नेपालगन्ज, भदौ ८ गते । बिरयानी, कबाफ र शोर्मालगायतका खानेकुरामा अखाद्य हानिकारक कोलटार रङ मिसाउने तथा फोहोर ठाउँमा मासु भण्डारण गर्ने नेपालगन्जका एक होटेल व्यवसायीलाई जिल्ला अदालत बाँकेले एक लाख रुपियाँ जरिबाना र छ महिना कैद सजाय सुनाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्ज बाँकेले नेपालगन्ज उपमहानगरपालिका–११ स्थित बिसमिल्ला होटेलका सञ्चालक मोहम्मद उमर साईविरुद्ध दायर गरेको मुद्दामा बाँके जिल्ला अदालतले होटेल सञ्चालकलाई दोषी ठहर गर्दै एक लाख रुपियाँ जरिबाना र छ महिना कैद सजायको निर्णय सुनाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्ज बाँकेका खाद्य निरीक्षक रामहरि लामिछानेले दायर गर्नुभएको सो मुद्दामा जिल्ला अदालत बाँकेका न्यायाधीश केशवराज चपाईको इजलासले फैसला सुनाउँदै प्रतिवादीलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ४२ (१) (ख) बमोजिम छ महिना कैद र एक लाख रुपियाँ जरिबाना हुने ठहरिएकाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३१ बमोजिम फैसला गरिएको अदालतले जनाएको छ ।
सो होटेलको स्थलगत अनुगमन निरीक्षण गर्दा बिरयानी पकाउने ठाउँ खुला रहेको, पकाउने भान्सा शौचालयसँग जोडिएको, अत्यधिक फोहोर रहेको, झिँगा भन्केको पाइएको, फ्रिजमा अत्यन्त फोहोर (दूषित) अवस्थामा मासु भण्डारण गरेको, प्लास्टिकका भाँडामा खानेकुरा (प्याज, राइता, ब्रेडक्रम, चिकेन) भण्डारण गरेको, बिरयानी र कबाफमा कोलटार रङको प्रयोग गरेको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ ।
सोही प्रकारले अनुगमनका क्रममा भण्डारण कक्ष अत्यन्त फोहोर पाइएको, खाने कुरा अव्यवस्थित गरिराखेको, कच्चा पदार्थ भण्डारण गर्ने स्थानमा नै फोहोर फाल्ने गरेको, खाद्य पदार्थवरिपरि थुक्नेलगायत स्वास्थ्यसँग खेलबाड गर्ने क्रियाकलाप र लापर्बाही गरेको पाइएको जनाउँदै सो कार्यालयले गत वर्ष २०८१ जेठ ५ गते बिसमिल्ला होटेलका सञ्चालक मोहम्मद उमर साईविरुद्ध जिल्ला अदालत बाँकेमा मुद्दा दायर गरेको थियो ।
सोही मुद्दामा न्यायाधीश चपाईको एकल इजलासले साईले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने काम गरेको ठहर गरी सो सजायको फैसला गरिएको छ । सो मुद्दासहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले अघिल्लो आर्थिक वर्षमा छ वटा मुद्दा अदालतमा दायर गरेको थियो ।