नेपालगन्ज, चैत ९ गते । २०३६ सालमा नेपालगन्जमा जन्मिएका राईको राजनीतिक यात्रा एउटा कठोर सङ्घर्ष, चतुर रणनीति र व्यक्तिगत लोकप्रियताको समिश्रणबाट अगाडि बढेको देखिन्छ । बाँके क्षेत्र नम्बर २ को चुनावी नतिजालाई नियाल्दा राई लुम्बिनी प्रदेशमा नेकपा (एमाले) को बिउ जोगाउने एक्लो सारथीसमेत बन्नुभयो ।
२०५३ सालमा राप्रपाको सामान्य कार्यकर्ताबाट राजनीति सुरु गरेका राईको वास्तविक परीक्षण २०६२/६३ को जनआन्दोलन र त्यसपछिको मधेश विद्रोहमा भयो । मधेशी जनअधिकार फोरमको झन्डा बोकेर बाँकेको सडकमा उत्रिँदा उहाँले कैयौँ पटक हिरासत र प्रहरीको लाठी भोग्नुभयो ।
२०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा प्राप्त जित उहाँको त्यही सडक सङ्घर्षको पुरस्कार थियो । बाँके क्षेत्र नम्बर २ यस्तो क्षेत्र हो, जहाँ मुस्लिम, हिन्दु र विभिन्न जातीय समुदायको सघन बसोबास छ । यहाँको राजनीतिमा प्रायः गरेर धार्मिक धु्रवीकरणले जहिले पनि जोखिम निम्त्याएको हुन्छ । यस पटकको निर्वाचनमा राईले मुस्लिम समुदायको मत मात्र पाउनुभएन, हिन्दु मतदाताका पनि मत तान्न सफल हुनुभयो ।
राजनीतिशास्त्रमा स्नातकोत्तरसम्म अध्ययन गरेका ४६ वर्षीय राईले बाँके जिल्लाको भौतिक पूर्वाधार निर्माण र नेपालगन्जको सहरी विकासमा विशेष योगदान पु¥याउनुभएको छ । दाना उद्योग र ब्याट्री रिक्साको थोक विक्रेतासमेत रहेका राई तेस्रो पटक संसद् यात्रा तय गर्नुभएको हो । राईले २४ हजार ६२८ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्दी रास्वपाका विवेककुमार श्रेष्ठले १८ हजार ६८२ मत ल्याउनुभएको थियो ।
चुनाव जितेको १५ दिन नबित्दै मालपोत कार्यालयमा ‘नागरिक सहायता कक्ष’ स्थापना गरेर उहाँले आफ्नो कार्यशैलीको झलक दिइसक्नुभएको छ । उहाँ भन्नुहुन्छ, “अब वडा वडामा सबै धर्म र जातिका युवालाई समेटेर सद्भाव समिति बनाउनेतर्फ मेरो ध्यान हुने छ ।”
त्यसै गरी ठुला आयोजना अन्तर्गत राप्ती तटबन्ध, आधुनिक क्रिकेट मैदान र भेरी अस्पतालको स्तरोन्नतिलाई पनि आफूले मुख्य प्राथमिकता दिएर काम गर्ने राई बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जनताले मेरो कामको मूल्याङ्कन गरेर तेस्रो पटक संसद्मा पठाउनुभएको हो । अब त्यो विश्वासलाई अझ बलियो बनाउने जिम्मेवारी मेरो हो ।”