• ३ असार २०८१, सोमबार

किसान जुटे अवैध आयात रोक्न

blog

सोमबार राति किसानले नियन्त्रणमा लिएको भारतीय माछा नष्ट गरिँदै ।

वसन्त पराजुली 

भरतपुर, असोज ६ गते । स्वदेशमै आत्मरिर्भर हुँदै गरेको माछा, दूध, कुखुराको मासुलगायतको आयात रोक्न किसान सक्रिय भएका छन् । लामो समयदेखि कुखुराको अवैध आयात नियन्त्रणमा जुटेका यहाँका किसान माछाको आयात रोक्न पनि सक्रिय भएका छन् । सरकारले दूध आयात खुला गरेकोप्रति असन्तुष्ट बनेका किसानले आयातित दूध नियन्त्रणमा लिएर नष्ट गर्ने चेतावनी दिएका छन् । 

पाँच हजार क्विन्टल माछा नष्ट

पछिल्लो तीन दिनमा मात्रै चितवनको रामनगर, सिन्धुली र रातोमाटेबाट किसानले नियन्त्रणमा लिएको झन्डै पाँच हजार क्विटल भारतीय माछा नष्ट गरिएको छ । 

माछा उत्पादक सङ्घ, चितवनका अध्यक्ष खगेन्द्र सुवेदीका अनुसार स्वास्थ्यका लागि हानिकारक रासायनिक पदार्थ प्रयोग गरिएका माछा अवैध रूपमा भिœयाइएकाले नियन्त्रणमा लिई नष्ट गरिएको हो । 

“पछिल्लो तीन दिनमा चितवनको रामनगरबाट दुई हजार ६२० केजी, सिन्धुलीबाट दुई हजार एक सय केजी र रातोमाटेबाट दुई सय केजी माछा नियन्त्रणमा लिई नष्ट गरिएको छ,” अध्यक्ष सुवेदीले भन्नुभयो । स्थानीय प्रहरीसहितको टोली अहिले यी तीनै ठाउँमा निरन्तर अनुगमनमा छन् । भारतबाट ल्याइएका माछामा सोडियम डाइअक्साइड, नाइट्राइड, फर्मालिनजस्ता मानवीय स्वास्थ्यका लागि हानिकारक रासायनिक पदार्थ राखेर ल्याइने गरेको सुवेदी बताउनुभयो । यस्ता औषधिमा राखेका माछा एक/डेढ महिनासम्म पनि कुहिँदैनन् । 

“सीमाबाट लुकाइछिपाई नेपाल भित्र्याएर नेपाली किसानकै नक्कली सिफारिस बनाएर बजार पु¥याउने क्रम बढेको छ । बजारमा नेपाली उत्पादनभन्दा सस्तोमा भारतीय माछा पाइने भएकाले पनि व्यवसायी यसतर्फ आर्कषित देखिन्छन्,” उहाँले भन्नुभयो ।

कुखुरापालक नै मारमा

कुखुराको अवस्था पनि उस्तै छ । कुखुराको मासु उत्पादनमा नेपाल आत्मनिर्भर बन्दै गए पनि भारतीय कुखुराको मासु भित्रिन भने रोकिएको छैन । भारतबाट कुखुरा र यसको मासु आयात नरोकिँदा  कुखुराको व्यवसायसमेत प्रभाव पर्न थालेकोे बताइन्छ । नेपाल कुखुरा व्यवसायी मञ्चका पूर्वअध्यक्ष शङ्कर कँडेलले भारतीय कुखुराको मासुले नेपाली कुखुराको मासुको व्यवसायमा प्रभाव पारेको गुनासो गर्नुभयो । 

कँडेलले भन्नुभयो, “कुखुराको मासु काटेर होस् वा जिउँदै कुखुरा अवैध रूपमा आयात गर्ने क्रम पछिल्लो समय बढेर गएको छ । खुला सिमानाका कारण यस्तो अवस्था आएको हो ।” नेपालमा स्थलमार्गबाट छिमेकी देशबाट कुखुरा र यसको मासु आयातमा प्रतिबन्ध छ तर पनि अहिले खुला रूपमा मासु आयात भइरहँदा पनि यसको नियन्त्रणमा ठोस कदम नचालिएपछि किसान आफैँ निगरानीमा उत्रिएका कँडेलले बताउनुभयो । 

विभिन्न ठाउँमा मासु नियन्त्रण लिने र नष्ट गर्ने काम जारी रहे पनि समस्याको दीर्घकालीन समाधान ननिस्कने नेपाल कुखुरा व्यवसायी मञ्चका प्रबन्ध निर्देशक शिवप्रसाद बरालले बताउनुभयो । 

निकै ठूलो छ अवैध आयात 

माछा, मासु र दूध कति आयात भइरहेको छ भन्ने तथ्याङ्क कतै भेटिँदैन । अहिले दैनिक पाँच लाख केजी कुखुराको मासु खपत हुने र योमध्ये २५ प्रतिशत कुखुराको मासु भारतीय रहेको कँडेलको दाबी छ । नेपालमा खपत हुने मासुमध्ये ७५ प्रतिशत बजार काठमाडौँ हो । नेपाल माछा व्यवसायी महासङ्घका अध्यक्ष अम्बिका अधिकारीले चोरीबाटोबाट दैनिक ३० देखि ३५ टन माछा आयात भइरहेको बताउनुभयो ।

“भन्सारको तथ्याङ्क हेर्ने हो भने दैनिक एक टन माछा पनि आयात भएको देखिँदैन तर पनि अहिले बजार अनुगमन गर्दा दैनिक ३०–३५ टन माछा आयात भइरहेको देखिन्छ,” अधिकारीले गोरखापत्रसँग भन्नुभयो ।  

आयातित दूध नष्ट गर्ने चेतावनी

सरकारले दूध आयातमा लगाइएको प्रतिबन्ध खुला गरेसँगै असन्तुष्ट भएका पशुपालक किसानले पनि आयातित दूध नष्ट गर्ने चेतावनी दिएका छन् । दुग्ध उत्पादक किसानलाई निरुत्साहित बनाउने गरी विदेशी दूध आयात खुलाइएको भन्दै उनीहरूले सरकारी कदमको विरोधसमेत गरेका छन् । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले डेरी उद्योगलाई दूध आयात गर्न दिने निर्णय गरेपछि किसानले विरोध गरेका हुन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले भरतपुरमा पत्रकार सम्मेलन नै गरेर मन्त्रालयले गरेको निर्णय फिर्ता लिनुपर्ने मागसमेत गरेको छ । “स्वदेशी किसानलाई विस्थापन गर्नेगरी दूध आयात खुलाइएको हो,” चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष रत्नमणि न्यौपानेको आरोप छ ।