अनुगमन गरिरहेको छ । विभागको नेतृत्वको छुट्टाछुट्टै विज्ञसहितको नौवटा टोलीले दशैँ लक्षित बजार अनुगमन गरेको जनाइएको छ । विभागका निर्देशक होमनाथ भट्टराईले चाडपर्वमा बढी माग र खपत हुने वस्तु र सेवामा लक्षित गरी विषय विज्ञसहितको अनुगमन सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार बजारमा खाद्यवस्तुको कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्ने, नापतौलमा ठगी गर्नेजस्ता समस्या नहुन भनेर सरकारले अनुगमनलाई प्राथमिकतामा राखेको छ ।
बजेट अभावले पेट्रोल भण्डारणगृह निर्माण ढिलाइ
मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनाको दोस्रो चरणको काम बजेट अभावका कारण अगाडि बढ्न सकेको छैन । पाइपलाइनबाट पेट्रोल ल्याउन बाराको अमलेखगञ्जमा पेट्रोल भण्डारणगृह निर्माणको प्रक्रिया अगाडि बढ्न नसकेको हो ।
घट्यो सुपथ पसलमा मूल्य
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ मूल्य पसलमा बजारभन्दा महँगो भनिएको खानेतेल, दाल, मैदालगायतका वस्तुको मूल्य मङ्गलबारदेखि घटाएको छ । सरकारबाट अनुदान लिएर सञ्चालन गरेका पसलमा केही वस्तुको मूल्य बजारमाभन्दा महँगो भएको समाचार गोरखापत्रले प्रकाशित गरेको थियो । कम्पनीका अनुसार सनफ्लावर तेल प्रतिलिटर २९५ बाट १० रुपियाँ घटाएर २८५ रुपियाँ बनाएको छ । जबकि बजारमा उक्त तेलको मूल्य २९० रुपियाँमा कारोबार भएको छ ।
डबल धमाका मुद्दती खाता
नेपाल बैङ्कले डबल धमाका मुद्दती खाता सञ्चालन गरेको छ । डबल धमाका मुद्दती खातामा जम्मा गरेको रकम पाँच वर्ष नौ महिना २९ दिनमा दोब्बर हुने बैङ्कले जनाएको छ । यसमा न्यूनतम २५ हजार रुपियाँभन्दा माथिको रकम जम्मा गर्न सकिन्छ । यो योजनामा बैङ्कले पाँच लाख रुपियाँसम्मको क्रेडिट कार्ड सुविधा पनि उपलब्ध गराएको छ ।
सम्पत्ति करबापत ५० करोड उठ्न बाँकी
स्थानीय तहको आन्तरिक आयको महत्त्वपूर्ण स्रोत सम्पत्ति कर भए पनि आफ्नो क्षेत्रभित्र कति सम्पत्ति कर उठ्न सक्छ भन्ने अनुमान गर्न नगरपालिका र गाउँपालिकाले सकिरहेका छैनन् । सबैभन्दा बढी सम्पत्ति कर उठाउन सक्ने र सुविधासम्पन्न भएर पनि काठमाडौँ महानगरपालिकाले पनि यसको आकलन गर्न सकेको छैन । काठमाडौँ महानगरपालिकाले सम्पत्ति करबापतको ५० करोड रुपियाँ उठ्न बाँकी रहेको अनुमान गरेको छ तर कुन संस्था वा व्यक्तिले कति सम्पत्ति कर तिर्न बाँकी छ भन्ने कुरामा भने महानगर अनभिज्ञ नै देखिएको छ ।