• ९ चैत २०८२, सोमबार

निःशुल्क स्वास्थ्य शिविरबाट ४९५ सेवाग्राही लाभान्वित

blog

एक दिने निःशुल्क स्वास्थ्य शिविरमा उपचार गर्दै महिला । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, चैत ९ गते ।
भीरकोट नगर अस्पतालमा भएको एक दिने निःशुल्क स्वास्थ्य शिविरबाट ४९५  सेवाग्राही लाभान्वित भएका भएका छन् ।  

भीरकोट नगरपालिका र मनमोहन मेमोरियल मेडिकल एण्ड टिचिङ हस्पिटलको संयुक्त आयोजनामा  सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट ३४२  महिला र १५३  पुरूषले सेवा लिएको नगर अस्पतालका प्रमुख डा. राजिव झाले जानकारी दिनुभयो ।
वर्षा भएपनि स्वास्थ्य शिविरमा सेवाग्राहीहरूको उत्साहजनक उपस्थिति रहेको  थियो ।

शिविरमा स्त्री तथा प्रसूति, जनरल मेडिसिन र हाडजोर्नी तथा नशासम्बन्धी रोग, नाक ,कान घाँटी रोगको  निःशुल्क परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो ।

यहाँ अर्जुनचौपारी, भीरकोट र पुतलीबजारका नागरिकहरू लाभान्वित भएका थिए भने स्त्री तथा प्रसूति रोगका लागि डा. मनोर दिन सैयद, जनरल मेडिसिनतर्फ डा. इवराज सिम्खडा  र डा. सुस्मित श्रेष्ठ, हाडजोर्नी तथा नशासम्बन्धी रोगको उपचारका लागि डा. उज्जन शाक्यले बिरामीहरूलाई सेवा प्रदान गरेको मनमोहन मेमोरियल अस्पतालका डा. मनोर दिन सैयदले जानकारी दिनुभयो ।

यस्तै नाक, कान र घाँटीसम्बन्धी रोगको डा. कृष्ण कोइराला, मानसिक तथा स्नायुसम्बन्धी रोगको डा. राजन शर्मा,  हाडजोर्नी तथा नशासम्बन्धी रोगको डा. दिनेश कुमार विकले सेवा प्रदान गर्नुभएको थियो ।

नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले शिविरबाट स्थानीय नागरिकहरूलाई पोखरा काठमाडौँका विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउने अवसर प्राप्त भएको बताउनुभयो ।

ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरिएको  नगर प्रमुख  कर्माचार्यले बताउनुभयो । शिविरमा स्वास्थ्य सेवा लिन गएकि प्रतीक्षा अर्यालले ३० मिनेट भित्र नै विशेषज्ञ स्वास्थ्य सेवा र निःशुल्क औषधी पाएको बताउनुभयो ।