• १३ साउन २०८१, आइतबार

पर्यटकको रोजाइमा ‘याक चिज’

blog

राधा लुइँटेल

फिदिम, भदौ ३० गते । चौँरीपालनका लागि उपयुक्त स्थान मानिएको पाँचथरको फालेलुङ गाउँपालिकाकामा चौँरीको दूधबाट चिज बनाउन थालिएको हो । 

स्थानीय किसानकै अगुवाइमा फालेलुङका तीन स्थानमा चिज बनाउन थालिएको हो । फालेलुङमा वर्षौंदेखि चौँरी पालिँदै आए पनि यहाँ उत्पादन भएको चौँरीको दूधबाट घिउ र छुर्पी मात्रै बनाइन्थ्यो । पछिल्लो पटक फालेलुङ–४ को फालौटका सात, चाररातेका सात र घले भन्ज्याङका पाँच गरी १९ जना किसानले १८ लाख रुपियाँको लागतमा तीनवटा डेरी उद्योग सञ्चालन गरेर ‘याक चिज’ उत्पादन गर्न थालेको स्थानीय अगुवा किसान जङ्ग राईले जानकारी दिनुभयो । ती डेरी उद्योगले असार अन्तिम सातादेखि चिज उत्पादन गर्न थालेका हुन् । विदेशी पर्यटकले रुचाउने भएकाले सोलुखुम्बु, काठमाडौँ र पोखराका होटल सञ्चालकले यहाँ उत्पादन भएको याक चिज किनेर लैजाने गरेका छन् । 

गाईको दूधबाट बनेको चिजभन्दा स्वादिलो हुने भएकाले चौँरीको चिजको मूल्य पनि धेरै छ । रैथाने गाईको दूधबाट बनाइएको ‘कञ्चन चिज’को भाउ अहिले प्रतिकिलो नौ सय रुपियाँ छ भने ‘याक चिज’का लागि व्यवसायीले एक हजार चार सय रुपियाँसम्म तिर्ने गरेकोे सिदिन डेरीका सञ्चालक गोपाल रिजालले बताउनुभयो । 

उच्च पहाडी र हिमाली भेगमा मात्रै पालिने चौँरीगाईले औषधिजन्य घाँस र जडीबुटी धेरै खाने गरेकाले यसको दूध औषधिजन्य र बढी पोसिलो मानिन्छ । 

“फालेलुङमा अहिले चौँरीको दूध दैनिक तीन सय लिटर सङ्कलन हुन्छ । यसबाट चिज उत्पादन भइरहेको छ । यत्तिका दूधबाट दैनिक छ किलो घिउ र ३० किलोसम्म चिज निस्कन्छ,” चौँरीपालक किसान सञ्जालका केन्द्रीय सचिव चन्द्रलाल नेपालले भन्नुभयो । फालेलुङमा सुरु भएको चौँरीको दूधबाट चिज बनाउने अभियान निजी क्षेत्रबाट देशमै पहिलो रहेको उहाँको दाबी छ ।