• १३ साउन २०८१, आइतबार

मोतीपुर औद्योगिक क्षेत्र विवाद ड्रोनबाट जग्गा नापजाँच

blog

लुम्बिनी समाचारदाता

लुम्बिनी, भदौ २९ गते । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गाको नापजाँच गर्ने काम मङ्गलबारदेखि सुरु भएको छ । औद्योगिक क्षेत्रको जग्गा यकिन गर्ने र कसैलाई पनि विस्थापित नगर्ने गरी हालै मात्र गृहमन्त्री बालकृष्ण खाणको पहलमा कार्यदल बनेको थियो । 

सो कार्यदलले विभिन्न चरणका छलफलपछि जग्गा नापचाँजको काम सुरु गरेको कार्यदलका संयोजक एवं जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक उमाकान्त चापागाईंले जानकारी दिनुुभयो । बुटवल–१७ रानीगञ्जस्थित जनशक्ति प्राथमिक विद्यालय नजिकैबाट नापजाँचको काम सुरु भएको हो । कार्यदलले प्रतिवेदन पेस गरेपछि बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, शुद्धोधन गाउँपालिका र सियारी गाउँपालिकाले कार्यदलबाट प्रतिवेदन प्राप्त भएपछि कार्यपालिकाबाट निर्णय गरी सिफारिस गर्ने उहाँले बताउनुभयो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले औद्योगिक क्षेत्र बनाउन योग्य जग्गा र अन्य जग्गा छुट्याएर औद्योगिक क्षेत्रका लागि सिफारिस गर्ने र सोही क्षेत्रमा औद्योगिक क्षेत्र बन्ने बताउनुभयो । 

उहाँले भन्नुभयो– “अब ड्रोनबाट गरिने नापजाँचपछि यो क्षेत्रमा कति जग्गा छ र कति जग्गामा औद्योगिक क्षेत्र निर्माण गर्न सकिन्छ भन्ने कुरा यकिन हुनेछ, त्यसपछि औद्योगिक क्षेत्रमा पर्ने जग्गा बुटवलसहितका पालिकाहरूले कार्यपालिका बैठकबाट निर्णय गरेर सङ्घीय सरकारलाई पठाइनेछ ।” हाल औद्योगिक क्षेत्रको जग्गा ८१३ बिघा भन्ने लालपुर्जा आए पनि कहाँदेखि कहाँसम्मको जग्गा हो भन्ने यकिन नभएकाले विवाद रहेको छ । 

पाँच वर्षभित्र निर्माण पूरा गर्ने गरी २०७२ चैत १ मा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरिएको भए पनि स्थानीयवासीको अवरोध र जग्गाको क्षेत्र यकिन नहुँदा औद्योगिक क्षेत्र निर्माणको काम अलपत्र परेको थियो ।